'फ्लप' सिटौलाको कार्ड : घेराबन्दीबीच कांग्रेसमा पुस्तान्तरण, सम्भव होला र रुपान्तरण ?

लोकसंवाद टिप्पणी

'फ्लप' सिटौलाको कार्ड : घेराबन्दीबीच कांग्रेसमा पुस्तान्तरण, सम्भव होला र रुपान्तरण ?

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ०२, २०७८

नेतृत्व पुस्तान्तरणको जबरजस्त एजेन्डा अघि सारेका नेताहरू अन्ततः १४ औँ महाधिवेशनबाट पार्टीको निर्णायक तहमा पुगेका छन् । पार्टीको शक्तिशाली महामन्त्री पदमा दुई युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्माको जितले कांग्रेसभित्र युवा पुस्ता अब नेतृत्वका लागि तयार भइसकेको संकेत गरेको छ । नेपाली कांग्रेसको यस पटकको महाधिवेशनमा केही फरक परिदृश्यहरू देखिए । महाधिवेशनमा दुई परम्परागत गुटमा विभाजन मात्रै भएनन्, गुटभित्रका गुट पनि विभाजित भए । सबैभन्दा बढी विभाजन त रामचन्द्र पौडेल समूहमा देखा पर्‍यो।

यही विभाजनकै कारण उनी सभापतिका उम्मेदवार बन्न सकेनन् भने उनले आफूले चाहेको उम्मेदवार उठाउन पनि पाएनन् । सभापति शेरबहादुर देउवाको संस्थापन समूहबाट अलग भएर विमलेन्द्र निधिले अलग्गै सभापतिमा उम्मेदवार बनेपछि पौडेल पक्ष एकजुट भएर देउवालाई हराउँदै नेतृत्व परिवर्तन गर्ने अवसर आएको थियो । तर पौडेल समूहमा रहेका नेता प्रकाशमान सिंह र शेखर कोइरालाको अडानका कारण त्यो सम्भव भएन ।

यद्यपि पौडेल समूहबाट सभापतिमा उम्मेदवार भएका सिंहभन्दा शेखर निकै बलिया साबित भए । उनी विजयी नभए पनि उनको समूहका उपसभापतिका उम्मेदवार धनराज गुरुङ र महामन्त्रीमा गगन थापा विजयी भए । यसबाट शेखर जबरजस्त रुपमा संस्थापन इतरको नेताका रुपमा स्थापित भएका छन् ।  सभापतिको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित कोइराला परिवारकै विपीपुत्र शशांक र गिरिजा पुत्री सुजात कोइराला शेखरको पक्षमा उभिएनन् । यति मात्रै होइन लामो समयदेखि नेतृत्व परिवर्तनको पक्षमा रहेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले दोस्रो चरणमा आफ्नो बोली फेर्दै देउवाकै पछि उभिए । जसले गर्दा शेखर सभापतिमा पराजित भए । 

सिटौलाको 'कार्ड फ्लप', पौडेलको औचित्यमा प्रश्न

कोइराला परिवारको हातमा कांग्रेसको नेतृत्व हुन्जेल निर्णायक थिए, कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेल । तर यो महाधिवेशनबाट यी दुवै नेता छायामा परेका छन् । आफ्नो समूहभित्र सभापतिको साझा उम्मेदवार तय गर्न नसकेपछि पौडेल मौन बस्न बाध्य भए । उनले महाधिवेशन प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न आग्रह गर्ने तहम पुगे । यसको प्रत्यक्ष फाइदा शेरबहादुर देउवालाई नै पुग्न गयो । 

बलियो प्यानल भोट नभएका शर्माले व्यक्तिगत जस्तो प्रयासमा नै दोस्रो मत ल्याएर सभापतिमा जितेका छन् । निर्वाचनमा बलियो प्यानल भोट रहेका गगन थापाले 'पलपुर' मत पाए पनि विश्वप्रकाश गगनभन्दा कांग्रेसमा निकै प्रभावशाली र व्यक्तिगत रुपमा बलियो भएको देखिएको छ ।

अर्कोतिर कांग्रेसको राजनीतिमा आफूलाई सधैँ निर्णायक शक्तिका रुपमा उभ्याउन चाहने कृष्णप्रसाद सिटौलाको प्रभाव पनि यस पटक देखिएन । उनकै पक्षका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले सभापतिमा विजयी शेरबहादुर देउवाको प्यानलमा परेर पनि महामन्त्रीमा निर्वाचित हुन सकेनन् । अघिल्लो महाधिवेशनमा सिटौला समूहबाट गगन थापा महामन्त्रीका उम्मेदवार थिए । उनी पराजित भए । तर यो महाधिवेशनमा सिटौलाको साथ छाडेर शेखर कोइराला प्यानलमा गएपछि सिटौलाले गगनको सेखी झार्न पनि प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका थिए ।

त्यति मात्रै होइन पौडेल देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेपछि महामन्त्रीका अर्का दाबेदार विश्वप्रकाश शर्मा मनोनयन गर्ने दिन समूह विहीन बनेका थिए । देउवा समूहमा स्थान नपाएपछि उनले शेखर कोइरालाको प्यानलबाट महामन्त्री उठ्न खोजेका थिए । तर शेखर समूहबाट गगन थापा र डा.मिनेन्द्र रिजाल उम्मेदवार बन्ने भए पनि शर्माले त्यहाँ पनि स्थान पाएनन् ।

त्यसपछि संस्थापन इतर समूहबाट पनि चोइटिएको र निकै सानो प्रकाशमान सिंह समूहबाट उनी महामन्त्रीको उम्मेदवार बने । सिंह आफैले पनि सभापतिमा धेरै मत नल्याएको, उपसभापतिकी उम्मेदवार सुजात कोइराला पनि पारित भएको अवस्थामा शर्मा पनि पराजित हुने धेरैको अनुमान थियो । करिब साढे ३ सय हाराहारीमा मत भएको सिंहको समूहबाट उम्मेदवार बन्ने शर्माको निर्णय सही रहेको साबित भएको छ ।

व्यक्तिगत रुपमा नै निकै चर्चित रहेका शर्माले १९ सय ८४ मत पाएर विजयी भए । सभापतिको निर्वाचनमा पहिलो चरणमा १७ सय मत कटाएका शेखर कोइरालाको प्यानलमा रहेका गगन थापाले ३ हजार २३ मत ल्याएर विजयी भए । तर बलियो प्यानल भोट नभएका शर्माले व्यक्तिगत जस्तो प्रयासमा नै दोस्रो मत ल्याएर सभापतिमा जितेका छन् । निर्वाचनमा बलियो प्यानल भोट रहेका गगन थापाले 'पलपुर' मत पाए पनि विश्वप्रकाश गगनभन्दा कांग्रेसमा निकै प्रभावशाली र व्यक्तिगत रुपमा बलियो भएको देखिएको छ ।

सिटौलाको योजना थापा र शर्मा दुवैलाई महामन्त्रीमा आउन नदिने थियो । आफ्नो समूह छाडेका गगनलाई र झापामा प्रतिस्पर्धीका रुपमा देखिएका शर्मालाई 'साइड' लगाउने सिटौलाको योजना महाधिवेशन प्रतिनिधिले भने असफल पारिदिएका छन् । बरु यो महाधिवेशनबाट सिटौला र रामचन्द्र पौडेलको सक्रिय राजनीतिक यात्रालाई नै थप धक्का लागेको छ । पार्टीभित्र चौतर्फी घेराबन्दीबीच विश्वप्रकाश शर्माले महामन्त्री जितेर आफ्नो लोकप्रियता पुष्टि गरेका छन् । 

दोस्रो  पुस्ताका नेताहरू संकटमा 

कांग्रेसको १४औँ महाधिवेशनले तेस्रो पुस्तालाई संकटतिर धकेलिदिएको छ । कांग्रेसमा लामो समयदेखिको नेतृत्वको जाम खोल्ने क्रममा महामन्त्रीमा दुई युवा नेता विजयी हुँदा दुई डाक्टर पराजित भए । डा.प्रकाशसरण महत र डा.मिनेन्द्र रिजालको पार्टीभित्र बलियो पकड नरहेको महाधिवेशनले देखाएको छ । सभापतिमा निर्वाचित देउवाको प्यानलमा रहेका महत तेस्रो स्तनमा रहँदा शेखर प्यानलमा रहेका रिजाल पाँचौँ बने । महामन्त्रीमा निकै कम मत पाएपछि उनले पार्टीभित्र आफ्नो जनमत कमजोर रहेको भन्दै रक्षा मन्त्रीबाट समेत राजीनामा दिएका छन् ।

उपसभापतिमा चन्द्र भण्डारी, महेश आचार्य, सुजात कोइरालाले पनि विश्वास जित्न सकेनन् । सबैभन्दा नमिठो हार चाहिँ विजयकुमार गच्छदारको भएको छ । उनी उपसभापतिमा धनराज गुरुङभन्दा जम्मा २ मतले पछि परे । यसले कांग्रेसभित्र उनको भविष्यलाई थप संकटतिर धकेलिदिएको छ । कांग्रेसबाट लामो समय क्षेत्रीय राजनीतितिर लागेका गच्छदार २०७४ को निर्वाचनअघि एमाले र माओवादी केन्द्रबीच मोर्चाबन्दी भए पनि सुरक्षा खोज्दै कांग्रेसमा नै फर्किएका थिए । ललिता निवास प्रकरणमा समेत जोडिएका गच्छदार अब पार्टीभित्र पनि कमजोर बनेका छन् । लामो समय मधेसवादी राजनीति गरेर बारम्बार सत्तामा पुगेका गच्छदार कांग्रेसमा फर्किएपछि त्यो अवसर पाएका छैनन् ।
नेपाली कांग्रेसमा सभापति दोहोरिए पनि अन्य सबै पदाधिकारी नयाँ आएका छन् । यसअघि महामन्त्री रहेका पूर्णबहादुर खड्का मात्रै उपसभापति बन्दा अन्य पदाधिकारीमा नयाँ अनुहार छन् । कांग्रेसको यो महाधिवेशनले नेतृत्वमा पाका र अनुभवी शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । यस महाधिवेशनमा शेरबहादुर देउवाले जिते पनि उनी निकट अर्थात् लामो समयसम्म संस्थापन पक्षका बलिया खम्बाका रहेका बालकृष्ण खाँड, रमेश लेखक, एनपी साउत, ज्ञानेन्द्रबहादुर कार्की नेताहरूको अस्तित्व संकटमा धकेली दिएको छ । पदाधिकारीमध्ये अधिकांशमा भने नेतृत्व परिवर्तन मात्रै नभएर पुस्तान्तरण नै देखिएको छ । पुस्तान्तरण भएको कांग्रेसको रूपान्तरणको यात्रा भने कस्तो हुन्छ हेर्न बाँकी छ ।