हरिविनोद अधिकारी | दृष्टिकोण | मंसिर २४, २०७८
नेपाली काङ्ग्रेसको जन्म
नेपालको राजनीति जटिलतम् अवस्थाबाट गुज्रिरहेको बेलामा नेपाली कांग्रेसले १४औँ महाधिवेशन गर्दै छ । मुलुकमा प्रजातन्त्रका धरोहरहरू भनेर किटान गरिएको व्यवस्थापिका चल्न सकेको छैन, कार्यपालिकामा गठबन्धन दलहरु छन् र फरक फरक राजनीतिक दर्शनका कारणले एकमना निर्णय गर्न सकिरहेका छैनन्, त्यसको प्रत्यक्ष मारमा नेपाल-अमेरिकी सम्बन्ध, नेपाल-चीन सम्बन्ध र नेपाल-भारत सम्बन्ध परेका छन् ।
एउटा परिपक्व राजनीतिक संस्था नेपाली कांग्रेस ढुक्कसँग कुनै राजनीतिक निर्णय लिन सक्ने देखिएको छैन । यस पटकको सत्तारोहण पनि नेपाली कांग्रेसको चाहना र क्षमताले भन्दा आवश्यकताले भएको मान्नुपर्छ । स्थिति तरल छ र पनि नेपाली कांग्रेसले स्थिति सामान्य बनाउने गरी अगाडि बढेकै बेलामा अनिवार्य रूपमा गर्नै पर्ने महाधिवेशनको बेला आएको छ ।
यदि नेपाली कांग्रेसको प्रस्थान विन्दु २००३ सालको राष्ट्रिय कांग्रेसको स्थापनासँगै मान्ने हो भने ७५ वर्षे परिपक्व दलको रूपमा नेपाली कांग्रेसलाई मान्नुपर्छ । नेपाली कांग्रेसको विधिवत स्थापनासँगै २००६ साललाई मान्ने हो भने पनि ७२ वर्षे त भएकै हो । स्थापनाको लक्ष्यभन्दा झन् जटिल अवस्थाको राजनीतिक समस्यामा जेलिएको अवस्थामा १४औँ महाधिवेशन गरिरहेको छ नेपाली कांग्रेस । प्रथम सभापतिका रूपमा टंकप्रसाद आचार्यलाई मान्नुपर्छ । त्यसो भए पनि हालसम्म आचार्य, बीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र हालका सभापति शेरबहादुर देउवा भएका छन् ।
संस्थाको धारणा बनाउने बेलामा संयोजकका रूपमा त देवीप्रसाद सापकोटा पनि हुनुहुन्थ्यो र बीपी जेलमा रहँदा नेपाली राष्ट्रिय कांग्रेसको डिल्लीरमण रेग्मीले पनि कार्यवाहक भएर सभापतित्व चलाउनुभएको थियो । कहिले बीपी-मातृका, कहिले बीपी-डिल्लीरमण, कहिले बीपी-सुवर्ण, कहिले बीपी-सूर्यप्रसाद, कहिले किसुनजी-गणेशमानजी-गिरिजाबाबुका बीचमा त्रिकोणीय विवाद पनि भएका थिए तर नेपाली कांग्रेसको विचलित लक्ष्य भनेको जनताका लागि सामाजिक न्याय प्राप्तिको अर्थमा प्रजातन्त्र, राष्ट्रियता र समाजवादको त्रिपक्षीय आदर्श निहित रहेको पाइन्छ ।
प्रजातन्त्र स्थापना, प्रजातन्त्रका लागि निर्वाचनमार्फत स्थायित्व गर्ने क्रम र प्रथम निर्वाचनद्वारा सरकार बनाउने क्रममा समेत प्रजातन्त्रको स्थिरताका लागि बढी नै संवेदनशील भएको पाइन्छ । कारण थियो, राणाहरूको जहानियाँ शासन हटाएर प्रजातन्त्र स्थापना गरेर नेपाललाई विश्वमा खुला गरे पनि प्रजातन्त्र कुनै पनि बेला अन्त्य हुने डर राजाबाटै थियो र नभन्दै १ पुस २०१७ मा राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्थाको विघटन गर्दै संसद, प्रजातन्त्र र निर्वाचित सरकारमाथि सैनिक बुट लगाएरै छाडे र बहुदलीय संसदीय व्यवस्थाको हत्या गरेर त्यसमा निर्दलीय पंचायती व्यवस्थाको झन्डा गाडे, जसको निरन्तर विरोध गर्ने संस्था नेपाली कांग्रेसमात्र रह्यो ।
महाधिवेशनको सन्देश भनेको आगामी दिनमा नेपाली कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको कसरी रक्षा गर्छ, अभ्यास गर्छ भन्ने कुराको जानकारी दिन सक्नुपर्छ । आदर्श र अभ्यासको जोडानले मात्र आजको समावेशी प्रजातन्त्रको अभीष्ट पूरा हुन्छ भन्ने सन्देश कार्यमूलक तरिकाले दिन सके मात्र पनि १४औँ महाधिवेशन सफल हुनेछ ।
निरन्तर सशस्त्र र शान्तिपूर्ण संघर्षपश्चात् २०४६ सालमा पंचायतको विकल्पका रूपमा बहुदलीय व्यवस्था पुनर्स्थापना गरियो, जसको मुख्य नेतृत्व नेपाली कांग्रेसले गरेको थियो र आफ्नो जन्मको लक्ष्यबमोजिमको राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि अहिले पनि लागिरहेको छ ।
अहिले नेपालको संविधानमा नै नेपाल भन्ने देश समाजवाद उन्मुख भनेर किटान गरिएको त छ तर समाजवादको निश्चित बाटो तयार गरिएको छैन । यस्तो बेलामा मुलुक फसेको छ कि राष्ट्रियतामाथि धाबा बोलिएको छ तर सबै चुपचाप छन्, प्रजातन्त्रमाथि धाबा बोलिएको छ र पनि संसद मौन छ, कार्यपालिका अन्यमनस्क छ र न्यायपालिका आफैँ रनभुल्ल छ र पनि प्रजातन्त्रका लागि असंवैधानिक तरिकाले विघटन गरिएको प्रतिनिधिसभालाई पुनर्स्थापित गरेर प्रजातन्त्रका पक्षमा उभिएको छ । राजनीतिज्ञहरूले निधो गर्न नसकेका कामहरूलाई न्यायपालिकाले निडर भएर प्रजातन्त्रका पक्षमा उभिएको भए पनि त्यसपछिका न्यायपालिकाभित्र देखिएको आन्तरिक द्वन्द्वले नयाँ बहस ल्याएको छ, जुन बेलामा नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ ।
सामाजिक प्रजातन्त्रलाई राष्ट्रियताको समेत आधारभूमि मान्ने नेपाली कांग्रेसको स्थापनाको ७ दशकपछि पनि प्रजातन्त्रको महत्त्व झन् बढेको छ तर प्रजातन्त्रको दायरा र बहन गर्नुपर्ने दायित्वमा भने थपिएको अवस्था छ । त्यसैले बीपीले भन्ने गर्नेहुन्थ्यो, 'नेपालमा डेमोक्रेसीको मोडेल विकास गर्न सकिन्छ ।' तर, बीपीको क्षमतालाई सही रूपमा नेपालमा प्रयोग गर्न दिइएन । बीपीको प्रजातन्त्रको मोडेल पक्कै पनि सामाजिक न्यायमा आधारित समतामूलक र समावेशी प्रजातन्त्र थियो तर बीपी प्रजातन्त्रलाई समाजवादको नयाँ परिभाषाभित्र समेट्न चाहनुहुन्थ्यो भन्ने कुरा उहाँको जीवनका उत्तरार्द्धकालका धारणाहरूले बताउँछन् ।
बीपीको विरासत धान्न सकेको छ त ?
नेपाली कांग्रेसले बीपीको बृहत् धारणाको प्रतिनिधित्व गर्न सकेको छैन । किन बीपीको मात्र प्रसंग ल्याउनुपरेको भने बीपी विश्व प्रजातन्त्रलाई समेत निर्देशित गर्न सक्नुहुन्थ्यो । बीपीको प्रजातान्त्रिक समाजवादको बडो सटिक व्याख्या थियो, सिद्धान्तका रूपमा र व्यवहारका रूपमा । उहाँले समाजवादलाई र साम्यवादलाई यसरी तुलनात्मक अध्ययनको सीमाभित्र राख्नुभएको थियो- निष्पक्ष निर्वाचन निर्भयताका साथ मतदान र परिणाम घोषित, बहुलताका आधारित समाजमा प्रतिनिधि छान्ने र तिनीहरुबाट राज्य प्रणाली संचालन गर्ने प्रणाली छ भने त्यो समाजवाद हो । नत्र त्यो एकदलीय हैकमवादी छ भने त्यो समाजवाद हुन सक्दैन र साम्यवादको खोक्रो आडम्बर मात्र बाँकी रहन्छ ।
अर्थात् साम्यवादभित्र पनि खुला समाज छ, निर्वाचन निष्पक्ष हुन्छ भने त्यो समाजवाद हो । अनि, एउटा परिवारले ओखतीमूलोका लागि सरकारले सहयोग गरोस् । एउटा गाई पालेर बस्ने हैसियत होस् । सबैको एउटा घर होस् । रोजगारी होस् । कसैले पनि अर्काको मुख ताक्नु नपरोस् बाँच्नका लागि । सबैले पढ्न पाऊन् । अर्थात् गाँस, बास, कपास, शिक्षा र सुरक्षाको प्रबन्ध सरकारले गर्नै पर्छ । त्यस्तो समाजवादको कल्पना गर्नुहुन्थ्यो, जसले प्रजातन्त्रमार्फत् व्यक्तिको स्वतन्त्रताको रक्षा गरोस्, मानवअधिकारको रक्षा होस् र अभिव्यक्ति स्वतन्त्रताको निर्बाध प्रयोग गर्न सबैले पाऊन् । विश्वको परिस्थितिलाई समेत उहाँको यो मोडेल प्रयुक्त हुन्थ्यो । त्यस्तो आदर्श कल्पनाको सिद्धान्त र जनताका अत्यावश्यक आवश्यकताप्रति सरकारको प्रत्याभूति हुनै पर्ने प्रजातन्त्र र समाजवादको अन्तर्घुलनको व्यवस्था चाहनुहुन्थ्यो ।
जम्मा १८ महिनामा जेजे गर्नुभएको थियो, प्रधानमन्त्रीका हैसियतले, एउटा सिद्धान्तकारका हैसियतले, ती पंचायतका ११ वर्षमा केही पनि हुन नसक्दा राजासँगको वार्ता सम्झनुहुन्थ्यो । अहिले प्रजातन्त्र पुनर्स्थापनका ३२ वर्ष बितिसक्दा पनि र उहाँको कल्पनाको नेपाली कांग्रेस बढीभन्दा बढी समय सत्तामा रहँदा पनि ती जनताका लागि आवश्यक सेवाहरू पूरा गर्न सकिएको छैन । प्रजातन्त्र अस्थिर छ, बहुलवादको अवस्था नाजुक छ, चारैतिरबाट प्रजातन्त्रलाई घेरिएको छ भने कसरी नेपाली कांग्रेसले बीपीको विचारको विरासत बोक्न सकेको मान्न सकिन्छ र ? बीपीको बिरासत धान्न सकेको कसरी भन्ने ? तर, एउटा कुरामा भने धानेको छ, त्यो हो- प्रजातन्त्रप्रतिको प्रतिबद्धता, कटिपबद्धता र आस्था ।
महाधिवेशनको सन्देश के होला त ?
कसैले भन्छन्, यो १४औं महाधिवेशन पनि पहिलेको भन्दा फरक हुनेछैन र हाट्टहुट्टमा सम्पन्न हुन्छ । कसैले जित्छन्, कसैले हार्छन् । तर, सबैले जित्ने खेल भनेको सिद्धान्तको परिपालना हो । नियम बनाएपछि पालना गर्नुपर्छ । प्रजातन्त्रको पर्याय भएर ७ दशकदेखि सक्रिय संस्थाको अभ्यासले अरूले पनि सिक्नुपर्छ र भनेको हुनुपर्छ, प्रजातन्त्र भनेको त त्यस्तो पो हुँदो रहेछ । भ्रातृ संस्थाहरूको निर्वाचन गर्न नसक्ने, भएका निर्वाचनहरूमा पनि सम्पन्न हुन नसक्ने, दशौँ वर्षसम्म तदर्थवादमा संस्थाहरू चल्दा पनि कसैको चित्त नदुख्ने र नियमअनुसारको काम नगर्ने/नगराउने भनेर कांग्रेसलाई भनेमा त्यो बेठीक हुँदैन । अनि, संस्था नियमअनुसार चलोस् भन्यो भने त्यो विरोधी हुने र उसको त्यो संस्थामा कुनै हैसियत नै हुन नदिने भष्मासुर प्रवृत्तिले प्रजातन्त्रको खिल्ली उडाउनेछ र कम्तीमा पनि आफैँले बनाएका विधानहरूलाई पालना मात्र गरे पनि र अभ्यासमा निष्पक्षता अनि कामको अभिलेख राख्ने बानी मात्र गरे पनि नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सकारात्मक परिणाम आउनेछ ।
पक्कै नै कार्यान्वयन गर्ने काम केन्द्रमार्फत प्रदेश, जिल्ला, क्षेत्र हुँदै पालिकास्तरसम्ममा हुने हो । इमान्दार प्रयास र प्रजातन्त्रको मर्मलाई आत्मसात् गरे पात्र जो भए पनि हुन्छ, कामसँग मतलब हुन्छ भन्दा पनि हुन्छ । जोजो उठून्, आन्तरिक प्रजातन्त्रमा यसैले जित्ने भन्ने भन्दा पनि जोस र जाँगर लिएर गर्छु भन्नेलाई काम गर्ने वातावरण दिनुपर्छ । प्रतिस्पर्धालाई आन्तरिक प्रजातन्त्रको अनुपम गहना मान्नुपर्छ र मात्र यो महाधिवेशनमा आफूलाई दीक्षित हुन आएका युवाहरूले केही सिकेर जानेछन् ।
महाधिवेशनको सन्देश भनेको आगामी दिनमा नेपाली कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको कसरी रक्षा गर्छ, अभ्यास गर्छ भन्ने कुराको जानकारी दिन सक्नुपर्छ । आदर्श र अभ्यासको जोडानले मात्र आजको समावेशी प्रजातन्त्रको अभीष्ट पूरा हुन्छ भन्ने सन्देश कार्यमूलक तरिकाले दिन सके मात्र पनि १४औँ महाधिवेशन सफल हुनेछ । नेपाली कांग्रेसले भन्न सक्नुपर्छ- हामीले प्रजातन्त्रका पक्षमा फेरि पनि आवश्यकता परे ज्यान दिन र जुनसुकै अभ्यास गर्नुुपरे पनि तयार छौँ । युवाहरूलाई आगामी दिनका लागि प्रजातन्त्रप्रति आस्थावान् हुने वातावरण तयार गर्नु जरुरी छ ।