लोकसंवाद संवाददाता | समाचार | मंसिर २६, २०७८
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि मनोनयन दर्ता भएको छ । कांग्रेस नेतृत्वका लागि निर्वाचनको मनोनयन भइरहँदा यसपटक कांग्रेसका परम्परागत रुपमा हुने दुई गुटहरुमा फेरबदल र विभाजन आएको छ ।
कांग्रेसको १३औं महाधिवेशनमा प्रतिस्पर्धामा रहेका तीन वटै समूह १४ औं महाधिवेशनमा विभाजित बनेका छन् । सभापति शेरबहादुर देउवाको संस्थापन पक्षमा रहेका विमलेन्द्र निधि साढे दुई दशकपछि देउवाको साथ छाडेर आफैं सभापतिमा उम्मेदवार बनेका छन् भने प्रवक्ता विश्व प्रकाश शर्मा अन्तिम समयमा महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि प्रकाशमान सिंहको समूहमा गएर महामन्त्रीको उम्मेदवार बनेका छन् । यसअघि देउवा समूहबाट महामन्त्रीका उम्मेदवार बनेका अर्जुन नरसिंह केसी यसपटक संस्थापनइतर समूहमा छन् ।
यस्तै अघिल्लो महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका रामचन्द्र पौडेल समूहले पनि साझा उम्मेदवार चयन गर्न सकेन । कांग्रेसमा सधै निष्ठावान राजनीति गरेका पौडेलको नाममा सहमति बन्न नसकेपछि सो समूहबाट पनि दुई अलग अलग समूह यसपटक सभापतिसहित प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।
साझा उम्मेदवार खडा गर्न नसकेपछि पौडेल प्रतिस्पर्धाबाट पछि हटेका छन् । संस्थापन इतर समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिएका छन् । कोइरालाले प्यानलसहित उम्मेदवारी दिँदा सिंहको समूहबाट भने उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।
यस्तै १२ औं महाधिवेशनसम्म कोइराला परिवारका विश्वास पात्रका रुपमा रहेका कृष्ण सिटौला १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई नसघाइ आफैं सभापतिमा उम्मेदवार बनेका थिए । तर उनी तेस्रो भए । पहिलो चरणमा कुनै पनि उम्मदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि भएको दोस्रो चरणको मतदानमा सिटौलाले शेरबहादुर देउवालाई सहयोग गरे र उनी सभापतिमा निर्वाचित भए ।
त्यसबेला सिटौला समूहबाट गगन थापा महामन्त्रीका उम्मेदवार थिए । उनले पनि यसपटक समूह परिवर्तन गरेर शेखर कोइरालाको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका छन् । गगनले समूह परिवर्तन गरेपछि त्यसको फाइदा भने प्रदिप पौडेललाई भएको छ । उनी सिटौला समूहका तर्फबाट देउवा प्यानलमा महामन्त्रीको उम्मेदवार बनेका छन् । सिटौला समूहका अर्का नेता उमाकान्त चौधरी सहमहामन्त्रीका उम्मेदवार बनेका छन् ।
सभापतिमा दाबी गर्दै आएका गोपालमान श्रेष्ठ पनि यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार बनेनन् । परराष्ट्रपति डा.नारायण खड्का पनि उम्मेदवार भएनन् । अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेल प्यानलमा रहेका उनले महाधिवेशन लगत्तै समूह फेरेर देउवा समूहमा पुगेका थिए । देउवा समूहमा उपसभापतिको दाबी गर्दै आएका खड्का उम्मेदवार नै बनेनन् । चर्चित नेताहरु प्रदीप गिरी र नरहरी आचार्य पनि उम्मेदवार बनेका छैनन् ।
कांग्रेसका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा भने देउवा समूह छाडेपछि संकटमा परेका छन् । महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि देउवा समूह छाडेका उनले शेखर कोइरालाको समूहबाट महामन्त्रीको उम्मेदवार बन्न खोजेका थिए । तर कोइराला समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार बनेपछि उनी अन्ततः प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका छन् ।
सिंहले सभापतिमा उम्मेदवारी दिएका छन् भने उनको समूहबाट उपसभापतिमा सुजाता कोइराला उम्मेदवार बनेकी छन् । मनोनयनको दिन बिहानै कोइराला परिवारमा फुट आएको हो । बीपीपुत्र शशांक कोइरालाले शेखरलाई साथ दिएका छन् भने सुजाता सिंहको समूहमा लागेकी हुन् । पौडेल समूहमा आएको विभाजनमा सिंह समूह शेखर समूहभन्दा कमजोर मानिएको छ ।
यद्यपि मधेश र युवा वर्गमा राम्रो प्रभाव भएका विश्वप्रकाश शर्मा आएपछि सिंहलाई केही राहत पुग्नेछ । देउवालाई भने शर्माको बहिर्गमनले केही क्षति भएको छ । उनको समूहबाट मधेशमा पकड भएका विमलेन्द्र निधि पनि बाहिरिएका छन् । यद्यपि कृष्ण सिटौलाको सहयोगले देउवालाई त्यो क्षतिमा राहत मिल्नेछ । सिटौला समूहबाट पनि गगन थापाको पक्ष शेखर समूहमा गएको छ । गगन थापा पनि कांग्रेसमा युवा पुस्तामा सबैभन्दा राम्रो पकड भएका नेतामा मानिन्छन् ।
यसपटक महामन्त्रीका ६ उम्मेदवारमध्ये तीन जना विश्वप्रकाश शर्मा, गगन थापा र प्रदिप पौडेल प्रभावशाली युवा नेता हुन् । शर्मा र पौडेल नेवि संघका पूर्वअध्यक्ष हुन् भने थापा नेवि संघका पूर्वमहामन्त्री हुन् ।
यसअघि रामचन्द्र पौडेल समूहमा रहेका धनराज गुरुङ र चन्द्र भण्डारी शेखर कोइरालाको प्यानलबाट उपसभापतिका उम्मेदवार बनेका छन् । संस्थापन इतर समूहका बलिया नेता महेश आचार्य भने स्वतन्त्र रुपमा उपसभापतिको उम्मेदवार बनेका छन् । आचार्य विगतमा कोइराला समूहका प्रभावशाली नेता थिए ।
कुन पदमा कति उम्मेदवार ?
आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्ने कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १ सय ३४ पदका लागि हुने निर्वाचनमा ५४८ जनाले उम्मेदवारी दिएका छन् । सभापतिका लागि ६ जना, २ उपसभापतिका लागि ७ जना र २ महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सभापतिमा शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका छन् ।
उपसभापतिमा पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, डा.चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाहले उम्मेदवारी दिँदा महामन्त्रीमा गगन थापा, डा.मिनेन्द्र रिजाल, डा.प्रकाशशरण महत, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र डा.राजाराम कार्की मैदानमा उत्रिएका छन् । ८ जना सहमहामन्त्रीका लागि २० जनाले उम्मेदवारी दिएका छन् । खुला केन्द्रीय सदस्यको ३५ पदका लागि १०९ जना, महिला केन्द्रीय सदस्यको ९ जनाको पदमा ३१ जना, प्रदेशतर्फको २१ जना केन्द्रीय सदस्यका लागि ६४ जना, समावेशीतर्फको ५४ केन्द्रीय सदस्यका लागि २ सय ८३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै अल्पसंख्यकको केन्द्रीय सदस्य पदका लागि ६ जना र अपांगता भएको १ केन्द्रीय सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ ।
जो उम्मेदवार नै बनेनन्
नेपाली कांग्रेस मुलुककै जेठो राजनीतिक दल हो । यो दलमा हरेक महाधिवेशनमा प्रतिस्पर्धाका माध्यमबाटै नेतृत्व चयन हुँदै आएको छ । तर यसपटकको महाधिवेशनमा केही चर्चित नेताहरु भने उम्मेदवार नै बनेनन् । १३औं महाधिवेशनमा सभापतिका लडेका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला यसपटक कुनै पदमा उम्मेदवार बनेनन् । कांग्रेसको अहिलेको पुस्तामा पौडेल सबैभन्दा निष्ठावान र वरिष्ठ नेता पनि हुन् । तर आफ्नै टिमभित्रको विभाजन र विवादका कारण उनी अन्ततः चुनावी प्रतिस्पर्धाबाटै अलग भए । यस्तै कृष्ण सिटौला पनि कांग्रेसका प्रभावशाली नेता हुन् । उनले यसपटक सभापतिमा शेरबहादुर देउवालाई सहयोग गर्दै आफूनिकट प्रदिप पौडेललाई महामन्त्रीमा र उमाकान्त चौधरीलाई सहमहामन्त्रीमा उम्मेदवार बनाए पनि उनी कुनै पदमा उम्मेदवार बनेनन् ।
अब आफूहरु बुढो भएकाले युवा पुस्ताले नेतृत्व गर्नुपर्ने बताउँदै आएका सिटौलाले आफूपछि पौडेललाई नै नेताका रुपमा अघि सारेका छन् । सभापतिमा दाबी गर्दै आएका गोपालमान श्रेष्ठ पनि यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार बनेनन् । परराष्ट्रपति डा.नारायण खड्का पनि उम्मेदवार भएनन् । अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेल प्यानलमा रहेका उनले महाधिवेशन लगत्तै समूह फेरेर देउवा समूहमा पुगेका थिए । देउवा समूहमा उपसभापतिको दाबी गर्दै आएका खड्का उम्मेदवार नै बनेनन् । चर्चित नेताहरु प्रदीप गिरी र नरहरी आचार्य पनि उम्मेदवार बनेका छैनन् ।