लोकसंवाद संवाददाता | समाचार | बैशाख ३०, २०७६
म्यानमार । विमानको अगाडिको चक्का नखुलेकै अवस्थामा विमानचालकले एक यात्रुवाहक जेट बिमान सुरक्षित रूपमा अवतरण गराएका छन् ।
यानमारको म्यान्डम विमानस्थलमा म्यानमार नेसनल एयरलाइन्सको इम्ब्राअर १९० मोडलको विमानलाई क्याप्टेन म्यान मो अङले सफल रूपमा अवतरण गराएर दुर्घटनाबाट जोगाएका छन् । विमान धावनमार्गमा रोकिनुअघि धावनमार्गमा २५ सेकेन्ड घिस्रिएको थियो ।
एअरलाइन्सका अनुसार विमान अवतरण गर्नुअघि क्याप्टेन अङले विमानस्थलमाथि विमानलाई दुई फन्को घुमाएका थिए। यस्तै, विमानको तौल घटाउन धेरै इन्धनलाई आकाशमै खपत गराइएको विमानसेवाको भनाइ छ ।
याङ्गुनबाट म्यान्डलेका लागि उडेको उक्त विमानमा ८९ यात्रु सवार थिए ।
विमानलाई कुशलतापूर्वक अवतरण गराएकोमा विमानचालकको प्रशंसा गरिएको छ। ‘विमानचालकले गज्जबको काम गरेका छन्,’ म्यानमारका यातायातमन्त्री विन खान्तले समाचार संस्था रोएटर्सलाई भने ।
यो समाचार बिबिसीबाट साभार गरिएको हो ।