लोकसंवाद संवाददाता | समाचार | बैशाख ३०, २०७६
काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग अवैध रकम असुल्दै आएका मेडिकल कलेजविरुद्ध संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा ६० वटाभन्दा बढी उजुरी परेको छ । त्रिभुवन विश्वविद्यालय (टीयू) र काठमाडौं विश्वविद्यालय (केयू) ले सम्बन्धन दिएका अधिकांश मेडिकल कलेजविरुद्ध उजुरी परेको हो ।
समितिद्वारा गठित उपसमितिमा परेका उजुरीमा ६८ लाखसम्म शुल्क असुलेको प्रमाण पेस गरिएको छ । सबैभन्दा बढी उजुरी ललितपुरको किस्ट मेडिकल कलेजविरुद्ध छ । किस्टले अवैध शुल्क लिने गरेको, प्रयोगात्मक/आन्तरिक परीक्षामा फेल गराएको, परीक्षामा वञ्चित गराएको, मानसिक यातना दिएको, अतिरिक्त शुल्कको रसिद नदिएको, अनुगमनमा नक्कली विद्यार्थी र अभिभावक देखाउने गरेको उल्लेख छ ।
किस्टसहित केयूबाट सम्बन्धनप्राप्त कलेजले अवैध रकम उठाउन 'गुन्डा' पाल्ने गरेको समेत विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् । अधिकांश मेडिकल कलेजले चन्दा र सहयोगका नाममा रकम असुलेर राज्यलाई तिर्नुपर्ने कर छली गरेको उपसमिति संयोजक सुरेशकुमार राईले जनाए । 'सरकारले तोकेभन्दा बढी रकम कलेजहरूले चन्दा सहयोग शीर्षकमा लिएका छन्, रसिद पनि दिएका छैनन्,' उनले भने, 'कर छलेर सरकारलाई ठगी गरेको देखिन्छ ।' उनका अनुसार उजुरीमाथि उपसमितिले अध्ययन गरिरहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।