लेखेर राख्नुहोस्- कांग्रेस सुध्रिँदैन

लेखेर राख्नुहोस्- कांग्रेस सुध्रिँदैन

विभूति शर्मा  |  दृष्टिकोण  |  मंसिर २७, २०७८

देशमा एउटा राजनीतिक पार्टी छ- नेपाली कांग्रेस नामको । कांग्रेस नामको यो पार्टीको इतिहास ७ दशक पुरानो छ । जति पुरानो भयो, त्यति विकृत, विद्रुप र विसंगत बन्दै जान्छन् चिजहरू । स्वाभाविक प्राकृतिक कुरा हो यो । तर, संगठन, संस्था र पार्टीहरू, जो सामाजिक र राष्ट्रिय जीवनमा महत्त्व राख्छन् सधैँ, ती भने जति पुराना भए, त्यति नै तरोताजा, स्मार्ट, सुन्दर र सशक्त बन्नुपर्ने हो ।

कांग्रेसका सवालमा यो मान्यता गलत सावित हुन्छ । हुनत कांग्रेस जन्मिँदै रोगी (खुनी) जन्मिएको हो । रोगी यस अर्थमा कि कांग्रेसको स्थापनाकालदेखि नै यस पार्टीभित्र खिचातानी, विवाद र मतभेद सुरु भएका हुन्, जुन आजपर्यन्त चलिरहेकै छन् । यस कारण पनि कांग्रेसले आफूलाई सधैँ सशक्त, सबल र स्वाभिमानी बनाइरहन सकेन ।

यसकै परिणाम पटक पटकका सत्ता संचालनका महत्त्वपूर्ण अवसरहरू कांग्रेसले गुमाइरह्यो । आफैँभित्रको भावनात्मक एकतामा सधैँ कमजोर रहेको कांग्रेसमा सुरुदेखि अर्थात् स्थापनाकालदेखिकै केही समस्या छन्, जसका कारण कांग्रेस कहिल्यै सुध्रिन सकेन ।

पहिलो समस्या त ‘तँ वीर कि म वीर ?’कै हो । समवयी, समकालीन तत्कालीन युवाहरू बीपी, गणेशमान, किशुनजी, सुवर्णशम्शेर, मातृकाप्रसाद कोइरालाहरूले जन्माएको कांग्रेसमा ‘वीर’ बन्ने चाह र लोभ अनि महत्त्वाकांक्षा हुनु अन्यथा होइन । पार्टीको नेतृत्वको चाहना र पार्टीमा महत्त्वपूर्ण भूमिकाको लोभ  हुने नै भयो । अर्कातिर पार्टीको नेतृत्व समकालीन र समवयी हुँदाको दुखद् परिणाम ‘मभन्दा ऊ के बढी र उसको कुरा मानिदिने ?’ भन्ने पनि हुन्छ मित्रवर्गमा । त्यसलाई सोहीअनुसार व्यवहार गर्न नेतृत्वले जानेन भने पनि विवाद र मनभेद उत्पन्न हुन सक्छ । सायद त्यस बेला यी केही वा यस्तै समस्या देखिए कांग्रेसमा ।

र, नै मातृका र बीपीहरू दाजुभाइ भए पनि राजनीतिमा अलग बाटो हिँडे । पछिसम्म पनि कांग्रेसमा यस्ता समस्या रहिरहे । हुँदाहुँदा गिरिजाप्रसाद, किशुनजी र गणेशमानबीचका तिक्तताका हदसम्म नै हामीले प्रत्यक्ष देख्यौँ ।

आज पनि कांग्रेसमा शेरबहादुर देउवा। रामचन्द्र पौडेल, कोइराला बन्धुहरू, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहहरूबीचमा अघोषित वैमनष्य बाँकी नै देखिन्छ । कोइराला बन्धुहरूमा त आफ्ना काका/बुबा गिरिजाप्रसादलाई पटक पटक ‘चेक’ हान्न प्रयास गर्दै गिरिजाप्रसाद नेतृत्वको प्रस्ट बहुमतको सरकार २०५१ सालमा ‘ढालिदिने’, त्यसपछि पार्टी नै फुटाइदिने देउवाप्रति सद्भावसम्म नरहनु स्वाभाविक नै हो । उता, जीवनको उत्तरार्द्धमा पुगेका आफ्ना पिता गणेशमानलाई अपमानित गर्न सहयोगी कोइराला बन्धुहरू, देउवालगायतप्रतिको तुष प्रकाशमानमा रहनु अन्यथा होइन ।

यी आदि कारणले वर्तमानमा यी उल्लेखितहरूलाई एकआपसमा लडन्त-भीडन्त गर्न ‘क्याटलिस्ट’को काम गरेका होइनन् भन्न सकिँदैन ।

अर्कातर्फ कांग्रेसमा फैलँदो, फस्टाउँदो र मौलाउँदो गुटको विकृतिलाई कतिपयले ‘लोकतान्त्रिक पद्धतिमा, लोकतान्त्रिक दलमा गुट हुनु सामान्य हो’ भनिरहे पनि त्यही गुटहरू पनि चिराचिरा बनेर आधा दर्जन पुगिसके । २ वा ३ गुटले ‘द्वन्द्ववाद’को नियमअनुसार सकारात्मक भूमिका नै खेल्ने थिए होला तर आधा दर्जनभन्दा बढी गुटले पार्टीलाई धमिराले काठ खाएजस्तो मात्र बनाइरहेका छन् । यसबारे पार्टीका नेता र कार्यकर्तामा ग्लानि वा कमजोरी बोध पटक्कै देखिँदैन ।

नेतृत्व त ‘लोकतन्त्र’का नाममा तानाशाही नै हुन्छ, सैनिक शासनमा होस् कि ‘प्रजातान्त्रिक’ शासनमा । संविधान, कानुन र विधानलाई ‘लोकतन्त्र’को जामा लगाइदिएर नेतृत्व सधैँ फुक्काफल र निरंकुश बन्न नै रुचाउँछ । कांग्रेसको नेतृत्व पनि यस्तै भएकाले हो- बीपीसँग मातृका अलग्गिनु, सुवर्णशम्शेरहरूको आर्थिक-भौतिक लगानी कांग्रेसका नाममा खेर जानु वा गिरिजाप्रसादपछिको कांग्रेसबाट किशुनजी, गणेशमानहरू लखेटिनु अथवा वर्तमानमा देउवासँग चिढिएर अनेक गुटहरू बन्नु

अनुशासन र मर्यादालाई कांग्रेसले कहिल्यै सम्झिएन । न नेतृत्व तहमा नेताहरूबीच अनुशासन र मर्यादाको हेक्का रह्यो वा न त कार्यकर्ता तहमा नै । एकआपसमा गरिने सामान्य सद्भाव, सम्मान र मर्यादालाई समेत गुटको छायामा पारेर भुलियो । उसो त, पार्टीभित्र वा एउटा संस्था, संगठनभित्र हुने, हुनुपर्ने अनुशासन र मर्यादाको हेक्कासम्म गरिएको पाइँदैन, पालनाको त कुरै नगरौँ ।

विधि, पद्धति र विधानको रटान सधैँ गरिरहने कांग्रेस नेतृत्वले आफ्नै विधान पल्टाएर हेर्ने जाँगर गरेन । पद्धतिको मूल्य र मान्यता उसले यसबीचमा थाहै पाएन । विधिका नाममा ‘लोकतान्त्रिक विधि’ २ वटा शब्द नेतृत्वका मुखमा झुण्डिइरहे तर त्यो ‘लोकतान्त्रिक विधि’ कस्तो हुन्छ भनेर देखाउने वा अभ्यास गर्ने हिम्मत कांग्रेसको सुरुदेखिकै नेतृत्वले गरेन । गरोस् पनि कसरी ?, जबकि लोकतान्त्रिक विधिको अभ्यास गर्दा नेतृत्व स्वयंमाथि पटक पटक संकट आइलाग्थ्यो ।

नेतृत्व त ‘लोकतन्त्र’का नाममा तानाशाही नै हुन्छ, सैनिक शासनमा होस् कि ‘प्रजातान्त्रिक’ शासनमा । संविधान, कानुन र विधानलाई ‘लोकतन्त्र’को जामा लगाइदिएर नेतृत्व सधैँ फुक्काफल र निरंकुश बन्न नै रुचाउँछ । कांग्रेसको नेतृत्व पनि यस्तै भएकाले हो- बीपीसँग मातृका अलग्गिनु, सुवर्णशम्शेरहरूको आर्थिक-भौतिक लगानी कांग्रेसका नाममा खेर जानु वा गिरिजाप्रसादपछिको कांग्रेसबाट किशुनजी, गणेशमानहरू लखेटिनु अथवा वर्तमानमा देउवासँग चिढिएर अनेक गुटहरू बन्नु ।

र, अहिले कांग्रेसको १४औँ महाधिवेशन चलिरहेको छ । आज ४०० भन्दा बढी आकांक्षीबीचमा निर्वाचन हुँदै छ । खेमा-खेमा भएर र स्वतन्त्रका नाममा पनि पदाधिकारीदेखि सबैजसो पदमा उम्मेदवारी परेको छ ।

महाधिवेशनको अन्तिम समयमा आएर देउवाका कडा प्रतिस्पर्धी ठानिएका रामचन्द्र पौडेल र सशक्त मानिएका गोपालमान श्रेष्ठहरू चुनावको ‘रिङ’मै छिर्न चाहेनन् । उता, कोइराला परिवारका आकांक्षीमध्ये डा. शेखर कोइराला सभापतिमा अघि बढे भने बीपीपुत्र, निवर्तमान महामन्त्री डा. शशांक कोइराला ‘वाइन खाने, रमाउने’ अवस्थामा पुगे । गिरिजापुत्री सुजाताले आफ्नै दाजु शेखरको हात छाडिदिइन् र गणेशमानपुत्र प्रकाशमानको हात समाउन पुगिन् । माथि नै भनियो- गिरिजाप्रसादले आफ्ना पितालाई ‘मर्ने बेला’मा गरेको अपमानको तुष प्रकाशमानसँग नहोला ? थिएन भने शेखरलाई सभापतिका लागि सहयोग गर्न केको आपत्ति थियो र ? र, उनै गिरिजापुत्री सुजाताले प्रकाशमानबाट सद्भाव, सहयोग प्राप्त गर्लिन् भन्ने यो लेखक सोच्नसम्म सक्दैन ।

अर्कातिर देउवालाई ‘दंग्याउन’ बानेश्वर ब्यांक्वेटमा गुँडुल्की मारेर बसेका महेन्द्रनारायण निधिपुत्र विमलेन्द्रले पनि सभापतिमा दाबी गरेका छन् । वर्तमान सरकारमा राम्रै मन्त्रालयसमेत नपाएका निधिले पार्टीमा बलियै स्थान खोजेका भनिए पनि उनी चुनाव लडेका छन् । जित्न त उस् तर सभापतिमा म पनि लडेको थिएँ भनेर भविष्यमा सम्झिन र वरिपरिकालाई गफ लगाउन भने उनको उम्मेदवारी पक्कै महत्त्वपूर्ण हुनेछ ।

अनि अन्त्यमा भन्नुपर्ने कुराचाहिँ बाँकी नै छ । यी सबै सन्दर्भ जोडेको- ‘कांग्रेस कहिल्यै सुध्रिँदैन’ भन्नलाई हो । कांग्रेस अझै पनि सुध्रिँदैन भन्ने महाधिवेशन, अधिवेशनले देखाइरहेका छन् । असल, कुशल, इमान्दार र क्षमतावान् नेताहरूलाई तल्लै तहमा चिप्ल्याइदिएर बेइमान, भ्रष्ट, तस्करहरूलाई केन्द्रतिर पठाइसकेका छन् कांग्रेस कार्यकर्ताले । धनगिरी र डनगिरीको चपेटामा असल र कुशल अनि इमान्दारहरू परिसकेका छन् । केही सीमित र छिटपुटहरू यस्ता राम्राहरू पनि आएका छन् तर ती नेतृत्वको दौडमा सामेल छैनन् । केही थोरै सामले छन् दौडमा, तिनलाई आफ्नै भनिएका गुटका नेता, कार्यकर्ताले मत हाल्दैनन् । यो तल्ला तहका अधिवेशनमा पनि देखिएकै हो ।

कांग्रेस अझै पनि गुटबन्दी, हेलाहोचो, करुणा-आशीर्वाद, धोकाधडीबाट नै चलेको छ, यसरी नै चल्नेछ र चलिरहनेछ तर कहिल्यै सुध्रिनेछैन ।