हरिविनोद अधिकारी | दृष्टिकोण | पुस १७, २०७८
जीवनका धेरै स्मरणीय कुराहरू जति लेखे पनि नसिद्धिने रहेछन् । जहाँ धेरै वर्ष बसियो, काम गरियो, त्यहाँको याद बढी हुने नै भयो ।
मलाई अहिले एउटा कुरा अचम्म लाग्छ, पहिले के सोचिन्थ्यो होला ? या मानिसहरू कुनकुन अवस्थामा के सोच्छन् होला ? सोच्ने शक्ति र त्यसलाई कार्यान्वयन गर्ने क्षमता कसरी प्राप्त गर्न सक्छ होला मानिसले ? उसको सिकेको बानीले उसलाई डोहोर्याउँछ होला कि उसमा जन्मँदैदेखि विद्यमान मस्तिष्कका कोषले उसलाई निर्देशन गर्छन् कि ?
मानिसहरू मुटुको कुरा गर्छन्, मस्तिष्कको कुरा गर्छन्, त्यसो भए मानिसको जीवन संचालनमा केले बढी भूमिका निर्वाह गर्दो हो ? हामीले तयार गरेका मानवीय विज्ञान, मनोविज्ञानले कतिपय अवस्थाको उत्तर दिन सकेका छन् तर कतिपय कुराहरू अनुत्तरित नै छन् । एउटा प्रश्नको उत्तर पाउँदा अर्को प्रश्न स्वतः उत्पन्न हुन्छ र त्यसको उत्तर खोज्नका लागि फेरि अनुसन्धान सुरु हुन्छ । अनुुसन्धानको पनि कथा अर्कै हुन्छ ।
अनुसन्धानका लागि जोजो खटिन्छन्, उनीहरूको चाखका आधारमा परिणाम आउने गर्छ भन्ने गुनासो संसारभर छ । नत्र एउटा प्रतिवेदनको कुनै परिणामको सुखद अवसर नआउँदै पहिलेको प्रतिवेदन काम नलाग्ने कसरी हुन्छ होला त ? अहिले संसारभर गरिने मानविकी र समाजशास्त्रका अनुसन्धानले प्रतिवेदन आउन नपाउँदै त्यसमा सुधार गर्ने समस्या आउँछ ।
ज्ञानको भण्डार कहाँ छ ? पुराना अनुभवमा ? नयाँ अनुसन्धानमा ? नयाँ प्रयोगमा ? प्रकृति नै सबैभन्दा मुख्य ज्ञानको भण्डार हो कि होइन ? प्रकृति बोल्दैन । उसलाई बोल्न बाध्य गराउन सक्नुपर्छ । उसको विद्यमान अवस्थाको तर्कसंगत र वस्तुगत व्याख्या, जुन स्पर्श गर्न सकियोस्, सुन्न सकियोस्, देख्न सकियोस् र त्यसको परिणामले मानवीय जीवनलाई सकारात्मक प्रभाव पारोस् ।
अनि, ज्ञान के हो ? विज्ञान के हो ? कवि तथा नाट्य सम्राट बालकृष्ण समले भनेजस्तै हो त- ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तै हो त- उद्यानमा बस गई सब तत्त्व खुल्छन् । उद्यान अर्थात् बगैँचा । जंगल । वन । कानन । अरण्य । प्रकृतिको उद्यान त यो संसार नै हो । हाम्रो उद्यान भनेको बगैँचा हो, जहाँ हामीले अनेक प्रकारका वनस्पति लगाएका हुन्छौँ या स्वतः उत्पत्ति भएका वनस्पतिहरूलाई संरक्षण गरेर राखेका हुन्छौँ ।
केही दिनअघिसम्म निश्छल हाँसो हाँस्दै फुलेका फूलहरू केही दिनमा नै ओइलाएर झर्छन् । अनि, अर्को फूलले फेरि आफूलाई फुत्त बाहिर देखिने गरी चिहाउन थाल्छ । किन सबै वनस्पतिको उत्पत्ति, पुष्पित, पल्लवित र फल फल्ने बेला एउटै हुँदैन ?
आफ्नो आफ्नो बेलामा उर्वर भूमि पनि हिमाच्छादित हुन्छन् उत्तरी र दक्षिणी धु्रवमा । तिनको वसन्त ऋतु पनि, शरद ऋतु पनि, वर्षा ऋतु पनि र हेमन्त तथा शिशिर ऋतु पनि फरक फरक बेलामा किन हुन्छन् ? त्यसको उत्तर त ज्योतिषशास्त्रले, भूगोलशास्त्रले हामीलाई दिएको भए पनि ती वनस्पतिहरूले कसरी हिउँदमा पृथ्वीको गर्भमा आफूलाई जीवित राख्दा हुन् ? या सम्पूर्ण प्राणीमा नै त्यो क्षमता हुन्छ त ?
भन्छन्, जुन प्राणी वातावरण र पर्यावरणसँग मिल्न सक्छ, त्यो मात्र जीवित रहन सक्छ ? अनि, संसारको सबै मौसममा जीवित रहन सक्ने वातावरणलाई अनुकूलित बनाउने प्राणी मानिस मात्र हो त ? या अरू अदृश्य प्राणीहरू पनि छन्, जसको हामीले पत्ता लगाउन नै सकेका छैनौँ ?
अर्को कुरा सधैँ मलाई लाग्ने के हो भने, मानिसले कसरी सोच्छ ? के कुरा कुन बेलामा सोच्छ ? मानिससँग कति कुरा उसको मस्तिष्कमा रहेर बसेका होलान् ? त्यही मानिस कुनै कुराले तत्काल रुन थाल्छ, तत्काल हाँस्न थाल्छ र कुनै शब्दले गम्भीर भएर चुपचाप बस्छ । कुनै शब्दको प्रहारले या सुनेर तत्काल हृदयाघात हुन सक्छ ।
कतिपय चलचित्रमा देखाएको हुन्छ कि कुनै कुरा सुन्नेबित्तिकै कुनै मानिस तत्काल प्राणाघात भएर मरेको हुन्छ । धेरै दुखी बनाउने कुरा र धेरै खुसी हुने कुरा दुवैले हृदयाघात कसरी हुन सक्छ ? किन हुन्छ ? पुराना दुःखद् सम्झनाले अहिले पनि किन मन दुखी हुन्छ ? समयले ती घाउहरूमा मह्लम लगाएको मानिए पनि किन ती घाउहरू फेरि किन बल्झिन्छन् ? किन पीडाको असह्य भारले मार खप्नुपर्छ त्यही मुटुले ? किन मस्तिष्कमा ती पुराना कुराहरू सञ्चित भएर बस्छन् ? अनि, स्मृति र विस्मृतिको चक्र किन चलिरहन्छ ? सायद यसका बारेमा धेरै पुस्तक लेखिएका होलान्, तर ती सबै यस कारणले अपूरा छन् कि प्रत्येक व्यक्तिमा फरक फरक क्षमता हुन्छ र खप्ने क्षमताको पनि फरक फरक मापदण्ड बनेको हुन्छ ।
मानिस कुन अवस्थामा बढी दुखी हुन्छ वा खुसी हुन्छ ? दुःख के हो र सुख के हो ? कसरी त्यसको मापन गर्ने ? समाजअनुसार गर्ने कि ? व्यक्तिअनुसार हुने कि ? उसमा रहेको सामान्य ज्ञानको सञ्चितिका आधारमा कि उसको विवेचनात्मक क्षमताको या ठिक/बेठिक छान्ने क्षमताका आधारमा ? या उसले भोगेका व्यवहारका आधारमा ? या धर्मका आधारमा ? या संस्कृतिका आधारमा ? या अरू कुनै भावनात्मक आधारमा ? भावनात्मक आधार हुन पनि त उसमा भावनाको बीजारोपण हुनुपर्यो नि !
पुराना कुराहरूको सम्झनामा कहिले किन खुसी र आनन्द लाग्छ र किन कुनै सम्झनाले हृदयमा पुराना घाउहरू ताजा भएर आउँछन् ? जे भए पनि मानिसको स्वभाव कस्तो हुन्छ भने, पुरानै समयलाई आफ्नो सम्पत्तिको रूपमा लिन्छ र ती बितेका समयलाई नै स्वर्णिम अवसरको रूपमा मान्छ । तर, यस्ता मानिसहरू पनि मैले आफ्नो जीवनमा भेटेको छु, उसका पुराना कुराहरू उसलाई नसम्झाउन मलाई सचेत गराएको थिएँ तर म स्वयं उनीहरूको पुरानो साथीमध्येको एक थिएँ र उसका ती स्मरण गर्नलायक नभएका समयको साक्षी म पनि थिएँ । उसले मेरो उपस्थितिलाई भने सहर्ष स्वीकार गरेको थियो तर उसका अतीतका पानामा पटक्कै नजान र नसम्झन सचेत गराएको थियो ।
ऊ आफैँ ती क्षणहरूलाई इखका रूपमा लिएर आजको प्रगतिपथमा पुगेको थियो । प्रत्येक नयाँ पाइलामा, नयाँ काममा उसलाई झकझकाउने ती पुरानै घटनाहरू थिए । तर, भन्थ्यो, ‘मलाई ती पुराना दिनहरू सम्झनु पनि छैन, ती मेरा आफन्तहरूसँग कुनै वास्ता पनि छैन ।’
अर्थात् ऊ ती पुराना दिनहरूका, पुराना पात्रहरूका प्रत्येक काम कार्बाहीको हिसाब राख्दै थियो, कुनै पनि क्षण बिर्सन सकेको थिएन । तर, भन्ने गथ्र्यो, ‘मलाई सम्झनु छैन, सम्झेर कुनै काम पनि छैन ।’
हुनत अब सम्झेर कुनै काम पनि छैन तर सम्झनै हुँदैन भन्ने कुराचाहिँ उसले बिर्सनै नसकेकाले बिर्सिएको जस्तो गरेको हुनुपर्छ ।
हो रहेछ, म कतिपय बेलामा लडेको छु तर तत्कालै उठेर, धुलो टक्टक्याएर फेरि हिँडेको छु । एउटा अचम्मचाहिँ यो मत्र्यलोकमा हुनेरहेछ- एउटाले चिप्ल्याएँ भन्यो, अर्को पात्र साथ दिन आउने रहेछ
मैले माथि भनेका घटना प्रत्येक संघर्षशील र ऊर्जावान् मानिसमा हुन्छन् । उसले जीवनमा यस्ता ठक्कर खाएको हुन्छ कि न बिर्सन सक्छ, न त सम्झेर त्यसको अनुभवले भावी दिनहरू संचालन गर्न सक्छ । मात्र जीवनको एउटा उर्वर समयमा घटेको घटनालाई जेहेनमा राख्न सक्छ ।
मेरालागि पनि धेरै वर्ष काम गरेको संस्थाहरूका अनुभवहरू त्यस्तै छन् । सायद जीवन भनेको नै तिनै घटनाहरूको पुञ्ज हो । सबैभन्दा अविष्मरणीय स्थान हुनुपर्ने हो आमाको गर्भ तर अहिले स्मरण नभएकाले अनुमान गर्नुपर्छ- कसरी बसियो होला, के खाइयो होला, कसरी विचरण गरियो होला, कुनै कल्पना थियो कि थिएन होला ?
चेतना जब भयो होला अनि कस्तो अनुभूति भयो होला त्यो पिण्डको रूपमा रहेको ममा ? म नै त थिएँ त्यहाँ त्यसरी आमाको गर्भमा बास बसेर आउने प्राणी । जुन बेलामा चेतनारूपी ब्रह्मको बास ममा भयो होला, पक्कै विष्मरणमा रहने गरी अनुभव बटुलियो होला । कल्पना गरौँ न, झिल्लीले बेरिएको र नाइटोले आमाको जीवनरसबाट खाद्यान्न लिनुपर्ने, रगत र पँधेलो पानीका बीचमा रहेर हातखुट्टा दोबारेर, मुठ्ठी बटारेर, मुख पनि चाउरिएर बसेको थिएँ । पछि त्यही हात र निधारको भागमा देखिने चिह्नका आधारमा मेरो भविष्य हेरियो र मेरो जन्मको समयका आधारमा चिना कोरियो ।
म त बा र आमाको टुंगो भएको र म जन्मँदा खुसी हुने परिवारमा जन्मेको थिएँ । अझ ठूलीआमाबाट ६ जना दिदीहरू र २ जना दाजुहरू जन्मेर सबै मृत्युलोकबाट सदाका लागि आकाशतिर जानुभएको रहेछ । व्योमपथबाट कता जानुभयो होला तर फेरि यो संसार कसैले देखेन ।
म जन्मनुभन्दा पहिले नै जानुभएकाले मैले त देख्ने कुरै भएन । कुनै फोटो नहुनाले कस्ता थिए भन्ने पनि थाहा भएन । मेरो चिना लेख्ने गुरु टीकाहरि उपाध्याय काफ्लेले अंक गणना गरेर भन्नुभएको रहेछ, ‘५२ वर्षमा यो बालक हरि प्रधानमन्त्री हुनेछ ।’ एउटा अव्यक्त महत्त्वाकांक्षाको बीजारोपण भएको थियो मेरो मनमा, जुन संभव पनि थिएन । मैले राजनीतिमा चासो भए पनि, मनको अन्तरकुन्तरमा अव्यक्त महत्त्वाकांक्षा पालेर बसे पनि न त्यसलाई मैले मलजल गरेँ, न त मैले त्यसका लागि कुनै प्रयास नै गरेँ बरु राजनीतिको सक्रिय भूमिकालाई मात्र समर्थन र बौद्धिक विलासमा सीमित गरेको छु ।
बाले भन्नुहुन्थ्यो, आमाले भन्नुहुन्थ्यो, ‘आफ्नो खुट्टामा टेक्नू । अरूको खुट्टामा टेकेर हिँड्दा कुनै पनि बेला उसले लडाउँछ ।’
हो रहेछ, म कतिपय बेलामा लडेको छु तर तत्कालै उठेर, धुलो टक्टक्याएर फेरि हिँडेको छु । एउटा अचम्मचाहिँ यो मत्र्यलोकमा हुनेरहेछ- एउटाले चिप्ल्याएँ भन्यो, अर्को पात्र साथ दिन आउने रहेछ ।
म प्रत्यक्ष संलग्न रहेका संस्थाहरू हुन् सक्रिय रूपमा- विद्यालय शिक्षणका रूपमा २०३१ सालमा श्री निम्नमाध्यमिक विद्यालय, परेवाडाँडा, सिन्धुली, जहाँबाट म करिब ८ महिनामा नै स्वेच्छाले छाडेर हिँडेँ । त्यसपछि ६ असोज २०३५ मा माध्यमिक शिक्षकको रूपमा भाग्योदय मावि साँखुमा गएँ र ११ वैशाख २०३६ देखि २७ चैत २०५७ सम्म लेबोरेटरी मावि कीर्तिपुरमा रहेँ । २३ वैशाख २०७१ सम्म गुह्येश्वरी बालशिक्षा मावि, थापाथलीमा रहेँ ।
उमेरका कारणले अनिवार्य निवृत्तिभरण पाएँ । १५ वैशाख २०४८ देखि काठमाडौं शिक्षा क्याम्पसको स्थापना भएदेखि आजसम्म अध्यापनरत छु ।
आफूसमेतको प्रयास र समयको आवश्यकता ठानेर नेपाल शिक्षक संघको स्थापना गरियो- ३० वैशाख २०४७ मा । समाज कल्याण परिषद्अन्तर्गतको बालबालिकाका लागि स्थापित कोष तत्काली मुमा बडामहारानी रत्नको नाममा रहेको रत्न बालकोषको २ वर्षसम्म सदस्य सचिव र १० वर्षसम्म अध्यक्षको रूपमा स्वयंसेवकको रूपमा कार्य गरेँँ ।
अहिले म केही वर्षदेखि अभिव्यक्ति स्वतन्त्रता, नागरिक स्वतन्त्रता र सूचनाको हकका लागि विश्वप्रसिद्ध संस्था फ्रिडम फोरमको अध्यक्षको रूपमा कार्यरत छु । यो संस्थाको संस्थापक अध्यक्ष नागरिक हकका लागि संघर्षशील युवा तारानाथ दाहालले सन् २००५ फेब्रुअरीमा गर्नुभएको थियो । दाहाल त्यस बेला नेपाल पत्रकार महासंघका सभापति हुनुुहुन्थ्यो । पापडको स्थापना गरेर राजाको सैन्य शासनको विरोध गर्नका लागि पत्रकार महासंघलाई सक्रिय बनाएकामा सेनाले उहाँलाई मार्नका लागि निशाना बनाएको थियो । त्यो कुरा थाहा पाएर संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा शरणार्थीको हैसियतका रहनुभएको थियो दाहाल ।
पत्रकार महासंघबाट निवृत्त हुनेबित्तिकै मानवअधिकार, प्रजातन्त्र र सूचनाको हकका लागि स्वतन्त्र मंचको स्थापना गर्नुभएको रहेछ । मलाई त्यस संस्थाका अध्यक्ष दाहाललगायतका साथीहरूले सदस्यको रूपमा, उपाध्यक्षको रूपमा र अहिले अध्यक्षको रूपमा राख्नुभएको छ । अर्थात् साधारसभाले मलाई अध्यक्षको रूपमा निर्वाचित गरेको छ ।
दाहाललाई कार्यकारी प्रमुखका लागि हामीले अनुरोध गरेर राखेका छौँ । भनेका छौँ, ‘तपाईंले कुनै पनि बेला सक्रिय राजनीतिमा लाग्ने या अन्य कुनै पनि सार्वजनिक जिम्मेवारी लिने बेलामा हामी तपाईंलाई बिदा गर्नेछौँ ।’
पहिले राष्ट्रिय समाचार समितिमा अध्यक्ष हुँदा पनि हामीले उहाँलाई बिदा दिएका थियौँ र पछि नेपाली कांग्रेसले उहाँलाई संविधानसभामा प्रत्यक्ष रूपमा निर्वाचन लड्न पठाउँदा मैले नै अध्यक्षको रूपमा काम गरेर उहाँलाई सहयोग गरेको थिएँ । अर्थात् फ्रिडम फोरम दाहालको परिकल्पना हो र यसले आइफेक्स, आईपीआईमा र विश्व मञ्चमा मानवअधिकार, सूचनाको हकका बारेमा स्वतन्त्र मूल्यांकन संस्थाको रूपमा काम गरिरहेको छ ।
तर, मेरो जीवनको सबैभन्दा बढी समय सेवामा लगाएको संस्था लेबोरेटरी स्कुल हो । मलाई यसबारेमा आफ्ना तीता-मीठा यादहरू लेख्नु छ ।
क्रमशः