माओवादी केन्द्रको सम्मेलन: अध्यक्षमा छैन प्रतिस्पर्धा, आकांक्षी व्यवस्थापनको लागि पदको सृजना !

माओवादी केन्द्रको सम्मेलन: अध्यक्षमा छैन प्रतिस्पर्धा, आकांक्षी व्यवस्थापनको लागि पदको सृजना !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ०८, २०७८

नेकपा (माओवादी केन्द्र) को सातौं महाधिवेशनपछिको पहिलो राष्ट्रिय सम्मेलन पुस ११–१३ सम्म काठमाडौंमा हुँदैछ । माओवादीले २०६९ सालमा पार्टी विभाजित भएर मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादी बनेपछि सातौं महाधिवेशन सम्पन्न गरेको थियो । नियमित प्रक्रियाअनुसार हो भने माओवादी केन्द्रले २०७४ सालमा महाधिवेशन गरिसक्नुपर्ने थियो ।

तर विभिन्न पार्टीसँगको एकता प्रक्रियाका कारण पार्टीको वैधानिकताका लागि महाधिवेशन गर्नु परेको छैन । तत्कालीन एकीकृत नेकपा (माओवादी) सँग माओवादीबाट अलग भएका १० वटा राजनीतिक समूहसँग २०७३ सालमा एकता भयो । २०७५ मा एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले माओवादी र एमालेबीचको एकता खारेज गर्दै दुवै पार्टी पूर्ववत अवस्थामा रहने फैसला गरेपछि माओवादीले पार्टीको राष्ट्रिय सम्मेलन गर्न लागेको हो । 

नेतृत्वको दौड

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउनै लाग्दा विभिन्न पदका आकांक्षी नेताहरुको दौड सुरु भएको छ । अध्यक्षमा प्रचण्डको विकल्प अझै पनि देखिएको छैन । उनी २०४६ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन् । उनीपछि नारायणकाजी श्रेष्ठ उपाध्यक्ष बन्ने सम्भावना छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गर्न लाग्दा यसपटक २०७३ मा मोहन वैद्यबाट पार्टी फुटाएर एमाओवादीसँग एकता गरेका रामबहादुर थापा छैनन् । एमालेमा प्रवेश गरेका उनी गत मंसिरमा भएको १०औं महाधिवेशनबाट उपाध्यक्ष बनिसकेका छन् । उनीसँगै माओवादीमा फर्किएका मणि थापा पनि एमालेमा गएका छन् भने माओवादीमा वैद्य र बाबुराम भट्टराई नेतृत्वमा पार्टी विभाजन हुँदा प्रचण्डलाई साथ दिएका टोपबहादुर रायामाझी र लेखराज भट्ट एमालेको सचिव बनेका छन् । उनीहरु माओवादीमै भएको भए पनि पदाधिकारीको बलियो दाबेदार रहने पक्का नै थियो । 

नारायणकाजी श्रेष्ठ अहिले पनि अध्यक्ष प्रचण्डपछिको दाेस्राे हैसियतमा रहेका कारण उनी उपाध्यक्ष हुनेछन् । तर उनी वरिष्ठ उपाध्यक्ष हुने वा उपाध्यक्षमात्रै हुने भन्ने टुंगो लागेको छैन । तत्कालीन नेकपा (माओवादी) र नेकपा (एकताकेन्द्र) बीच एकतापछि उनी निरन्तर उपाध्यक्ष रहँदै आएका छन् । २०७५ मा एमालेसँगको एकतापछि उनी सचिवालय सदस्य तथा प्रवक्ताकाे जिम्मेवारीमा रहेका थिए  । 

अहिले माओवादीमा अध्यक्ष परिवर्तन नहुने भएका कारण त्यसभन्दा तलका पदमा नेताहरुको दौडधुप देखिन्छ । अध्यक्षपछि सबैभन्दा शक्तिशाली पद महासचिवमा कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुनको दाबी रहेको छ । यस्तै देव गुरुङ, हरिबोल गजुरेल र पम्फा भुसालको नाम पनि चर्चामा रहेको छ । 

महासचिवमा दाबी भएका तर महासचिव पाउने सम्भावना नेताहरुको दाबी उपाध्यक्षमा छ । माओवादीको पदाधिकारी कति जना हुने भन्ने टुंगो लागिसकेको छैन । तर बढीमा १२ जनासम्मको पदाधिकारी टिम बनाउने तयारी भइरहेको छ ।  माओवादीमा अध्यक्ष पछिको दोस्रो ठूलो पद हो, उपाध्यक्ष । तर कार्यकारी शक्तिका हिसाबले उपाध्यक्षमा त्यतिधेरै आकर्षण भने छैन । यो पद खासगरी पदीय रुपमा नेतृत्व व्यवस्थापनका लागि सीमित हुने देखिदै आएको छ ।

नारायणकाजी श्रेष्ठ अहिले पनि अध्यक्ष प्रचण्डपछिको दाेस्राे हैसियतमा रहेका कारण उनी उपाध्यक्ष हुनेछन् । तर उनी वरिष्ठ उपाध्यक्ष हुने वा उपाध्यक्षमात्रै हुने भन्ने टुंगो लागेको छैन । तत्कालीन नेकपा (माओवादी) र नेकपा (एकताकेन्द्र) बीच एकतापछि उनी निरन्तर उपाध्यक्ष रहँदै आएका छन् । २०७५ मा एमालेसँगको एकतापछि उनी सचिवालय सदस्य तथा प्रवक्ताकाे जिम्मेवारीमा रहेका थिए  । 

उनी माओवादीसँग एकतापछि मोहन वैद्य र बाबुराम भट्टराईपछि तेस्रो उपाध्यक्ष थिए । अहिले वैद्य र भट्टराई दुवै अलग-अलग पार्टीमा छन् । श्रेष्ठसँगै कृष्णबहादुर महरा पनि उपाध्यक्ष बन्नसक्ने सम्भावना छ । महासचिव नभएको खण्डमा उनी पनि उपाध्यक्ष बन्न सक्छन् । माओवादीको महासचिवका लागि शर्मा र पुनबीच सहमति नभएमा महरा पुनः महासचिव बन्नसक्ने सम्भावना पनि छ । उनी यसअघि पनि पार्टी महासचिव भइसकेका व्यक्ति हुन । 

महासचिवका अर्का दाबेदार हरिबोल गजुरेल हुन् । उनी यसअघि कोषाध्यक्ष भइसकेका पत्र हुन्  । त्यसैले उनको दाबी पदाधिकारीमा नै हुन्छ । उनी सकेसम्म महासचिव र नभए उपाध्यक्ष बन्न प्रयास गर्नेछन् । यद्यपि उनले आफ्नो आकांक्षाबारे मुख भने खोलेका छैनन् । 

यसैगरी ऊर्जामन्त्री समेत रहेकी स्थायी कमिटी सदस्य पम्फा भुसाल पनि महासचिवको दाबेदार हुन् । उनले आफ्नो दाबी महासचिवमा रहने आफू निकटस्थसँग बताउने गरेकी छन् । उनी माओवादीमा निकै पुरानो र महिलामा सबैभन्दा सिनियर नेतृ हुन् । यद्यपि महासचिव नपाएको अवस्थामा उपाध्यक्ष र सहमतिबाट पदाधिकारी चयनको अवस्थामा सचिव बन्नसक्ने सम्भावना पनि रहेको छ ।

माओवादीको उपाध्यक्षमा मातृका यादव र गणेश शाहको पनि दाबी छ । मातृका यादवले २०६५ मा नारायणकाजी श्रेष्ठको एकताकेन्द्रसँगको एकताबाट रुष्ट बनेका उनले नेकपा (माओवादी) ब्युँताएका थिए । करिब ८ वर्षपछि उनी २०७३ मा एकीकृत माओवादीसँग एकतामा आएका हुन् । माओवादी केन्द्रको स्थायी समितिमा रहेका र मधेशका वरिष्ठ नेता भएका कारण उनी पदाधिकारीको स्वभाविक आकांक्षीका रुपमा लिइएको छ । यद्यपि उनले कुन पदमा जाने भन्नेबारेमा अहिलेसम्म केही बताएका भने छैनन् । 

माओवादीमा पदाधिकारीमा आकांक्षीहरु धेरै देखिएका छन् । हालसम्म पदाधिकारी संख्या कति हुने भन्ने टुंगो लागिसकेको छैन । आकांक्षी व्यवस्थापनमा समस्या भएमा उपाध्यक्ष, उपमहासचिव र सचिव लगायतका पद सिर्जना गर्ने माओवादी केन्द्रले पदीय ब्यावस्थापन गर्ने  तयारी भइरहेको छ ।