अनुरोध शर्मा | दृष्टिकोण | मंसिर २३, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशन मुखैमा आइपुगेको छ । भोलि २४ मंसिरदेखि नयाँ नेतृत्वका लागि महाधिवेशन सुरु हुँदै छ । हरेक ४ वर्षमा हुने महाधिवेशन यस पटक कोभिडलगायतका कारण पटक पटक सर्दै यस पटक भने सम्पन्न हुने पक्क भएको हो ।
उसो त, २८ मंसिरभित्र महाधिवेशन सम्पन्न नगरे कांग्रेसको संवैधानिक अस्तित्व नै सकिने खतरा पनि छ । यही भएर कांग्रेस नेतृत्वले नचाहँदा नचाहँदै पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता आइपरेको हो ।
यस पटकको कांग्रेस महाधिवेशन बडो विचित्रको र रमाइलो भइरहेको छ । स्थानीय र प्रदेश तहका अधिवेशनका परिणाम हेर्दा नयाँ मात्र होइन, अत्यन्त नयाँ २०-२२ वर्षकाले पार्टी नेतृत्व लिएका छन् भने पार्टीमा लामो समय राइँदाइँ गरेकाहरू पाखा लागेका छन् ।
कतिपय राम्रा, असल र इमान्दारहरू पार्टी अधिवेशनबाट पाखा लगाइएका छन् भने कतिपय 'नालायक' र 'बदनाम'हरूले अवसर पाएका छन् । यो स्वाभाविक किन पनि हो भने, अहिलेको कांग्रेसको विधानमा धेरै अस्पस्टताहरू छन्, जसले गर्दा 'विपरीत' परिणाम आउने संभावना प्रबल छ ।
यसकै परिणाम प्रदेश १ मा गुरुराज घिमिरे जस्ता सबल, सक्षम, बौद्धिक र इमान्दार नेता हराइए । अन्य स्थानमा पनि यस्ता धेरै व्यक्तिहरू पाखा लगाइएका छन् ।
संघीयताको नयाँ अभ्याससँगै परिमार्जित विधानमा देखिएका कमी कमजोरीबारे पार्टीमा बहस पक्कै होला र सुधार पनि होला भन्ने आस गरौँ ।
र, अब केन्द्रीय नेतृत्वको सवाल बाँकी छ ।
विगतमा गिरिजाप्रसाद कोइरालाकै काखमा लुटपुटिएर पछि गिरिजाप्रसादसँगै पौँठेजोरी खेल्दै पार्टी विभाजनसम्म गरेका शेरबहादुर देउवा कांग्रेसका पछिल्लो समय कांग्रेस नेतृत्वमा छन् । उनी पुनः नेतृत्वका लागि लागिपरेका छन् ।
स्थानीय र प्रदेश तहका अधिवेशनको परिणामले उत्साहित बनेका देउवा आफ्नो खेमाबाट कम जोखिममा देखिन्छन् किनभने संस्थापन खेमामा सभापतिका प्रभावशाली आकांक्षी विमलेन्द्र निधि मात्र देखिएका छन् । उसो त, निधिको उम्मेदवारी देउवासँगको 'दंग्याइ' मात्र हो, अन्तत: निधिले देउवाकै लागि सजिलो गरिदिने हुन् पनि भन्न थालिएको छ ।
उता, देउवाका प्रतिस्पर्धी अथवा इतर खेमामा भने रममइलो दृश्य बाँकी नै छ । महाधिवेशनको अघिल्लो दिनसम्म संस्थापनइतर खेमाले आफ्नो साझा उम्मेदवार चिनाउन सकेको छैन । खेमाभित्रका पनि टुक्रे समूहका कारण ती टुक्रा जोड्न यस खेमालाई सकस परिरहेको प्रस्टै देखिन्छ ।
रामचन्द्र पौडेललाई केन्द्रमा राखेर केही पर गोलबद्ध प्रकाशमान सिंह, शशांक-शेखर कोइराला, कृष्णप्रसाद सिटौलाहरू आआफ्नै तालमा मच्चिइरहेका छन् । साझा उम्मेदवारका लागि भन्दै बैठक बस्ने अनि बटारिँदै उठ्ने क्रम-उपक्रम उनीहरूमा जारी छ ।
यसैबीच सभापतिका आकांक्षीका रूपमा हेरिएका बीपीपुत्र शशांक कोइरालाले हिजो मात्र आफूले सभापतिमा रामचन्द्रलाई छाडिदिने बताएपछि एउटा तरंग आएको छ । तर, कोइराला परिवारमा शशांकभन्दा निर्णायक शेखर मानिन्छन् । शेखरले चाहिँ यसबारे खासै मुख खोलेका छैनन् तर पौडेलका लागि सभापति 'हापिदिने' सोचमा भने शेखर पनि रहेका खबरहरू आइरहेका छन् ।
वयोवृद्ध भइसकेका र पटक पटक प्रधानमन्त्रीका लागि पनि पराजय भोग्दै 'त्याग' गरिसकेका, पार्टीको पहिलो नेतृत्व रहर रहरमै पनि गुमाइरहेका पौडेलले पनि आफू सभापति नभए राजनीति नै 'हापिदिने' करुणामिश्रित धम्की दिइसकेका छन् ।
र, यदि कोइराला बन्धुहरूले रामचन्द्रलाई नेतृत्वका लागि बाटो खुला गरिदिए भने रामचन्द्रको अन्तिम रहर अथवा पार्टी सभापति उठ्ने इच्छा भने अवश्य पूरा हुनेछ । जित्न त केही जुनी फेरि जन्मिनुपर्ला !
अर्कातिर गणेशमानपुत्र प्रकाशमान भने आफ्नो संपर्क कार्यालय खोलेरै सभापतिको दौडमा छन् । उपत्यकामा बलियो पकड बनाएका सिंहको समस्या- उपत्यकाबाहिर उनलाई चिन्ने (मत हाल्ने) कमै छन् । उपत्यकमबाहिरकाले चिनेको कांग्रेस भनेको कि रामचन्द्रको वा शेरबहादुरको मात्र त हो ! बढी भए शेखरलाई चिन्लान् अरूले ।
निचोडमा,
पछिल्लो परिदृश्यले कांग्रेसको आगामी नेतृत्वका लागि पुन: देउवाको पल्ला भारी बनाइदिएको छ । जब कोइराला बन्धुहरूले 'चिसै पानीले नुहाउने' बताए, तब रामचन्द्र नै संस्थापनइतरका उम्मेदवार बन्नेछन् । रामचन्द्रसँग प्रतिस्पर्धा गर्नु देउवाका लागि 'खुदो पल्टिनु' बराबर हुनेछ ।