लोकसंवाद संवाददाता | समाचार | पुस ०८, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा जीत हासिल गरेका छन् ।
विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी आएका सुनिलकुमार थापासहित ६ जना नवप्रवेशी केन्द्रीय समितिमा विजयी भएका हुन् ।
३० असोज २०७४ मा कांग्रेससँग पार्टी समायोजन गरेका गच्छदार स्वयं उपसभापतिमा २ मतले धनराज गुरुङसँग पराजित भए पनि उनीसँग आएका ५ जना भने केन्द्रीय समितिमा विजयी हुन सफल भएका छन् । लोकतान्त्रिक फोरमबाट कांग्रेस भएका गोपाल दहित, गणेश लामा, रामजनम चौधरी, योगेन्द्र चौधरी र कल्पना चौधरी केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका हुन् ।
केन्द्रीय समितिका लागि खुलातर्फबाट उम्मेदवारी दिएका दहित एक हजार ७१० र लामाले एक हजार ७८२ मत ल्याए । रामजनम चौधरी थारू खुला कोटातर्फबाट २ हजार ५०३ र योगेन्द्र चौधरीले २ हजार १९८ मत प्राप्त गरी केन्द्रीय समितिमा पुग्न सफल भएका छन् ।
यसैगरी थारू महिला कोटातर्फबाट २ हजार ५२४ मतसहित कल्पना चौधरी केन्द्रीय समितिमा विजयी हुँदा गच्छदारसहित तत्कालीन लोकतान्त्रिक फोरमका शिवकुमार गुर्मछान र गीता चौधरी प्रतिस्पर्धामा उत्रिए पनि केन्द्रीय समिति सदस्य बन्न असफल रहे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिल थापा पनि केन्द्रीय समितिमा सदस्यमा खुलातर्फबाट विजयी भएका छन् । १३ साउन २०७७ मा कांग्रेस प्रवेश गरेका थापालाई २८ कात्तिकमा सहमहामन्त्रीको जिम्मेवारी दिइएको थियो । हालै सम्पन्न महाधिवेशनमा खुला केन्द्रीय सदस्यको कोटाबाट उम्मेदवार भएका थापा २ हजार ४७२ मतसहित विजयी भएका हुन् ।
राप्रपा परित्याग गरी आएकामध्ये २८ कात्तिकमा केन्द्रीय सदस्यमा मनोनीत भएका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरी, टीएन योगी, दिलीप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई सभापतिले मनोनीत गरेर केन्द्रीय समितिमा ल्याउने बुझिएको छ ।