लोकसंवाद संवाददाता | समाचार | बैशाख ३०, २०७६
ब्रिटेनको प्रधानमन्त्री टेरेजा मे को संकट बढ्ने संकेत देखिएको छ । कंजरभेटिभ पार्टीका वरिष्ठ नेताका अनुसार प्रधानमन्त्री टेरेजा मे ले आगामी साता पदबाट राजीनामा घोषणा गर्न सक्ने अनुमान छ ।
काठमाडौं, एजेन्सी । ब्रिटेनमा गरिएको ओपनियन पोलले ब्रिटेनको सत्तासिन कंजरभेटिभ पार्टीको लोकप्रियतामा १० प्रतिशत भोटले कमी आएको देखाएको छ । यसले सत्तारुढ दलको लोकप्रियतालाई पाँचौ स्थानमा धकेलेको छ ।
युरोपियन युनियनको मे २३ मा हुने निर्वाचनमा यो नतिजाले प्रधानमन्त्री टेरेजा मे को संकट बढ्ने संकेत देखिएको छ । जसका कारण टेरेजा मे लाई प्रधानमन्त्री पद छोड्न नैतिक दवाव पर्न जानेछ । कंजरभेटिभ पार्टीका वरिष्ठ नेताका अनुसार प्रधानमन्त्री टेरेजा मे ले आगामी साता पदबाट राजीनामा घोषणा गर्न सक्ने अनुमान समेत गरिएको छ ।
टाइम्स पत्रिकाले गराएको ओपनियन पोलमा निगेल फेराजले नेतृत्व गरेको ब्रेक्जिट पार्टी सबैभन्दा लोकप्रिय पार्टीमा उक्लिएको छ । उसलाई ३४ प्रतिशत जनताले मन पराएका छन् ।
विपक्षी लेबर पार्टीलाई १६ प्रतिशत जनताले मन पराएका छन् भने लिबरल डेमोक्रेटिक पार्टीलाई १५ प्रतिशत जनताले मन पराएका छन् । लिबरल डेमोक्रेटिक पार्टी बेलायत युरोपियन युनियनमा रहनुपर्छ भन्ने पार्टी हो । ग्रींस पार्टीलाई ११ प्रतिशत जनताले मन पराएका छन् ।
ब्रेक्जिट पार्टीको लोकप्रियता बढ्नुका कारणबारे फेराजले भने, मानिसहरु एक लोकतान्त्रिक देशमा बस्न चाहन्छन् । उनको पार्टीको गठन यसै वर्ष जनवरीमा भएको हो ।
करिब तीन वर्ष पहिले भएको जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट बाहिर बस्नुपर्छ भन्ने धारणाले बहुमत प्राप्त गरेको थियो । तर अहिले पनि ब्रिटिश नेताहरु बेलायत इयुमा रहने, नरहने भन्ने विषयमा एकमत छैनन् । बाहिर नै बसेपनि कसरी र कहिले भन्ने सवाल अर्को गाँठो परेको विषय हो ।
ब्रिटेन गत मार्च २९ मै इयुबाट बाहिर हुनुपर्ने हो तर संसदले अनुमति नदिएका कारण अक्टोबरसम्मको समयसीमा तोकिएको छ ।
इयुबाट बेलायत हट्नुपर्छ भन्ने तीन वर्ष अघिको जनमत अहिले ४ प्रतिशत घटेर ४८ प्रतिशतमा झरेको छ । त्यसबखत यस किसिमको जनमत ५२ प्रतिशत थियो ।