'एमाले र गैँडा समान छ, जाइलाग्नेलाई छाड्दैन'

'एमाले र गैँडा समान छ, जाइलाग्नेलाई छाड्दैन'

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २०, २०७८

नेकपा एमाले सचिव योगेश भट्टराईले गैँडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । 

प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नआउने चेतावनी दिँदै जिस्काउनेलाई लखेट्ने धम्की दिए । 

चितवनमा हालै सम्पन्न पार्टीको १०औँ महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकामा भएका आलोचना र टिप्पणीलाई लक्षित गर्दै उनले भने, ‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो । गैँडालाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छाड्दैन, लेखट्छ, एमाले पनि त्यस्तै छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छाड्दैन ।’ 

एमालेको शक्ति प्रदर्शनलाई एमालेले नै बाहेक अरूले तोड्न नसक्ने दाबी गरेका उनले महाधिवेशनबाट एमाले एकताबद्ध भएर अघि बढेको बताए ।

ताजा जनादेशबाट एमालेले सरकार बनाउने बताउँदै उनले ५ दलीय गठबन्धनले देशमा बेथिति निम्त्याएकाले यसलाई चिर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको दाबी गरे ।