रूपक अलङ्कार | दृष्टिकोण | पुस ०७, २०७८
हामीलाई कक्षा १० मा कर्मकाण्ड पढाउने गुरु हुनुहुन्थ्यो- नारायण लामिछाने । उमेरले ६० काटे पनि ख्यालठट्टामा उहाँ हामीभन्दा पनि केटौले नै हुनुहुन्थ्यो । संस्कृत विद्यालयमा छात्रा हुने कुरै भएन, त्यसमा पनि कर्मकाण्ड विषय । ब्राह्मणइतरलाई के काम कर्मकाण्ड ? विवाह पद्धति पढ्दा भने झनै रमाइलो हुने भइगयो ।
दानका कुरा आउँदा गुरु भन्नुहुन्थ्यो, 'गोदान, शय्यादान, दशदान, तुलादान, कन्यादान अनि श्रीमतीदान पनि हुन्छ ।'
हामी त ट्वाँ । श्रीमती पनि दान ? गोदान गाईको पुच्छर छोएर गर्ने, कन्यादान कन्याको औँला छोएर गर्ने
अनि श्रीमतीको दान ? हामी सोधिहाल्थ्यौँ ।
'स्तनमा छोएर', गुरुले हँसाउनुहुन्थ्यो ।
हामीले एसएलसी सकेर कलेजको बाटो सुधार्यौँ । गुरुले मर्त्यलोकको भोग सकेर परलोक सुधार्नुभयो । त्यसपछि श्रीमतीको दानको प्रसंग आज सम्झँदै छु ।
शास्त्रले के भन्छ ? खोज्नै बाँकी छ । अहिलेलाई दानको मात्र कुरा गरौँ होला ।
वीरहरूको नाम लिनुपर्दा ४ किसिमका वीरहरू अगाडि आउँछन्- युद्धवीर, धर्मवीर, दानवीर र दयावीर । यसरी हेर्दा दान, दया र धर्म फरक हुन् झैँ लाग्छ । नत्र दान र दया पनि धर्मभित्रै समेटिनुपर्ने हो । दान र दया पनि धर्मकै अंग हुनुपर्ने हो अनि युद्धवीर र धर्मवीर २ किसिमका मात्र वीरको चर्चा हुनुपर्ने हो ।
अधार्मिक मानिस पनि दयालु र दानी हुन्छन् भन्न खोजेको पनि हुन सक्छ । जे होस्, मेरो यात्रा दानतिरको भएकाले म त्यतै लाग्छु ।
दान दिनुपर्छ भन्ने चेतना मानवले स्वाभाविक रूपमा विकास गरेको हुनाले यसलाई कुनैै धर्मविशेषसित जोडेर हेर्नु उपयुक्त हो जस्तो मलाई लाग्दैन । सबै धर्म, सबै संस्कृति, सबै समुदायले दानलाई उत्तिकै महत्त्व दिएका छन् । मस्जिद अगाडि बसेका माग्नेहरूलाई पनि मस्जिदबाट निस्कँदै गरेका भक्तले दान दिएका देखिन्छ । बौद्ध धर्मका श्रमणहरू पनि मागेर खानुलाई आफ्नो कर्तव्य नै ठान्छन् । यसरी संसारका जुनसुकै संस्कृतिलाई हेर्ने हो भने पनि दान कर्मलाई उपेक्षा गरिएको छैन ।
कुनै दीनदु:खीलाई देख्नेबित्तिकै मानिसको मनमा स्वाभाविक रूपले सहयोगको भावना जागिहाल्ने भएकाले धर्मभन्दा पहिले नै मानिसले दान गर्न सिक्यो होला । दान दिनु परोपकार तथा परकल्याणको कार्य भएकोे हुनाले धर्मको रूपमा दानलाई पनि समावेश गरिएको हुन सक्छ । त्यसैले दानलाई सबै धर्मले प्रमुख मानवीय कर्तव्यका रूपमा स्वीकारेका हुन् ।
दानको प्रभाव तत्कालै देखिन्छ- दान पाउने मानिस खान पाएर वा लगाउन पाएर तत्कालै खुसी हुन्छ । दिने मानिस पनि दान दिँदाको आनन्दले तत्कालै आनन्दित भइहाल्छ । यस्तो प्रत्यक्ष लाभको विषयलाई कसले परजन्मसित जोड्यो ? आश्चर्यको विषय छ ।
दान दिन भनेपछि दाँतबाट पसिना चुहाउने लोभीहरूलाई पनि दान कर्ममा प्रवृत्त गराउन यस्तो उपाय निकालिएको हो भने त्यति नराम्रो पनि होइन । दानले मानिसलाई पवित्र गराउँछ भनेर श्रीमद्भगवद्गीताले भन्छ । स्वर्ग जानका लागि होइन कि आफूलाई पवित्र बनाउनका लागि दान गर्नुपर्ने रहेछ । अपवित्र मान्छे (मुद्दा लागेको मान्छे)ले विदेशको त भिसा पाउँदैन भने स्वर्गको पाउने त कुरै भएन ।
हाम्रा शास्त्रहरूले 'सय हातले कमाऊ, हजार हातले दान गर' भनेका छन् (शत हस्त समाहर सहस्रहस्त संकिर) साथै धेरै दान गर्ने हुँदा बली पनि बाँधिए (अतिदानात् बलिर्बद्धो) भनेर अतिदानलाई निषेध पनि गरेका छन् । 'अति गरे खती हुन्छ' भन्ने त हाम्रो मान्यता नै छ । कैकेयीलाई वाक्दान दिएर दशरथ मर्कामा परेका हुन् । रन्तीदेवले त आफ्नो शरीरको मासु नै काटेर दान गर्नुपरेको थियो ।
माग्नेसित केही नभए पनि अरूलाई दिनका लाग श्राप हुने रहेछ भनेर बुझ्नुपर्छ । रावणले सीतालाई माग्ने बनेरै हरेको हो । दान नपाएकै झोँकमा दुर्वसाले श्राप दिन्छन् र पाण्डवको बर्बादी हुन्छ भनेर दुुर्याेधनले दुर्वासालाई पाण्डवको कुटीमा पठाएको हो
बिचरा कर्णले जन्मिँदै लाएर आएको कवच र कुण्डल नै दान गरेर ज्यान दाउमा लगाउनुपर्यो । औँलो दिँदा डुँडुलो निल्ने मानिस उहिले पनि थिए र अहिले पनि छन् ।
दान भन्ने कुरा करकापमा हुँदैन, स्वेच्छाले हुनुपर्छ भन्ने कुरा सर्वसिद्ध छ तर दुनियाँ सिधा बाटामा त हिँड्नेवाला छैन । दानपात्र, दानपेटिका जस्ता शब्द सुनेर हिँडेको मान्छे म । एक पटक मन्दिरमा पनि 'चन्दा बाकस' भनेर लेखेको देखेपछि दान र चन्दा एउटै रहेछ भन्ने बुझेँ । तर, देशमा त्यतिखेर माओवादीको चन्दा आतंक उग्र रूपमा चलेको थियो । माओवादीलाई चन्दा दिनभन्दा राजधानीमा डेरा गरी बस्ता सस्तो र सुरक्षित हुने आसमा गाउँ छाड्ने धेरै थिए त्यतिखेर । हामी पनि विद्यार्थी संगठनको सम्मेलनका लागि चन्दाको रसिद बुक लिएर हिँडथ्यौँ । यस्तो दान त दाताको भन्दा ग्रहिताको आग्रहमा हुने गर्दाे रहेछ ।
हुनत स्वर्गको आस र नर्कको त्रास देखाएर दानका लागि बाध्यकारी मनोविज्ञानको निर्माण गर्नु पनि एक किसिमको चन्दा आतंक नै हो । सप्ताह पुराण लगाएर साइन्स कलेज खोल्न दान जुटाउने समाजलाई नेपाली समाज भनिन्छ ।
यही नै पुराण भनेको यो हो, त्यो हो । धर्म भनेको अन्धविश्वास हो भनेर नथाक्ने मानिस पनि छन् । दान दिनेलाई दानअनुसारको माला तथा प्रमाणपत्र, अभिनन्दन, शिलालेखमा नाम जस्ता पुँजीवादी बम्पर उपहारको घोषणा गरेर दान उठाउने परंपरा पनि यहीँ छ । मागेरै राज्य चलाउने राजा पनि यहीँ भए । माग्ने कुरा त्यति सजिलो छैन भने दिने कुरा त झन् सहज छैन- चाहे त्यो शिवरात्रिमा घोटुवा बाउन होस् या चितवनमा रंगशाला बनाउन होस् ।
दान लिनु र दिनु दुवै हाम्रा संस्कृति हुन् । हुनत दान लिनेलाई भन्दा दिनेलाई महान् मान्ने चलन छ तर दिने-लिने कर्म सम्पादनका लागि दुवै पक्षको महत्त्व उत्तिकै छ । अझ कहिलेकाहीँ त दान लिने पक्ष शक्तिशाली भएको देखिन्छ । 'भिक्षा दिने भए देऊ नत्र श्राप दिन्छु' भनेर दान लिनेले दिनेलाई थर्काएको प्रसंग पुराणतिर पनि पढ्न पाइन्छ ।
माग्नेसित केही नभए पनि अरूलाई दिनका लाग श्राप हुने रहेछ भनेर बुझ्नुपर्छ । रावणले सीतालाई माग्ने बनेरै हरेको हो । दान नपाएकै झोँकमा दुर्वसाले श्राप दिन्छन् र पाण्डवको बर्बादी हुन्छ भनेर दुुर्याेधनले दुर्वासालाई पाण्डवको कुटीमा पठाएको हो ।
बेलैमा एमसीसीबारे निर्णय नगरेर अमेरिका जस्तो देशलाई नेपालले आच्छुआच्छु पारिरहेकोे छ । हेरौँ त दान लिनेको फुर्ती ! 'भिक्षां मे देही' भनेर चलेको देशले पनि दान लिन यत्रो समय लगाइरहेको छ । समाजमा मगन्तेमा नारयण जोडेर मगन्तनारायण भन्ने चलन छ । मगन्ते नभईकन दानीको मुक्ति नहुने भएका कारण दानीहरूलाई मुक्ति दिलाउने भएकाले मगन्तनारायण भनिएको हो ।