राप्रपामा हठ हारको बरबराहट : पराजय पचाउन कमल थापालाई सकस !

लोकसंवाद टिप्पणी

राप्रपामा हठ हारको बरबराहट : पराजय पचाउन कमल थापालाई सकस !

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २०, २०७८

पञ्चायतका हिमायती नेताहरुले खोलेको कुलीन वर्गीय पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्ता र स्वार्थका लागि पटक पटक विभाजित भयो । पछिल्लो समयमा तीन टुक्रामा रहेको राप्रपाको एकता महाधिवेशनले राजेन्द्र लिङ्देनलाई नयाँ अध्यक्षका रुपमा निर्वाचित गरेको छ । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले यही राप्रपाबाट पञ्चायतपछि पनि पटक पटक प्रधानमन्त्रीको कुर्सी हत्याए पनि त्यसपछिका नेताहरुले त्यो अवसर पाएनन् । एकतापछि अध्यक्ष बनेका पशुपति शमशेर राणा, कमल थापा र प्रकाशचन्द्र लोहनीले यही पार्टीबाट सत्तारोहण गरे । लामो राजनीतिक यात्रा तय गरेका कमल थापा अध्यक्षका प्रत्याशी थिए । तर राजेन्द्र लिङ्देनले थापालाई हराउँदै अध्यक्षमा बाजी मारे ।

हठको हार 

राजेन्द्र लिङ्देनले पार्टीमा पुस्तान्तरणको आवाज उठाउँदै आएका थिए । तर राप्रपाका भेट्रान्स नेताका अघि लिङ्देन निकै फुच्चे साबित हुने धेरैको अनुमान थियो । थापा स्वयम पनि आफू अध्यक्ष बन्नेमा ढुक्क थिए । त्यसैले उनले लिङ्देनले अध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहँदा एक पटक छलफल गर्ने प्रयास तथा आवश्यकता ठानेन् । बरु उनले भने, ‘युवाको कुरा गर्ने हो भने पहिले टुँडिखेलमा दौडन जाऊँ, यदि हारे भने अध्यक्षको दाबी छाड्छु ।’ उनले आफूलाई पार्टीको नेतृत्व गर्न युवा भएको बताइरहँदा लिङ्देनले ब्यालेटबक्सबाटै नयाँ पुस्ता नेतृत्वमा पुग्न सक्षम छन् र पार्टी पंक्तिको विश्वास प्रजातान्त्रिक तरिकाले जित्न सक्छन् भन्ने साबित गरेका छन् ।

मत परिणाम घोषणा लगत्तैदेखि थापा चर्को रुपमा सामाजिक सञ्जालबाट ‘काँचो व्यवहार’ सहित प्रस्तुत भएका छन् । लिङ्देनले जितपछि सम्बोधन गर्दै पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले जित हार नभएको भन्दै आफूलाई माला नलगाउन र विजयी जुलुस ननिकाल्न कार्यकर्ताहरूलाई आग्रह गरे । तर थापामा त्यो स्तरको परिपक्वता देखिएन ।

थापाको पराजयका धेरै कारणहरूको चर्चा भइरहेको छ । राजा ज्ञानेन्द्रको मन्त्रिपरिषद्को गृहमन्त्री भएर २०६२/६३ को जनआन्दोलन दमन गर्न थापाले प्रमुख भूमिका खेले । गणतन्त्र स्थापनापछि पनि उनी राजतन्त्रको एजेन्डा बोकेर निरन्तर हिँडिरहेका थिए । तर थापाले पार्टी अध्यक्षमा पराजित भएसँगै निर्मल निवासले सिधा हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाए । उनी हिमानी शाहको फेक ट्विटर अकाउन्टमा समेत हिमानीविरुद्ध खनिएका छन् । 

पार्टीलाई एक ढिक्का राख्ने कसम खाएको बताउँदै आएका थापा आफू पराजित भएपछि नयाँ कार्यसमितिको शपथ ग्रहणमा समेत सहभागी भएनन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा उत्रिएपछि उनले पराजित भए पनि नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहणमा सहभागी भएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने थियो । तर उनले त्यो राजनीतिक इमानदारिता देखाउन सकेनन् । यसले उनीभित्र रहेको पराजयको कुण्ठालाई प्रस्ट पार्छ । महाधिवेशनको मतदान सुरु भएपछि राप्रपा अध्यक्ष पशुपति शमशेरले गरेको काँचो नेतृत्वको पक्षमा नरहेको भन्ने चिर्कटोलाई ट्विट गर्दै लिङ्देनमाथि काँचो नेतृत्वको आरोप लगाएका थापा आफैँले काँचो व्यवहार देखाएका छन् । 

प्यानलका अधिकांशले जित्दा थापा पराजित

आइतबार बिहानै सार्वजनिक भएको मतगणनाको नतिजाअनुसार थापा प्यानलका अधिकांश विजयी भए । तर उनी आफैँ भने पराजित हुन पुगे । पदाधिकारीमा दुवै प्यानलमा रहेका विक्रम पाण्डे र लिङ्देन प्यानलमा रहेका महामन्त्री धवलशम्शेर राणा बाहेक सबै थापा प्यानलकै विजयी भए । मत परिणाम घोषणा लगत्तैदेखि थापा चर्को रुपमा सामाजिक सञ्जालबाट ‘काँचो व्यवहार’ सहित प्रस्तुत भएका छन् । लिङ्देनले जितपछि सम्बोधन गर्दै पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले जित हार नभएको भन्दै आफूलाई माला नलगाउन र विजयी जुलुस ननिकाल्न कार्यकर्ताहरूलाई आग्रह गरे । तर थापामा त्यो स्तरको परिपक्वता देखिएन ।

ट्विटरमार्फत अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाई दिने औपचारिकता निभाए पनि उनले सुरुकै दिनमा नयाँ कमिटीको शपथ ग्रहणमा समेत नगएर आफ्नो असहमति प्रकट गरेका छन् । उनले पार्टी कार्यकर्ताको निर्णयलाई सहज रुपमा लिएर अघि बढेको भए अर्को महाधिवेशनबाट अध्यक्ष बन्ने बाटो खुला नै थियो । तर उनी त्यसलाई मान्न तयार देखिएनन् । बरु उनले राजेन्द्र लिङ्देन पार्टी अध्यक्षमा विजयी हुँदा पूर्व राजा ज्ञानेन्द्र शाहलाई बधाई दिन भ्याएका छन् । 

 कमल थापाले ट्विटमा बरबराएका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला सिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

चुनावी प्रतिस्पर्धामा आफूले बहुमत पाउन नसके पनि त्यसलाई सहज रुपमा स्वीकार गर्नुपर्छ । तर थापामा त्यो राजनीतिक संस्कारको अभाव देखिएको छ ।