घनेन्द्र ओझा | दृष्टिकोण | मंसिर २१, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढिरहेको छ । देशभर विभिन्न तहका अधिवेशन भइरहेका छन् । स्थानीय र प्रदेश तहका अधिवेशन लगभग सम्पन्न पनि भएका छन् ।
क्रियाशील विवादका कारण रोकिएका केही जिल्लाका अधिवेशन भने महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरिसकेको छ । २८ मंसिरभित्र राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरिसक्नुपर्ने संवैधानिक बाध्यताले त्यसअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यतामा कांग्रेस छ । नभए पुनः महाधिवेशन सार्ने चलखेलमा कांग्रेस नेतृत्व लाग्ने थियो होला ।
जे होस्, देशकै पुरानो लोकतान्त्रिक दल कांग्रेसले आफ्नो अस्तित्व कानुनी र संवैधानिक रूपमा जोगाउनका लागि बाध्यात्मक अवस्थामै भए पनि महाधिवेशन सम्पन्न गर्ने अब निश्चित भएको छ ।
कांग्रेसका तल्लो तहका अधिवेशनको परिणाम हेर्दा केही अपेक्षित र केही अनपेक्षित देखिन्छ । अपेक्षित यस अर्थमा कि केही अनुहारहरू विलकुल नयाँ र जोसिला/होसिला आएका छन् । अनपेक्षित किनभने धेरै अनुहार अझै पनि थोत्रा, पुराना र अशक्त नै आएका छन्, जो अभिभावकीय भूमिकामा रहनुपथ्र्यो- सक्रिय नेतृत्वमा होइन ।
तर, दुर्भाग्यचाहिँ के भने, जोजो नेतृत्वमा आउनुपथ्र्यो, जो जसले पार्टी र भोलिको देश हाँक्ने संभावना मात्र होइन, क्षमता नै राख्थे, ती भने तलै वा स्थानीय तहमै हराइए, पाखा लगाइए । केही यस्ता व्यक्तिहरू प्रदेशसम्म आए पनि तिनलाई पनि अनेक तिकडम र लाचारी अनि बेबकुफी, त्यो पनि आफ्नै खेमाबाट गरेर ‘नूर गिराउने’ प्रयास भए ।
यस्तै बेबकुफ प्रयासका सिकार बने- शान्त, शालीन, बौद्धिक र भद्र युवानेताको परिचय बनाएका गुरुराज घिमिरे ।
पंचायतकालदेखि नै युवा जोशका साथ समाज, देश र समग्र परिवर्तनका हरेक लडाइँ र मोर्चामा अगाडि रहेर संघर्ष गर्दै आएका घिमिरेलाई प्रदेश १ को सभापतिमा अत्यन्त नगण्य मतले हराइयो । हराइयो किनभने उनले हारेका होइनन् । हारेका किन होइनन् भने, उनलाई आफ्नै खेमाका मान्छेले मत दिएनन् । यदि उनका मत नदिने मान्छेले मत दिएका भए उनले उल्टै २ मतले जित्ने थिए तर हारे २ मतले नै ।
भयो किन यस्तो ?
मैले गुरुराज घिमिरेलाई सुनेको, देखेको, भेटेको करिब ३ दशक भएछ । जिल्ला एउटै भएका कारण र म पनि बच्चैदेखि राजनीतिक कार्यक्रम र गतिविधिमा चासो राखिरहने भएका कारण म प्रायः नेताहरूसँग ठोकिइरहन्थेँ । अझ मैले राजनीति बुझ्दै गर्दाताका गुरुराज घिमिरे त्यस बेलाको पूर्वाञ्चलकै बहुचर्चित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका चल्तापुर्जा विद्यार्थी नेता थिए । स्वतन्त्र विद्यार्थी युनियनका सभापतिसमेत बनेका थिए गुरु ।
त्यस बेलै पनि तार्किक, भद्र र शान्त नेताका रूपमा चिनिन्थे गुरु । ‘गुरु दाइ’ अन्य विद्यार्थीका तुलनामा उमेरले केही पाका भएर पनि उनलाई धेरैले आदर पनि गर्थे ।
त्यसपछि पनि ‘गुरु दाइ’को राजनीतिक सक्रियता उस्तै र उत्तिकै छ । पछि कांग्रेसकै भ्रातृसंगठन नेपाल विद्यार्थी संघको अध्यक्षसमेत बनेका गुरुराज घिमिरेले राजा ज्ञानेन्द्रको तानाशाही शासनकालमा प्रजातन्त्रका लागि कठोर संघर्ष गरेका त हामी सबैले देखेकै हौँ ।
राजनीति हो, यस्तो त हुन्छ नै । कांग्रेसमा त यस्तो बारबार हुन्छ । स्थापनाकालमै सहोदर दाजुभाइ मात्रिकाप्रसाद र विश्वेश्वरप्रसादहरूबीचमा त घात/अन्तर्घात भएको थियो भने पछि अन्यमा त अस्वाभाविक किन हुन्थ्यो र !
वास्तवमा त्यस समयका नेपाली कांग्रेसका युवानेताहरूमा गुरुराज घिमिरे, गगन थापा र कुन्दन काफ्नेहरूको संघर्ष अन्यको तुलनामा बढी देखियो । चर्चामा पनि यिनै बढी आए, जुन स्वाभाविक थियो ।
गुरु र गगनका वैचारिक अडान र स्पष्टताले त्यस बेला महत्त्व पाए भने कुन्दनहरूका व्यावहारिक अर्थात् मूढे आन्दोलनले । जे जसो भए पनि आन्दोलन र युद्धका बेला गरिएका यस्ता सबै प्रकारका प्रयासलाई अन्यथा भने लिइँदैन । यही कारण त पुनः लोकतन्त्रको उज्यालोमा छौँ अहिले हामी ।
अँ, सन्दर्भ गुरुराज घिमिरेकै ।
अनि, मैले थाहा पाएदेखि निरन्तर गुरुराज घिमिरेलाई ‘कोइराला निवास’कै वरिपरि मात्र देखिरहेको छ । कोइराला परिवारसँगको गुरुराजको निकटता मात्र होइन, हामीले देख्दा ‘पारिवारिक निकटता’ जस्तो लाग्थ्यो । अनि, हामी सोच्थ्यौँ- गुरुराज घिमिरेहरू कोइरालाहरूको आशीर्वाद, सहयोग र प्रोत्साहनबाट कहिल्यै टाढा हुँदैनन् ।
तर, दुःखका साथ हेर्नुपरेको छ अप्रत्यासित र अनपेक्षित दृश्य- त्यही कोइराला परिवारका कारण आज गुरुराज घिमिरेले जाबो २ मतले प्रदेश सभापतिमा पराजय भोगेका छन् । ३ दशकभन्दा बढी कोइराला परिवारको भलो ठानेर हिँडिरहेका गुरुराज घिमिरेले अहिले त्यही परिवारका सदस्यको असहयोगका कारण हार्नुपरेको छ । कोइराला परिवारका शीर्ष सदस्यहरू डा. शेखर कोइराला, जो आफैँमा १४औँ महाधिवेशनमा सभापतिका आकांक्षीसमेत हुन्, यसरी नै सुजाता कोइराला, जसले पनि सभापतिको इच्छा देखाउँदै आएकी छन्, यी दुवैले प्रदेश अधिवेशनमा मत हालेनन् । कोइराला परिवारकै ‘सम्बन्धित’ मानिने महेश आचार्यले पनि ‘तटस्थ’ बस्ने निर्णय लिए भने बलबहादुर केसीले पनि मत हालेनन् ।
र, यिनै ४ जनाका कारण प्रस्ट जीत हात पार्ने अवस्थामा रहेका गुरुराजले २ मतले हार बेहोरे ।
राजनीति हो, यस्तो त हुन्छ नै । कांग्रेसमा त यस्तो बारबार हुन्छ । स्थापनाकालमै सहोदर दाजुभाइ मात्रिकाप्रसाद र विश्वेश्वरप्रसादहरूबीचमा त घात/अन्तर्घात भएको थियो भने पछि अन्यमा त अस्वाभाविक किन हुन्थ्यो र ! तर, दुःखको सवाल के भने, गुरुराज घिमिरे जस्ता निष्कलंक, प्रखर र ऊर्जाशील नेतालाई समेत असहयोग गर्नु, नेतृत्वबाट पाखा लगाउनु, नियतवस ‘पछार्नु’ले के कांग्रेसलाई साँच्चै सतीले सरापेकै हो त ?
अनि, कोइराला विरासत फर्काउने महत्त्वाकांक्षा बोकेर बसेका यिनै शेखर, सुजाता, महेशहरूले आफ्नै निकटका र भित्रिया गुरुराजहरूलाई ‘पत्तासाफ’ गरेर शिर उठाउन सक्लान् ?
अन्त्यमा,
गुरुराज घिमिरे त यस सन्दर्भमा एक ‘केस’ मात्र हुन् । अन्य यस्ता धेरै ‘केस’हरू कांग्रेसमा छन्, जसले कांग्रेसभित्रको ‘तुच्छता’, ‘क्षुद्रता’ र नेतृत्वको सोचमा रहेको ‘दरिद्रता’ झल्काइरहेका छन् ।
‘गुरु दाइ’, राजनीति गर्नेले चुनाव हार्छ, आत्मविश्वास कहिल्यै हार्दैन । जनमत गुमाउँछ तर निष्ठा, इमान र आदर्श कहिल्यै गुमाउँदैन । तपाईं हरेक युवाको निष्ठा, इमान र आदर्शको उदाहरण बन्नुहोस्, केही समयमै पुनः आउँछ पार्टीको महाधिवेशन । र, केन्द्रमा पदाधिकारीका लागि पनि ठाउँ बाँकी नै छ, हारे पनि वा जिते पनि कार्यकर्तासम्म पुग्नुहोस्- उम्मेदवारी दिएर । शुभकामना !