ज्ञानमित्र | दृष्टिकोण | मंसिर २९, २०७८
अहिले यो लेख लेखिरहँदा नेपाली कांग्रेस सभापति निर्वाचनको दोस्रो चरणको मत परिणाम पनि सार्वजनिक भइसकेको छ । पहिलो चरणमा कुनै पनि प्रत्यासीले ५० प्रतिशत १ मत नल्याउँदा सबैभन्दा बढी मत ल्याउने २ जनाका बीच प्रतिस्पर्धा हुने कांग्रेस विधानले व्यवस्था गरेको बाध्यात्मक स्थिति आयो । आज नेपाली कांग्रेसले नयाँ सभापति पाइसकेको छ । सभापतिमा दोस्रो पटक शेरबहादुर देउवाले नै बाजी मारिसकेका छन् ।
२९ मंसिरमा कांग्रेसले नयाँ सभापति पाएको सार्वजनिक भए पनि सूत्रधारहरूले यो व्यूह रचना लगभग ३ महिना पहिला नै कोरिसकेका थिए । सभापतिमा देउवालाई नै निरन्तरता दिने सम्झौता, समर्पण र आश्वासनको अभिलेखीकरण पहिला नै तयार भइसकेको थियो ।
नेपालका हिन्दुवादीहरूले के कुरामा सन्तोष र खुसी मान्नुपर्ने हो भने, यस पटक कांग्रेसको आन्तरिक राजनीतिमा हिन्दुवादीहरूले राम्रैसँग दख्खल राख्ने सफलता पाए । हिन्दुवादी भनेर विभिन्न संगठनमा रहेका स्वनामधन्य तथाकथित अभियन्ता मात्र सम्झिने गल्ती गर्नुहुँदैन । पर्दा पछाडिबाट धेरै जनाले हिन्दुत्वको समर्थन गर्दैनन् ।
वास्तवमा डा. शेखर कोइरालालाई चुनावमा पराजित गराएर देउवालाई सभापति बनाउनेमा यस्तै पर्दा पछाडिका हिन्दुवादीहरूको अहं भूमिका छ । शेखर कोइरालालाई अचम्म पनि लाग्छ होला कि मलाई हराउन हिन्दुवादीहरूले चाणक्यको भूमिका निर्वाह गरे । उनलाई विश्वास गर्न पनि अप्ठ्यारो हुन सक्छ तर वास्तविकता यही हो ।
हो, यो सत्य होस् कि केही महिना पहिलासम्म कांग्रेस सभापतिमा हिन्दुवादीहरूको रोजाइ शेखर कोइराला नै थिए । तर, झन्डै ३ महिना पहिला जुन 'प्लान'ले शेखरलाई सभापति बनाउने निधो भएको थियो, त्यही 'प्लान'को प्रयोग गरेर शेखरको ठाउँमा देउवालाई रोजियो ।
शेखर रोजाइबाट च्युत हुनुको कारण उनी आफैँ बने । पछिल्लो समयमा उनी यस्ता सल्लाहकारको प्रभावमा पर्दै गए, जुन चिनियाँ प्रभावले रंगिएका थिए । शेखरमा चिनियाँ सामीप्य र प्रभावले उनी निकटस्थ हिन्दुवादीहरू सशंकित भए, सम्बन्धित ठाउँमा उनीबारेको यस्तो सूचना पुग्दा उनीबारे 'पर्ख र हेर'को रणनीति बन्यो ।
नेपालबारे भारत र मोदीको स्पष्ट मनशाय जगजाहेर नै छ, सरकार अथवा राजनीतिक दलमा जुनसुकै विदेशी प्रभावले ग्रस्त व्यक्ति आए पनि चिनियाँ प्रभाव स्वीकार नगर्ने । शेरबहादुरका विषयमा एउटै वाक्यले काम गर्यो- 'यो मानिस अमेरिकाको दास नै भए पनि र बने पनि चीनको प्रभाव र प्रभुत्वमा जाँदैन ।'
प्रकाशमान सिंह शेखरलाई 'काउन्टर' दिन शेरबहादुर समर्थककै रूपमा चुनाव लडेका थिए । विमलेन्द्र र प्रकाशमानलाई जुन प्रयोजनले चुनावमा प्रतिस्पर्धा गर्न उठाइएको थियो । दुवैले त्यसैबमोजिम अन्तिम घडीमा आफ्नो रोल 'अदा' गरे ।
प्रधानमन्त्री भए पछि 'केटा हो, एक दिनको भए पनि भारत भ्रमणको चाँजोपाँजो मिलाओ' भन्ने हारगुहार गर्ने शेरबहादुरलाई थाहै भएन । उनका अघोषित सल्लाहकारले शेखरलाई चिनियाँ ट्याग लगाइदिएर र उनको चीनविरोधी मानसिकता र छविको सूचना सम्प्रेषण गरिदिएर उनको सभापति हुने मार्ग प्रशस्त गरिदिए । थाहा त डा. प्रकाशशरण महतलाई पनि भएन । उनलाई देउवाको प्यानलमा महामन्त्री बनाउन हिन्दुवादीहरूले के कति कसरत गर्नुपर्यो ?
गगन थापा र विश्वप्रकाशलाई यस पटक कांग्रेस केन्द्रीय कार्यसमितिमा आउन नदिने भरपुर प्रयास पनि गरिएकै हो । देउवाबाहेक प्रमुख अन्य ४ पदमा उनकै प्यानल जिताउने प्रयास कति सफल हुन्छ, त्यो केही दिनमा थाहा हुनेछ । गगन र उनका समर्थकहरूले पराजय भएमा बिस्मात मान्नु आवश्यक छैन । यसलाई फगत कांग्रेसलाई धर्मनिरपेक्ष र झिल्के गणतन्त्रवादीहरूबाट मुक्त गर्ने अभियानका रूपमा बुझे हुन्छ ।
जीवनमा पहिलो पटक प्रकाशमान सिंहप्रति सहानुभूति जागिरहेको छ । दोस्रो चरणको निर्वाचनमा उनले शेरबहादुरलाई समर्थन गर्दा अनेक आरोप खेप्नुपरेको छ । करोड हात पारेर समर्थन गरेको भन्ने आरोप शेखर खेमाले प्रचार गर्यो । सामाजिक संजालमा उनका विरुद्ध क्षुद्र एवं अभद्र टीका-टिप्पणी भए तर वास्तविकता भने अर्कै छ । उनको उम्मेदवारी नै उनको भारत भ्रमणमा शेरबहादुरको जीत सुनिश्चित गर्न 'प्लान्ट' गरिएको थियो । प्रकाशमान सिंह शेखरलाई 'काउन्टर' दिन शेरबहादुर समर्थककै रूपमा चुनाव लडेका थिए । विमलेन्द्र र प्रकाशमानलाई जुन प्रयोजनले चुनावमा प्रतिस्पर्धा गर्न उठाइएको थियो । दुवैले त्यसैबमोजिम अन्तिम घडीमा आफ्नो रोल 'अदा' गरे ।
पाठकलाई लाग्छ होला- प्रकाशमान र विमलेन्द्र एवं देउवालाई भारतीय समर्थन थियो । सत्य के हो भने, पहिला भारतको समर्थन शेखरलाई रहेको थियो । नेपालका हिन्दुवादीहरूले (सडकमा र युट्युबमा हिन्दु धर्मका लागि विद्रुप प्रदर्शन गर्ने वर्ग होइन) केही समय पहिला भारतीय झुकाव देउवातिर मोडिदिए । शेखरले अन्तिम समयसम्म यो चाल पाएनन् । तर, एउटा राजनीतिज्ञका रूपमा उनले प्रकाशमान सिंहको उम्मेदवार हुने हठको विश्लेषण गरेको भए पासा फेरिएको अनुमान गर्नुपर्ने होइन र ?
देउवालाई सभापति 'अर्ली इलेक्सन'का लागि बनाइएको हो । नेपालमा 'अर्ली इलेक्सन" गराएर झन्डैझन्डै २ पार्टीको वर्चस्व राख्ने योजना हो । नेकपा (एस) र माओवादी केन्द्रलाई झन्डैझन्डै शून्यमा झार्ने योजना 'अर्ली इलेक्सन'ले पूरा हुने संभावना छ । नवगठित यी दुवै पार्टीलाई पहिला भएको स्थानीय निर्वाचनले पार्टी सुदृढीकरण गर्ने अवसर पाइन्छ । देउवा भर्सेस ओली, ओली भर्सेस देउवा अथवा शेरबहादुर कांग्रेस भर्सेस ओली एमाले हुनु नेपालका लागि आवश्यक छ ।
शेखरको मुखमा पुगिसकेको आहारा देउवाको मुखमा फर्काउन सजिलो नभएको भए पनि सम्पन्न भएको छ । शेरबहादुर पुनः एक पटक शेर बनेका छन् । शेर भएपछि उनले प्रकट गरेका प्रतिबद्धता के कति पूरा गर्लान्, त्यो आगामी दिनमा थाहा हुनेछ । चुनावभन्दा पहिला दिल्लीमा बसेका अघोषित शुभचिन्तक र सल्लाहकारलाई उनले के कति महत्त्व दिन्छन्, वर्तमानको सत्ता समीकरण फेर्न, 'अर्ली इलेक्सन'मा जानका साथै कार्यवाहक सभापति चयनसम्ममा उनको नियत के कति थिर अथवा चलायमान हुन्छ, त्यो समयकै गर्भमा लुकेको छ ।
यति लेखिसकेपछि शेरबहादुर देउवालाई पुन: सभापति निर्वाचित भएकामा बधाई ज्ञापन गर्ने औपचारिकता व्यक्त गर्न मन लागेन ।