लोकसंवाद संवाददाता | समाचार | पुस ११, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देश र जनताका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)को आइतबारदेखि सुरु भएको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विचार र एजेण्डा फरक भए पनि देश र जनताका लागि अझै दलीय एकता आवश्यक रहेको बताएका हुन् ।
कानुन र विधिको पालना गरेर अघि बढेमा देश समृद्ध हुने भन्दै उनले नेता विधि र कानुनमा बाँधिन नचाहने भएकाले अस्थिरता निम्तिएको आरोप लगाए ।
राष्ट्रियताको सवालमा विमति राख्नु नपर्ने भन्दै उनले कुनै व्यक्ति र वंशको तानाशाही अस्वीकार्य रहेको बताए । व्यक्ति र वंशको तानाशाहीसँग जुधेर लोकतन्त्र ल्याएको भन्दै उनले सबैप्रति सम्मान भाव राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
अत्याचार, असमानता, विभेद अन्त्य गरेर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष नेपालले जनताको विश्वास जित्न सक्नुपर्ने बताए ।
‘कुराले मात्र जनताको मन जित्न सकिँदैन । काम गरेर देखाउनुपर्छ । यसका लागि दलहरूबीच, नेताहरूबीच छलफल गर्नुपर्छ’, उनले भने ।
संसदभित्र र संसदबाहिर रहेका दल र बुद्धिजीवीहरूबीच छलफल चलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका उनले अन्यथा देशले समृद्धि हासिल गर्न नसक्ने बताए ।
सक्षम जनशक्ति र साधन-स्रोत भएमा देशको समृद्धि संभव रहेको भन्दै उनले भ्रष्टाचार अन्त्य नगरेसम्म देशको समृद्धि हासिल गर्न गाह्रो हुने बताए । देश र जनताको समस्याका बारेमा नेताहरूको ध्यान जानुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।