ज्ञानमित्र | दृष्टिकोण | पुस ११, २०७८
फेसबुक हेर्दै थिएँ । एक जना मित्र छन् यस भर्चुअल प्लेटफार्ममा । उनको पोस्ट पढेँ- 'पुत्रीद्वयलाई न क्रिश्चियन, न मुस्लिम, न बौद्ध, न त हिन्दु केही बनाउन मन छैन । मात्र सग्लो र अखण्ड मानव बनाउन मन छ ।'
उनी कुनै 'विश्व दर्शन अभियान नेपाल'का चेयरपर्सन रहेछन् । आफ्ना अन्य पोस्टमा भने उनी देवघाटको कन्या गुरुकुलको हिमायती बनी लेख्छन्, 'देवघाटमा सबै जातका छोरीलाई कन्या गुरुकुल सुरु भइसकेका छन् । न ज्ञान, नसिप, न त संस्कार, केही नदिने स्कुलभन्दा त गुरुकुल पो ठीक लाग्यो ।'
यी मित्रलाई थाहा रहेनछ कि देवघाटका गुरुकुलले हिन्दु धर्म-संस्कृतिको परंपराअनुसार शिक्षण दिन्छन् । कथं कदाचित यिनले आफ्ना छोरीलाई शिक्षा हेतु त्यहाँ पठाए भने छोरीको हिन्दु धर्ममा पारंगत हुने तीव्र संभावना हुन्छ । हिन्दु धर्म, संस्कृति, आचार-विचार, व्यवहारमा पारंगत हुँदा यिनको मान्यताअनुसारको मात्र सग्लो र अखण्ड मानव बन्ने संभावनामा तुषारापात हुन्छ किनकि यिनको धारणामा हिन्दु हुनु अखण्ड मानव हुनु होइन ।
मैले यस्तो गलत धारणा हिन्दु धर्मावलम्बीबाहेक अन्य कसैमा पाएको छैन । अन्य सबै धर्मका विश्वासीहरूले आफ्नो धर्मलाई नै श्रेष्ठ, मानव कल्याणकारी ठान्छन् ।
के तपाईंहरूले हिन्दुबाहेक अन्य कुनै धर्मावलम्बीले आफ्ना छोराछोरीलाई सग्लो र अखण्ड मानव बनाउने घोषणा गरेको सुन्नु भएको छ ? विश्वका २ ठूला धर्म क्रिश्चियन र मुस्लिमले मानव र मानवता आफ्नो धर्ममा आबद्ध हुनुलाई मात्र ठान्छन् । उनीहरू विश्वलाई नै मानव बनाउने र मानवताको पाठ सिकाउने उद्देश्य राखेर धर्मान्तरण जस्तो पवित्र कार्यमा लागेका छन् । उनीहरूका लागि उनीहरूका छोराछोरीले आफू जन्मेको धर्ममा आबद्ध रही रहनु नै मानव हुनु र मानवता धर्मको पालना गर्नु हो । बाँकी मानवता धर्मको करुणावश नानाथरिको प्रपंच गरी उनीहरू अन्य धर्मका मानिसलाई आफ्नो धर्ममा ल्याएर मानव बनाउने महान् कार्यमा लागेका छन् । नेपाल धर्मनिरपेक्ष भएपछि लाखौँ नेपालीलाई उनीहरूले 'मानव' बनाइसकेका छन् ।
एक जना अर्का मित्रले क्रिसमसको उपलक्ष्यमा कुनै स्कुलले सानासाना बालबालिकालाई जोकर बनाएर गरेको कार्यक्रमको फोटो पोस्ट गर्दै लेख्नुभयो, 'अ पिक्चर स्पिक्स इटसेल्फ । इम्पोर्टेड रिलिजन इज प्रिभेलेन्ट थ्रोआउट दि कन्ट्री । एण्ड इट्स दि भ्यू ह्वाट आई ह्याभ सिन फ्रम माई टेरेस । एरोजन एण्ड डिकेइङ अफ नेप्लिज इण्डिजििनअस रिलिजन्स एण्ड कल्चर्स एट दि मोमेन्ट ।'
अर्थात् 'तस्बीर आफैँ बोल्छ । आयातीत धर्म देशभर फैलिइरहेको छ । म मेरो बार्दलीबाट देखिरहेको छु कि यस बेला नेपाली जातीय धर्म र संस्कृतिमा स्खलन र क्षयीकरण भइरहेको छ ।'
उहाँसँग सोध्न मन लाग्यो- 'तपाईंका छोराछोरी कस्तो स्कुलमा पढ्दै छन् अथवा पढे ? यस्तै जोकर बनाउने स्कुलमा होइन ? किनकि सबैको मान्यतामा यस्तै स्कुलमा राम्रो शिक्षण हुन्छ ।'
केही पहिलाको कुरा हो, एक जना मित्रले सोधे, 'लौ न सेन्ट मेरिज स्कुलमा एड्मिसन गराउने कुनै उपाय छैन ? छोरीलाई भर्ना गराउनुपर्यो ।'
ती मित्र धर्मनिरपेक्षताविरुद्ध हिन्दु धर्म पुनर्स्थापित हुनुपर्छ भन्ने अभियानका यशस्वी अभियन्ता थिए ।
अचम्म लाग्यो, सोधेँ, 'तपाईं हिन्दु धर्म हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ होइन ? अनि, छोरीलाई त्यस क्रिश्चियन स्कुलमा किन पढाउने ?'
करोडौँ हिन्दु जस्तै उहाँको जबाफ थियो, 'छोरीको भविष्यको कुरा हो । फेरि स्कुल सस्तो छ, पढाइ राम्रो छ ।'
म सोच्दै थिएँ- कुनै नेपाली गाउँमा त्यहाँका बासिन्दा खाद्यान्नका लागि, औषधिका लागि, केही हजार अर्थलाभका लागि, शिक्षाका लागि, जागिरको प्रलोभनमा अथवा विदेश पुग्ने लालसामा आफ्नो धर्म त्याग्न तत्पर हुनु र यी मित्रमा के भिन्नता छ ?
वामपन्थ भन्नुहोस्, प्रगतिशील भन्नुहोस्, लिबरल भन्नुहोस्, समाजवादी भन्नुहोस्, मानवता भन्नुहोस्, यी सबैको उद्देश्य हिन्दु धर्म-संस्कृतिलाई सखाप बनाउनु हो । नेपालमा यी शक्तिले नै राज गरिरहेका छन् । आम हिन्दू छोराछोरीको भविष्य र उच्चशिक्षा एवं विभिन्न प्रलोभनवश कुनै सेन्ट मेरिज स्कुल, आईएनजीओ अथवा धर्म रूपान्तरण गर्ने छद्म उद्देश्य राखेर सामाजिक कार्य गरिरहेका संस्थाको चक्कर लगाइरहेको छ भने केही कूटिल हिन्दुहरू अवसान भइसकेको राजतन्त्रको बहाली गर्ने र गराउने स्वप्नमा हिन्दु धर्मको झण्डा उचालेर राजनीति गरिरहेका छन् ।
भर्खरै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले नयाँ अध्यक्ष चुन्यो । तुलनात्मक रूपमा अन्य राजनीतिकर्मीभन्दा स्वच्छ छवि भएका राजेन्द्र लिङ्देनको जीतले दरबार निकटका शुभचिन्तकहरूमा बडो जोश देखियो । मानौँ, आउने निर्वाचनमा कुनै ठूलो कमाल हुन्छ । हुन सके त राम्रै भन्नुपर्छ तर लिङ्देनले झापाको आफ्नो सिटबाहेक अन्य कहीँबाट राप्रपाको संख्या वृद्धि गर्न सक्लान् जस्तो माहोल निकटको निर्वाचनमा बन्ने छाँटकाँट देखिँदैन ।
अहिले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको सबैभन्दा ठूलो हिमायती नै नेपाली कांग्रेस बनेको छ । नेपाली कांग्रेस कम्युनिस्टहरू छिन्नभिन्न हुँदैमा मख्ख छ । यति हुँदा नै आफ्नो बहुमत पुग्छ भन्ने आत्मरतिमा निमग्न कांग्रेसबाट बीपीको समाजवादको शव बोकिरहनेबाहेक अन्य केही अपेक्षा गर्न सकिँदैन
आउने निर्वाचनमा शेरबहादुर देउवाको कांग्रेस र केपी शर्मा ओलीको एमालेबीच नै प्रमुख प्रतिस्पर्धा हुन्छ । माधव नेपालको दल र पुष्पकमल दहालको दलबीच आपसी प्रतिस्पर्धा यस कुरामा हुन्छ कि कसले ओलीको दललाई बढी ठाउँमा पराजित गराउने सफलता पाउँछ । जीवन-मरणको प्रश्न भने माओवादीहरूका लागि हुन्छ आगामी निर्वाचन । गत निर्वाचनमा ओलीको बुइ चढेर प्रत्यक्षतर्फ ३६ सिट जित्न सफल उसले यस पटक २ अंकको सिमाना पनि छुन्छ कि छुँदैन ।
गत निर्वाचनमा समानुपातिकतर्फ १३.६६ प्रतिशत अर्थात् १३ लाख ३ हजार ७२१ मत पाएर १७ सिट पाएको माओवादीले यस पटक कति मत बटुल्न सफलता पाउँछ ?
एमालेले गत निर्वाचनमा प्रत्यक्षतर्फ ८० सिट जितेको थियो । समानुपातिकतर्फ ३३.२५ प्रतिशत अर्थात् सर्वाधिक ३१ लाख ७३ हजार ४९४ मत पाएर ४१ सिट कब्जा गरेको थियो । माधव नेपाललाई प्रत्यक्षतर्फ ओलीको कति सिट घटाउने चुनौतीका साथसाथै समानुपातिकतर्फ आफ्नो चुनाव चिह्नमा कति भोट तान्न सक्ने भन्ने चुनौती रहन्छ ।
आजकै जस्तो अवस्थामा चुनाव हुने हो भने माधव नेपालको नेकपा (एकीकृत समाजवादी)ले ओलीलाई प्रत्यक्षतर्फ ३०-३५ सिटमा झड्का दिन्छ । यसमध्ये थोरै सिटमा उसले विजय हात पार्छ कि वा उसको गति पनि वामदेवको मालेको २०५६ सालको आमचुनावकै सरह हुन्छ, त्यो निर्वाचनको अन्तिम परिणाम नआएसम्म भन्न सकिँदैन । समानुपातिकतर्फ माधवले ८-१० लाख भोट लैजाने अपेक्षा गर्न सकिन्छ ।
माधव र प्रचण्डले ओलीलाई परास्त गर्न सकेको सिट र स्वयं प्रचण्डले पराजय भोगेको सिट दुवै नेपाली कांग्रेसको खातामा समावेश भए पनि प्रत्यक्षतर्फ २३ सिट भएको कांग्रेस बढीमा ८०-८५ सिटसम्म पुग्छ । समानुपातिकतर्फ आफ्ना भोट सुरक्षित राखे पनि त्यसबाट आउने सिट ४०-४२ हुन्छन् । यति हुँदा पनि कांग्रेस बहुमतबाट १५-२० सिट टाढै रहन्छ ।
नेपाली कांग्रेसबाट आगामी चुनावमा बहुमत ल्याउने थप केही प्रयास हुन्छन् भन्ने आशा गर्ने ठाउँ नै छैन । जस्ताको त्यस्तै अवस्थामा चुनाव हुँदा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुनुबाहेक अर्को कुनै चमत्कार गर्न सक्दैन ।
राजनीतिका खप्पिस खेलाड़ी ओलीको मनमा के चलिरहेको छ, त्यसको छनक अहिलेसम्म सार्वजनिक भएको छैन । यति त उनलाई पनि थाहा छ कि केही नयाँ कुरा, नयाँ आशा, नयाँ स्वप्न नझारीकन निर्वाचनमा जाने हो भने उनले 'सेकेण्ड लार्जेस्ट' पार्टीको हैसियतमा खुम्चिनुपर्ने हुन्छ ।
पंक्तिकारलाई कुनै अचम्म हुनेछैन यदि निर्वाचनभन्दा पहिला ओलीले हिन्दु कार्ड फ्याँके भने । राप्रपा र रवीन्द्र मिश्रसँग चुनावी एकता गर्न सक्छन् । धर्मनिरपेक्षताका विरुद्ध हिन्दु राष्ट्रको नाममा नेपाली जनताले ओलीको विश्वास नगर्ने कुनै कुरा छैन । भारतको एनडीए जस्तै यदि ओलीले मोर्चा बनाउन सके भने निर्वाचनको परिणाम उनकै पक्षमा जानबाट कसैले रोक्न सक्दैन ।
प्रश्न उठ्छ- के नेपाली कांग्रेसले यसो गर्न सक्दैन ?
शेरबहादुरसँग यस कुराको आस छैन । उनी 'आर्म चेयर पोलिटिसियन' हुन् । उनीबाट परिवर्तन अथवा नयाँ विचारको नेतृत्व गर्ने आस गर्नु आफ्नै स्वास्थ्यका लागि हानिकारक साबित हुन्छ ।
अहिले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको सबैभन्दा ठूलो हिमायती नै नेपाली कांग्रेस बनेको छ । नेपाली कांग्रेस कम्युनिस्टहरू छिन्नभिन्न हुँदैमा मख्ख छ । यति हुँदा नै आफ्नो बहुमत पुग्छ भन्ने आत्मरतिमा निमग्न कांग्रेसबाट बीपीको समाजवादको शव बोकिरहनेबाहेक अन्य केही अपेक्षा गर्न सकिँदैन । आगामी निर्वाचनभन्दा पहिला ओलीबाट आफूलाई 'कन्जर्भेटिभ' कित्ताको घोषणा गर्ने साहस सार्वजनिक हुन्छ कि हुँदैन, त्यसले आगामी चुनावको रूपरेखा निर्धारित गर्छ अन्यथा त 'हङ्ग पार्लियामेन्ट' आउनु निश्चित छ ।