लोकसंवाद संवाददाता | समाचार | पुस १२, २०७८
नेपालीमा एउटा उखान छ-'काशी जानु कुतीको बाटो ।' माओवादीमा पछिल्लो डेढ दशकदेखि यो उखान ठ्याक्कै लागू गरिरहेको छ । माओवादीले आफूलाई क्रान्तिकारी र देशको आमूल परिवर्तनकारी शक्तिका रुपमा ब्याख्या गर्ने गर्दछ ।
अहिले आएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीजस्ता उपलब्धी पनि १० वर्षे जनयुद्धको परिणाम भएको दाबी गर्दै आएको छ । त्यतिमात्रै होइन आफूलाई समाजवादी शक्तिका रुपमा समेत ब्याख्या गर्ने गरेको छ । तर माओवादी नेताहरुको बेलाबेलाको अभिव्यक्ति सुन्दा त्यहाँ रहेको राजनीतिक वैचारिक अस्पष्टता, दुविधा र भ्रम प्रष्ट झल्किन्छ ।
जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आउनुअघिदेखि नै माओवादीमा वैचारिक स्खलनको यात्रा सुरु भएको पाइन्छ । जुन आजपर्यन्त जारी छ । माओवादीहरुले माओवादलाई माक्सवाद र लेलिनवादको विकसित वैचारिक दृष्टिकोणका रुपमा बुझ्ने गर्छन् । माओत्से तुङले चीनमा क्रान्ति सम्पन्न गर्ने क्रममा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा योगदान गरे ।
जसलाई माओवादीहरुले आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा ब्याख्या गर्दै आएका छन् । तर माओवादी केन्द्रले २०६५ मा नै माओवाद छाडेर माओ विचार भन्दै आएको थियो । २०७५ मा एमालेसँग एकता गर्दै त्यही माओ विचारधारा समेत छाड्यो र माक्र्सवाद र लेलिनवादमात्रैमा सीमित भयो । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको एकता गल्ती नभएको दाबी गरेका छन् ।
त्यसो त प्रचण्डले २०७५ मा एमालेसँग एकता हुनुभन्दा केही अघिसम्म र २३ फागुन, २०७७ मा एमाले र माओवादी सर्वोच्चको फैसलाबाट अलग भएपछि पनि एमालेलाई प्रतिगामी शक्तिका रुपमा ब्याख्या गर्दै आएका छन् । यदी उनले भनेको त्यही कुरा सही हो भने एमालेसँगै एकता गर्ने उनी प्रतिगामी हुन् कि हैनन् ? यो प्रश्नको जवाफ प्रचण्डले दिएका छैनन् । कम्युनिस्ट पार्टी एकताका लागि राजनीतिक, वैचारिक दृष्टिकोण, राजनीतिक कार्यदिशा र कार्यनीतिहरु एउटै हुन आवश्यक छ ।
माओवादीमा भावी नेताका रुपमा हेरिएका जनार्दन शर्माले प्रचण्डपथ छाडेर गल्ती गरेको र यहीबाट पार्टीमा नेतृत्वको अग्राधिकार गुम्दा पार्टी कमजोर बनेको बताउँदै आएका छन् । प्रचण्ड भने समाजवादको यात्रामा एमालेसँगको एकता सही भएको विश्लेषण गर्दैछन् । के प्रचण्डपथसहित एमालेसँग एकता सम्भव छ ?
विगतमा पनि माओवादीले एमालेसँग यी कुनै कुरामा एउटै विचार तयार नगरीकन एकता गरेको थियो । जसको परिणाम के भयो हामी सबैका अघि छर्लङ्ग छ । प्रचण्डले आफूले जे गरे पनि क्रान्तिकारी हुने र अरुले जे गरे पनि प्रतिगामी हुने जुन मानक बनाएका छन्, त्यो करिब करिब भत्किएको अवस्था छ । माओवादीमा आएको वैचारिक विचलनकै परिणामस्वरुप आज माओवादी विभिन्न चिरामा विभाजित भएको छ । प्रचण्डले विभाजित माओवादी शक्तिलाई बेलाबेला एकताका लागि आव्हान पनि गर्दै आएका छन् ।
तर उनी विगतदेखि जुन वैचारिक धरातल छाड्दा माओवादी आन्दोलनमा विभाजन पैदा भयो, त्यसलाई सच्याउने दिशामा भने लागेको देखिदैन । बरु उनले अहिलेको संसदीय व्यवस्थाभित्रै सबैलाई हुत्याउन खोजिरहेको आरोप खेप्नु परिरहेकाे छ ।
पछिल्लो एक वर्षदेखि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पानी बाराबारको सम्बन्ध थियो । सार्वजनिक मञ्चमै दुई नेता एक अर्काको उछित्तो काढ्न बाँकी राख्दैन थिए । आइतबार आठौं महाधिवेशनको उद्घाटनका क्रममा भने प्रचण्डले एमाले अध्यक्ष ओलीलाई आफूले निम्तो गरेको र उनले आउन चाहँदा चाहँदै झापामा रहेकाले आउन नसकेको बताए । उनी यतिमा मात्रै रोकिएनन् एमालेसमक्ष पार्टी एकता गल्ती नभएको भन्दै फेरि एकचोटी आत्मसमीक्षा गर्न आग्रह गरे ।
यसको अर्थ प्रचण्ड अझै पनि एमालेसँग एकताका लागि पनि तयार छन् भन्ने हो । उनले एमाले प्रतिगामी शक्ति बनेको आरोप लगाउँदै आएका छन् । प्रतिगामी शक्तिसँग एकताको चाहाना राख्ने प्रचण्ड अग्रगामी कि प्रतिगामी ? वैचारिक र सैद्धान्तिक सुदृढीकरण गरेर अघि बढ्न नयाँ विचारको विकास महाधिवेशनबाट गर्ने माओवादीले बताउँदै आएको छ । के एमालेसँगको एकताबाट नयाँ क्रान्तिकारी विचार पैदा हुन्छ ? अब यो प्रश्न गम्भीर रुपमा उठेका छन् ।
उनले महाधिवेशन उद्घाटन कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलको प्रशंसा गरे । उनले भने, ‘महासचिवको हैसियतले उहाँले जे कुरा राख्नुभयो, त्यो हामी सबैका लागि मननयोग्य कुरा नै उहाँले राख्नुभयो । र, सबभन्दा मलाई मन परेको कुरो के हो भने हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ । म कमरेड शंकर पोखरेल र उहाँमार्फत् सिंगो नेकपा एमालेका साथीहरूलाई भन्न चाहन्छु– हामीले गल्ती गरेका थिएनौँ । फेरि एकचोटि आत्मसमीक्षा गरौँ ।’
एमालेसँग एकता भंग हुनुका पछि सर्वोच्चको फैसला एउटा कारण थियो । तर त्यसबेलासम्म तत्कालीन नेकपा दुई चिरा हुने अवस्था सिर्जना भइसकेको थियो । केपी ओलीलाई प्रचण्ड–माधवकुमार नेपाल समूहले चार पटक त साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । ओलीले पनि प्रचण्ड–नेपाललाई किनारा लगाउन कुनै कसर बाँकी राखेका थिएनन् ।
यदि देशलाई नयाँ दिशातिर लैजाने, समाजवादको दिशातिर अघि बढ्ने नै योजना थियो भने हिजो नेकपाको एकता किन टिक्न सकेन ? यदि एकताको उद्देश्य गलत थिएन भने किन पार्टीले गति लिन सकेन ? नेता कार्यकर्तामा किन उत्साह र उर्जा पैदा हुन सकेन ? झण्डै दुई तिहाईको बहुमत हासिल गरेको कम्युनिस्ट शक्ति किन कांग्रेसको हातमा सत्ताको चाबी सुम्पिने अवस्थामा पुग्यो यसको वस्तुनिष्ठ जवाफ दिनुपर्दैन ? मञ्चमा बहकिएर मन लागेको कुरा बोल्दैमा समाजवाद आउँछ ? प्रचण्डले यस्ता प्रश्नको जवाफ दिन सक्नुपर्छ ।
माओवादीमा भावी नेताका रुपमा हेरिएका जनार्दन शर्माले प्रचण्डपथ छाडेर गल्ती गरेको र यहीबाट पार्टीमा नेतृत्वको अग्राधिकार गुम्दा पार्टी कमजोर बनेको बताउँदै आएका छन् । प्रचण्ड भने समाजवादको यात्रामा एमालेसँगको एकता सही भएको विश्लेषण गर्दैछन् । के प्रचण्डपथसहित एमालेसँग एकता सम्भव छ ? एमालेले हिजो माओ विचार स्वीकार गरेको थियो ? पक्कै पनि थिएन । बरु प्रचण्ड माओ विचार छाडेर एमाले अनुकूल माक्र्सवाद र लेलिनवादलाई मार्गदर्शक सिद्धान्त मान्न सहमत भएका थिए । यसबाट माओवादी नेताहरु आफ्नो वैचारिक धरातलबाट कसरी च्युत हुँदै जान सक्छन् भन्ने देखाउँछ ।
जनता र कार्यकर्तालाई भ्रममा पार्नका लागि मञ्चबाट मनमा आएका कुरा बोलिदिँदैमा राजनीतिक विचारको विकास हुँदैन । बरु नेतृत्वमा रहेको कच्चापन देखिन्छ । प्रचण्ड आफैंले विगतमा पटक पटक अपरिपक्वता देखाएका छन् । जसका कारण माओवादी आन्दोलनले गम्भीर क्षति भोगेको छ । २०६४ सालमा पहिलो राजनीतिक शक्ति बनेको माओवादी आज टुक्राटुक्रा बन्दै झन पछि झन कमजोर बन्दै गएको छ । यस्तो अवस्थामा पार्टीको वैचारिक, राजनीतिक, सैद्धान्तिक र सांगठनिक मजबुतीका लागि महाधिवेशन केन्द्रित गर्नु नै माओवादीको हितमा हुनसक्छ ।