लोकसंवाद संवाददाता | विदेश | पुस १३, २०७८
अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्ककाे स्पेस एक्सको स्टारलिंक स्याटलाइटले चिनियाँ स्पेस स्टेसनलाई ठक्कर दिन खोजेको भन्दै चीनले चिन्ता व्यक्त गरेको छ । चीनको तियागोंग स्पेस स्टेसनमा मस्कको स्याटलाइट जुलाई र अक्टोबरमा ठोकिन खाेजेकाे भन्दै चीनले राष्ट्रसंघको अन्तरिक्ष निकायमा ध्यानाकर्षण गरेको हो ।
दुवै पटक मस्कको स्याटलाइट चीनको स्पेस स्टेसन नजिक पुगेको र ठोकिनबाट जोगिन स्पेस स्टेसनका अपरेटरले आफ्नो बाटो परिवर्तन गरेको चीनको भनाइ छ । स्याटलाइटको अतिक्रमणका कारण चिनियाँ अन्तरिक्ष यात्री जोखिममा परेको पनि चीनले गुनासो गरेको छ ।
बेइजिङले अप्रिलमा पृथ्वीको सतहबाट ३९० किलोमिटरको दूरीमा स्पेस स्टेसन तियानगोंग स्थापना गरेको थियो । मस्कको स्पेसएक्सले आफ्नो स्याटलाइटलाई अकस्मात पृथ्वीबाट ३८२ किलोमिटरको दूरीमा राखेको र यसले चिनियाँ स्टेसनमा ठोकिने जोखिम बढेको बेइजिङको तर्क छ ।
यसैबीच मस्कको स्याटलाइट ठोकिने जोखिम बढेपछि चिनियाँ सामाजिक संजालमा बिबोमा उनको कडा आलोचना भएको छ ।