भेटेरिनरी एन्ड लाइभ स्टक एसोसिएसन १० औँ केन्द्रीय महाधिवेशन काठमाडौँमा सुरु

भेटेरिनरी एन्ड लाइभ स्टक एसोसिएसन १० औँ केन्द्रीय महाधिवेशन काठमाडौँमा सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ०८, २०७८

काठमाडौँ । त्रिपुरेश्वर स्थित रहेको नेपाल पाराभेटेरिनरी एन्ड लाइभ स्टक एसोसिएसनको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, पशु विकास तथा पशु स्वास्थ्य क्षेत्रमा आएका वैज्ञानिक प्रयास र प्रविधिहरूको कार्यान्वयन पक्षमा समर्पित भई राष्ट्रको विकासका लागि द्रुत गतिले अगाडी बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

पशु स्वास्थ्य सेवामा समर्पित सम्पूर्ण पारा भेटेरिनरियन प्राविधिकहरू सचेत र सबल हुन समेत आवश्यक भएको बताउँदै मन्त्री यादवले भने, पशु सेवासँग सम्बन्धित प्राविधिक ज्ञान, सिप र अनुसन्धानको बिस्तारका लागि साधन श्रोतको उपलब्धता र परिचालनमा मन्त्रालयले आवश्यक पहल गर्ने उनले जानकारी गराए ।

मन्त्री यादवले भने, पशु स्वास्थ्य तथा पशु विकासको दृष्टिकोणले महत्त्वपूर्ण पशुपन्छीका रोग निदान प्रविधिलाई समय सापेक्ष परिष्कृत गरी अझ प्रभावकारी बनाउने समेत उनले जनाए । महत्त्वपूर्ण पशुपन्छीका सबै रोगहरूको प्रयोगशाला निदान तथा इपिडेमियोलोजिकल अन्वेषण एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगशालाहरू सँग समन्वय गरी रोग निदान, अन्वेषण तथा नियन्त्रण प्रक्रियामा एकरूपता ल्याउने मन्त्री यादवले बताए । अन्तर्राष्ट्रिय प्रयोगशाला तथा संघ संस्थाहरू सँग सहकार्य गरी राष्ट्रिय रोग निदान पद्धतिलाई सुदृढ बनाउनुका साथै जनस्वास्थ्य तथा राष्ट्रिय दृष्टिकोणबाट संवेदनशील देखिएका जैविक तत्त्वहरूको संरक्षण, संचय तथा समुचित उपयोग गर्ने व्यवस्था मिलाउन समेत आवश्यक पहल थाल्ने मन्त्री यादवले स्पष्ट पारे ।

यस महाधिवेशनले देशभरका पाराभेटेरिनरियनहरुको पेसागत हकहित संरक्षण एवं पेसामा संलग्न प्राविधिकहरूको आपसी एकता र सुमधुर सम्बन्ध विस्तारमा सहयोग पुग्ने मन्त्री यादवले बताए ।

दिगो विकास एवं समृद्ध नेपाल निर्माणमा पशु विकासको आवश्यकता, प्रविधि र प्राविधिक जनशक्तिको सक्रियता आजको अपरिहार्यता भन्ने मूल नारा रहेको सो महाधिवेशनको उद्घाटन संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले गरेका थिए ।

त्रीपुरेश्वर स्थित रहेको नेपाल पारा भेटेरिनरी एन्ड लाइभ स्टक एसोसिएसनको १० औँ केन्द्रीय महाधिवेशन बुधवार वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरको सभा हलमा सुरु भएको हो ।

पशु स्वास्थ्य तथा पशु विकासको क्षेत्रमा २०४७ सालदेखि क्रियाशील प्राविधिकहरूको साझा संस्था नेपाल पारा भेटेरिनरी एन्ड लाइभ स्टक एसोसिएसनको १० औँ केन्द्रीय महाधिवेशन  पुस ७ देखि ९ गतेसम्म चल्नेछ ।

नेपालको पशु विकास तथा स्वास्थ्यको क्षेत्रमा संलग्न करिब ३० हजार प्राविधिक जनशक्तिहरूलाई सङ्गठित र परिचालित गर्दै आएको यस एसोसिएसनको केन्द्रीय महाधिवेशनमा ७७ वटै जिल्लाबाट करिब १ हजार प्रतिनिधिहरू सहभागी हुनेछन् ।

संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव प्रमुख अतिथि रहेका सो कार्यक्रमका विशिष्ट अतिथिका रुपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव द्वय डा. गोविन्द प्रसाद शर्मा र निर दाहाल पाण्डे रहेकी थिइन् । त्यस्तै अतिथिका रुपमा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दँगाल, नेपाल भेटेरिनरी काउन्सिलका कार्यवाहक अध्यक्ष डा. स्वयम प्रकाश श्रेष्ठ लगायत कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निजी सचिव डा. दिनेश कुमार यादव रहेका थिए ।

कार्यक्रमको अध्यक्षता नेपाल पारा भेटेरिनरी एन्ड लाइभ स्टक एसोसिएसनका केन्द्रीय अध्यक्ष राम प्रसाद मेहताले गरेका थिए ।