अनुरोध शर्मा | दृष्टिकोण | पुस १३, २०७८
देशका प्रमुख भनिएका राजनीतिक दलहरूका महाधिवेशनको मौसम छ अहिले । नेकपा एमाले, राप्रपा, कांग्रेसका महाधिवेशन सम्पन्न हुँदै अहिले नेकपा (माओवादी केन्द्र)को महाअधिवेशन चलिरहेको छ । यस पार्टीको अधिवेशनबारे आमचासो बढ्दो छ । चिया चौतारादेखि सरकारी अड्डासम्म माओवादी अधिवेशनको चर्चा सुनिन्छ ।
यो स्वाभाविक हुनुको कारण छ । १० वर्षसम्म ‘आमूल परिवर्तन’को दिवास्वप्न देखाएर हजारौँ जन र अर्बौं रुपैयाँ बराबरको धन स्वाहा पारेर अन्ततः उसकै शब्दमा ‘दलाल पुँजीवादी भास’मा मिल्न आएको माओवादी अब कसरी अघि बढ्छ ? साढे ३ दशकदेखि सामन्ती शैलीमा पार्टी सत्ता कब्जा गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबचाहिँ नेतृत्व छाड्लान् वा पुनः कब्जा गरेरै बस्लान् ? उसले हिजो देखाएका सपनाबाट बिचलित बनेकाहरूलाई अब कसरी सम्बोधन गर्ला ? माओवादीको अबको मार्ग के होला- उटपट्याङ जनवाद कि शान्त समाजवाद ? आदिआदि विषयका कारण पनि यो अधिवेशन चर्चा र चासोको बन्न पुगेको हो ।
माओवादी शान्ति प्रक्रियामा आउँदाको बेला एउटा झरझराउँदो झिल्को थियो- परिवर्तनको, विकासको, स्थिरताको र क्रान्तिको आशाको । आमजनको भरोसाको केन्द्र बन्दै गएको पनि हो केही समय । २०६४ सालको पहिलो संविधानसभामा संविधानसभाकै ठूलो दलको हैसियत पनि दिएकै हुन् जनताले । उसकै नेतृत्वमा यसबीचमा २ पटक सरकार पनि बनेकै हो ।
तर, उसले विगतमा सशस्त्र युद्धका बेला गरेका बाचा आफूले सत्ता नेतृत्व गर्दा वा पटक पटक सत्तामा सहभागी भएका बेला के कति पूरा गर्यो ? युद्धमा मारिएकाका परिवारले के पाए ? घाइते र अपांगको उपचार, रोजगारी आदिको विषय के भयो ? शिक्षा, स्वास्थ्य, जनजीविकाका सवालमा के कसरी परिवर्तन गर्यो ? यस्ता विषय र सन्दर्भ आज पनि उत्तिकै टड्कारो देखिएका छन् । यस कारण पनि माओवादीको अधिवेशन अहिले केन्द्रमा छ जनताको चासोको ।
प्रचण्ड नाम गरेका ‘रहस्यमयी’ व्यक्तिलाई नै पार्टी नेतृत्व सुम्पिइनेछ । आमसरोकारका, जनजीविकाका, द्वन्द्वपीडित घाइते, अपांगका, बेपत्ताका र मारिएका लागि कुनै ठोस कुरा आउनेछैन । पद र कुर्सीका लागि मरिहत्ते गर्नेहरू नै नेतृत्वमा हालीमुहाली गर्नेछन् ।
र, यहीबीचमा जब माओवादी संसदीय पुँजीवादी भासमा जाकिन आइपुग्यो, सत्ताको गुलियोमा नेताजीहरू चुर्लुम्म डुबे । विगतका बाचा र प्रतित्रद्धता भाषण र दस्ताबेजहरूमा सीमित भए । तस्कर, दलाल, बेइमानहरूको संगत र उठबसले नेतृत्व पनि क्रमशः तस्कर, दलाल र बेइमानकै गति र मतीमा पुगे । यसकै परिणाम आज माओवादी अनेक टुक्रामा विभाजित छ । विगतमा माओवादीलाई माओवादी बनाउनेहरू आज बेलाबखत टेलिभिजनका पर्दामा अनुहार देखाउन आइपुग्छन्, त्यो पनि कुनै पत्रकारले सम्झिएमा मात्र । केहीले बेलामौकामा पत्रपत्रिकामा अटो साइजको फोटो छापिने मौका पाएका छन् ।
तथापि, पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्र यस्ता पात्र बनेका छन्, जो माओवादीमा निरन्तर शिर ठाडो पारेरै बसेका छन्, ढाड सोझो पारेरै उभिएका छन्- चाहे शिर लुकाउन नेकपाको नाटक किन नगरून् ।
र, चलिरहेको माओवादी केन्द्रको अधिवेशनमा पनि केन्द्रमा उनै प्रचण्ड नै छन् । नारायणकाजी, देव गुरुङ आदिहरू प्रचण्डकै वरिपरि घुमेर ‘म्याउँ’ गर्नेबाहेकको हैसियतमा देखिँदैनन् । रामबहादुर थापा र टोपबहादुर रायमाझीहरूले ‘ठूलो भाग’ खाना एमालेतिर हान्निएपछि प्रचण्डलाई पनि एक प्रकारको हाई सन्चो त भएकै पनि छ ।
त्यसो त, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट पनि प्रचण्डले थप केही अवश्य सिकेका छन् । विरोधीहरूलाई भ्याकुर लखेटाइ लखेटेपछि मात्र आफ्नो बर्चस्व स्थापित र निरन्तर हुन्छ भन्ने कुरा प्रचण्डलाई सिकाइ र सम्झाइरहनुपर्दैन । भूमिगतकालमै आलोकहरूलाई ‘सफाया’ नगरेका भए प्रचण्डको माओवादीभित्रको सामन्ती बर्चस्वमा ऊबेलै धक्का लाग्ने निश्चित थियो ।
पछि पनि त आफ्नै राजनीतिक गुरु मोहन वैद्य, सहयात्री डा. बाबुराम भट्टराई, सीपी गजुरेल, नेत्रविक्रम चन्द ‘विप्लव’ आदिलाई पार्टी छाड्न बाध्य पार्ने गरी हुर्मत नलिएका भए प्रचण्ड माओवादी पार्टीलाई ‘लिलिपुट’ बनाएर पनि ‘अदक्ष’ अध्यक्ष भएर टिकिरहन कहाँ सक्थे र !
अहिले माओवादीको अधिवेशनमा प्रचण्डको राजनीतिक प्रस्तावमा समूहगत छलफल जारी छ । फरक मतका टिप्पणी र धारणा पनि आइरहेकै छन् । ‘द्वन्द्ववाद’मा विश्वास गर्ने ‘कम्युनिस्ट’हरूमा यस्ता कुरा आइरहन्छन्, भइरहन्छन् र अन्ततः ‘आलोचनात्मक समर्थन’मा गएर टुंगिन्छन् । देव गुरुङहरूका ‘फरक मत’ पनि उही ‘आलोचनात्मक समर्थन’का कास्टिङ मात्र हुन् ।
र, अन्त्यमा,
नेकपा (माओवादी केन्द्र)को चालू अधिवेशनको दृश्यले के देखाउँछ भने, यो अधिवेशन पनि ‘बिरालो बाँध्न’मै सीमित हुनेछ । विगतकै प्रवृत्ति र परंपराको निरन्तरता हुनेछ । प्रचण्ड नाम गरेका ‘रहस्यमयी’ व्यक्तिलाई नै पार्टी नेतृत्व सुम्पिइनेछ । आमसरोकारका, जनजीविकाका, द्वन्द्वपीडित घाइते, अपांगका, बेपत्ताका र मारिएका लागि कुनै ठोस कुरा आउनेछैन । पद र कुर्सीका लागि मरिहत्ते गर्नेहरू नै नेतृत्वमा हालीमुहाली गर्नेछन् ।
र, अन्ततः विगतको नेपाली जनताको आशा र भरोसाको केन्द्र माओवादी केन्द्र क्रमशः पुँजीवादी दलाल कम्युनिस्टका रूपमा रूपान्तरित हुनेछ । आफ्नो सम्पूर्ण विरासतलाई इतिहासमै थन्क्याएर ‘तल बगाएर माथि खोज्न जानुपर्ने’ हैसियतमा पुग्नेछ ।