पूर्ण ओली | दृष्टिकोण | पुस ०९, २०७८
२००७ सालदेखिको नेपालको राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको प्रमुख भूमिका रहेको कुरा निर्विवाद छ । नेपालमा जति पटक राजनीतिक परिवर्तन भए पनि छिमेकी देश भारतको स्वार्थ र सहयोगमा भएको देखिन्छ । राजनीतिक परिवर्तनले देशको आर्थिक विकासमा भने कुनै सकारात्मक परिवर्तन आउन सकेन ।
पंचायत व्यवस्थामा गरिएको विकास र उद्योगका पूर्वाधारमा कुुनै थप गरिएन बरु भएका उद्योग प्रायः सबै मास्ने काम भए । नेपाली कांग्रेसको प्रमुख कमजोरी राष्ट्रको हितलाई तिलान्जलि दिँदै छिमेकी देश भारतको अगाडि झुकेर उसैको हितमा मात्र निर्णय गर्दै आएको देखिन्छ । यसको प्रमण कोसी, गण्डकी तथा महाकाली सन्धि गरेर देशलाई घात गरिएको छ ।
जतिबेला नेपालमा राजा कमजोर हुुन्छन् र दलका नेता सक्रिय हुन्छन्, त्यतिखेर नेपालका प्रकृतिक स्रोत, साधन भारत आफ्नो हातमा पार्न प्रयासरत हुन्छ । राजाको नेतृत्वमा देश रहिन्जेल नेपालका नदी-नाला भारतले लिन प्रयास गरे पनि सफल हुन सकेको थिएन । त्यसैले भारतले आफ्नो स्वार्थमा नेपालको राजसंस्था अड्चनको रूपमा लिएको देखियो । नेपाललाई भुटानको तहमा राख्ने भारतको चाहना पनि राजाहरूको राष्ट्रिय अडानले सफल हुन सकेन । भुटानको परराष्ट्र र रक्षाको जिम्मेवारी भारतको हातमा भएजस्तै नेपाललाई पनि विभिन्न समयमा दबाब दिन भारत असफल भइरहेको थियो ।
त्यसपछि नेपालमा सुरु भएको माओवादी सशस्त्र युद्धलाई भारतले आर्थिक र हतियारको सहयोग गर्दै सरकारलाई कमजोर बनाउँदै लग्यो । जसरी भए पनि नेपालबाट राजसंस्था हटाउन प्रयास गरिरहँदा अचानक नेपालका राजा वीरेन्द्रको सम्पूर्ण परिवारको हत्या भएपछि राजसंस्था निकै कमजोर भयो ।
माओवादीलाई शान्ति सम्झौतामा ल्याउने प्रयास स्वरूप नेपालका दलहरूलाई दिल्लीमा बोलाएर भारतले १२ बुँदे सम्झौता गरायो । त्यसपछि भारत र पश्चिमाको प्रत्यक्ष सहयोग र सल्लाहमा सत्ताबाहिर रहेका दलहरूमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादीलगायतका वामपन्थीहरूको स्वार्थपूर्ण कार्यले नेपालमा गणतन्त्र आयो ।
त्यही २०६३/०६४ सालको जनआन्दोलनको फाइदा लिँदै पश्चिमा देशहरू नेपालमा धर्मनिरपेक्षता र संघीयता लाद्ने काममा भारतको सहयोगमा सफल भए ।
नेपाली जनताको चाहनाविपरीत आएको नेपालको व्यवस्था परिवर्तन (गण्तन्त्र, धर्मनिरपेक्षता र संघीयता)ले भारतीय शासक र पश्चिमाहरू खुसी भए पनि सनातनदेखिका एकताको प्रतीक राजसंस्था र वैदिक सनातन धर्मलाई हटाएपछि नेपाली जनता निराश भए ।
गरिब बेरोजगार लाखौँ युवाहरू खाडी मुलुक जान बाध्य भए । केही हुनेखाने र मध्यम वर्गीयहरू निजी शिक्षण संस्थामा अध्ययन गर्न अवसर पाउनेहरू विकसित देशमा अध्ययन र रोजगारीमा जाने पनि लाखौँ नै भइसकेका छन्
केही समयभित्र लाखौँ गरिब नेपालीलाई क्रिश्चियन बनाउन पनि विदेशीको भत्ता खाने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका एजेन्टहरू सफल भए । देशमा भएका उद्योगहरू मासिए तर नयाँ उद्योगहरू खोलिएन । खोलिए पनि केही ठूला धनाढ्यहरूले खोलेका निजी मेडिकल कलेज र शिक्षण संस्था तथा बैंकहरू खुले । त्यसमा सर्वसाधारण जनताभन्दा हुनेखाने केही व्यक्तिहरूले मात्र लगानी गर्ने अवसर पाए ।
यस्ता उद्योगहरूमा प्रायः ठूला नेता र तस्कर तथा भ्रष्टाचारको कालो धनको लगानी नै धैरै छ । गरिब बेरोजगार लाखौँ युवाहरू खाडी मुलुक जान बाध्य भए । केही हुनेखाने र मध्यम वर्गीयहरू निजी शिक्षण संस्थामा अध्ययन गर्न अवसर पाउनेहरू विकसित देशमा अध्ययन र रोजगारीमा जाने पनि लाखौँ नै भइसकेका छन् ।
अहिले ठूला दलहरूको महाधिवेशनबाट नयाँ नेतृत्वहरू आउन थालेका छन् । त्यसमा प्रमुख रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आएको नयाँ नेतृत्वले राजसंस्था र सनातनदेखिको वैदिक धर्मको चाहना गर्नेलाई निकै ठूलो हौसला मिलेको छ । अर्को प्रजातन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसको महाधिवेशनमा केही जोसिला र आसलाग्दा युुवा नेताहरू विजय भए पनि सभापतिमा उनै अत्यन्त अलोकप्रिय नेता शेरबहादुर देउवा विजय भएकाले जनताले सोचेजस्तो परिवर्तन आउन सक्ने देखिँदैन ।
केही पदाधिकारी र सदस्यहरू पैसा र शक्तिको बलमा निर्वाचित भएका पनि प्रस्ट देखियो । नेपाली कांग्रेस आफ्नो स्थापनाकालको नीति र सिद्धान्तबाट बाहिर आइसकेको छ । महामानव नेता बीपी कोइरालाको नीति र विचारलाई पूरा किनारा लगाइएको छ । ८ वर्ष राजाले जेल हालेका बीपी स्वयं ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्थे । बीपीका भाइ अदूरदर्शी नेता गिरिजाप्रसादले विदेशीको प्रभाव र माओवादीहरूको दबाब तथा नेपालको राष्ट्रपति हुने लोभमा राजसंस्था हटाएर गणतन्त्र र धर्मनिरपेक्षता स्थापना गरेपछि नेपाली कांग्रेस आफ्नो नीति र सिद्धान्तबाट च्युत भइसकेको छ ।
अहिलेका कार्यकर्तामा गिरिजाप्रसादबाट दीक्षित भएकाहरूको बाहुल्य छ । त्यसैले पनि नेपाली जनताले सोचेजस्तो राष्ट्रियताको संरक्षण, नेपाली जनताका हितमा विकास गर्ने तथा युवाहरूलाई स्वदेशमा रोजगार दिलाउने ठोस कार्यहरू नेपाली कांग्रेसबाट हुने लक्षण देखिँदैन । कांग्रेसले देशको हितभन्दा भारतलगायत विदेशीको इच्छाबमोजिम मात्र कार्य गर्छ भन्ने विषय अमेरिकी सहयोगमा आएको एमसीसी बिनाअध्ययन संसदबाट पास गराउन एकोहोरो लागेको बाट पनि थाहा हुन्छ ।
अहिले निर्बाचनबाट चुनाव जितेर आएका युवा नेता गगन थापाले एमसीसी छाती ठोकेर पास गरिन्छ भनेर अभिव्यक्ति दिएको सुनिनुु देशको दुर्भाग्य हो । यस विषयमा राम्रोसँग अध्ययन गरेर त्यसमा भएका केही राष्ट्रघाति बुँदाहरू हटाउने प्रयास गर्ने या एमसीसी खारेज गर्नु देशको हितमा हुनेछ भनेर प्रायः सबै दलहरू र जनता लागिरहेका छन् । अरूको देशको सहयोग राष्ट्रघात हुने किसिमका शर्तसहित लिनुु कुनै पनि हालतमा स्वीकार्य छैन । हामीले आफ्नो खुट्टामा आफैँ उभिने प्रयास गर्नुपर्छ । कृषि उत्पादनमा आत्मनिर्भर हुनेतर्फ नेपाली कांग्रेसले नीति लिन सक्नुपर्छ ।
राष्ट्रियतामा कमजोर देखिएको नेपाली कांग्रेस अझै पनि नसुध्रिने हो भने जतिसुकै युवा नेता नेतृत्वमा आए पनि देशको हित हुनेछैन । नेपालका नदी-नाला र प्राकृतिक स्रोत, साधन प्रायः सबै भारतको नियन्त्रणमा गइसकेका छन् । नेपाली कांग्रेसले विगतमा गरेका राष्ट्रघाती कदमहरूलाई सच्याउन र अब बाँकी रहेका प्राकृतिक स्रोत बचाउन अहिलेका नयाँ युवा नेतृत्वहरूले प्रयास गर्नै पर्छ । अन्यथा, भविष्यमा हाम्रा युवाहरूले देश विकास गर्न चाहे पनि गर्न सक्दैनन् । किनकि, आफ्ना देशका कच्चा पदार्थको रूपमा रहेका नदी-नाला, जडिबुटी तथा खनिज पदार्थ सबै विदेशीको हातमा परिसकेका हुनेछन् ।
त्यसैले राष्ट्रियता र जनजीविकाको विषयमा नेपाली कांग्रेसले नयाँ नीति ल्याओस् । अब पनि भारत र पश्चिमाको दासत्व स्वीकार गरेर उनीहरूकै खातिरदारी गर्दै नेपाली जनताको इच्छाविरुद्ध कार्य गरेमा कांग्रेसको भविष्य सकिनेछ । त्यसपछि राजेन्द्र लिङ्देनको राप्रपा र उनको विचारसँग मिल्ने दल तथा समूहले एकताको प्रतीक राजसंस्था र सनातनदेखिको वैदिक धर्मलाई साथ लिएर सबै नेपालीलाई एकाकार गरी देश विकासमा जनता अघि बढ्नेछन् । त्यसमा भ्रष्टाचारलाई निर्मूल पार्ने, कृषि उत्पादनमा आत्मनिर्भर बनाउने, राष्ट्रियतालाई मजबुत पार्ने तथा युवाहरूलाई स्वदेशमा रोजगार उपलब्ध गराउने प्रमुख एजेण्डा रहनेछन् ।