लोकसंवाद संवाददाता | समाचार | बैशाख ३०, २०७६
काठमाडौं । टेकुस्थित बमवीर विकटेश्वर गुठीका पोखरी र बगैंचा मासेर निजी महल ठड्याइएका छन् । गुठियारकै मिलेमतोमा जग्गा भूमाफियाको चंगुलमा परेर व्यक्तिगत बनेको गुठीका सदस्यहरू बताउँछन् । महल बनेको ठाउँमा कुनै बेला देवतालाई जल चढाउने पोखरी थियो । कुनै ठाउँमा देवता चढाउन फूल फुलाउने बगैंचा थियो ।
स्थानीय बासिन्दाले मनोरन्जन गर्न जाने ठाउँ पनि यहीं थियो । 'खेल्ने ठाउँ यही थियो । खानेकुरा यहीं थिए,' टेकुका भूषण ब्रजाचार्यले सम्झिए, 'हामी दिनभर यहीं हराउँथ्यौं ।' उनका अनुसार बगैंचा वाग्मती किनारमै थियो । बगैंचासँगै पोखरी थियो । बगैंचा र पोखरी बमवीर विकटेश्वर गुठीअन्तर्गत थियो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका माइलो भाइ बमबहादुरले बम्वीर विकटेश्वर मन्दिर र रामजानकी मन्दिर बनाएका थिए । त्यसैका लागि उनले गुठी पनि खडा गरेका थिए ।
गुठीका सदस्य उद्धवविक्रम राणाका अनुसार बगैंचा रेखदेखका लागि गुठीले माली, बगँैचे र तलुवाको व्यवस्था गरेको थियो । काम गरेबापत उनीहरूले धान पाउँथे । तिनै कामदारलाई पछि मोहीका रूपमा खडा गरेर जग्गा हडपिएको थियो । गुठी ऐनअनुसार बगैंचा र पोखरीमा मोही लाग्दैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।