लोकसंवाद संवाददाता | समाचार | पुस ०७, २०७८
नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बुधबार मतदान हुने भएकाे छ । प्रदेश निर्वाचन समितिका अनुसार अब मतदान प्रक्रिया सुरु गर्न लागिएकाे हाे ।
मतदान प्रक्रिया सुरु हुने भएपछि उम्मेदवारहरू मतदातासँग भोट माग्न व्यस्त छन् । ७२ सदस्यीय प्रदेश समितिका लागि १७४ जनाको उम्मेदवारी दर्ता भएकाे छ । प्रदेश निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावलीअनुसार ७२ पदका लागि १७४ जनाको उम्मेदवारी परेको हो । ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रदेश सभापतिका लागि सभापति शेरबहादुर देउवा खेमाबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव र निधि-कोइराला समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी दिएका छन् ।
२ उपसभापतिका लागि ५ जनाको उम्मेदवारी परेकाे छ । देउवा खेमाबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखरकुमार यादव र निधि-कोइराला खेमाबाट धनलाल ठोकर र विनोदकुमार खनालले उम्मेदवारी दिएका हुन् । रामाधारप्रसाद यादवले भने स्वतन्त्र रूपमा उपसभापतिका लागि उम्मेदवारी दिएका हुन् ।
दुई महामन्त्रीका लागि पनि पाँच जनाको उम्मेदवारी परेको छ । निधि–कोइराला समूहबाट नरेश यादव र हरेश महतो र देउवा समूहबाट बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादवले उम्मेदवारी दिएका हुन् । विनोद चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
दुई सहमहामन्त्रीका लागि देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरी तथा निधी–कोइराला समूहबाट अरविन्द अमात्य र विनोद यादवले उम्मेदवारी दिएका छन् ।
महिलातर्फ एक सहमहामन्त्रीका लागि देउवा समुहबाट रीता यादव र निधि–कोइराला समूहबाट निर्मला सुवेदीले उम्मेदवारी दिएकी छिन् । त्यस्तै सहमहमन्त्री खुलाबाट दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रदेश सदस्य खुलामा १४ पदका लागि ५० जना, प्रदेश सदस्य महिला सात पदका लागि १२ जना, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट आठ पदका लागि १५ जना, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट महिला आठ पदका लागि ११ जना, प्रदेश सदस्य खस आर्य एक पदका लागि चार जना, प्रदेश सदस्य आदिवासी जनजाति खुला एक पदका लागि तीन, प्रदेश सदस्य मधेशी खुला सात पदका लागि १६, प्रदेश सदस्य मधेशी महिला ६ पदका लागि १२ जना, प्रदेश सदस्य दलित खुला तीन पदका लागि १० जना, प्रदेश सदस्य दलित महिला दुई पदका लागि पाँच, प्रदेश सदस्य खुला थारू एक पदका लागि दुई र प्रदेश सदस्य महिला थारू एक पदका लागि दुई जना, प्रदेश सदस्य मुस्लिम खुला दुई पदका लागि पाँच जना र प्रदेश सदस्य मुस्लिम महिला एक पदका लागि तीा र प्रदेश सदस्य अल्पसंख्यक अपांग एक पदका लागि चार जनाको उम्मेदवारी परेको हो ।