लोकसंवाद संवाददाता | समाचार | बैशाख ३१, २०७६
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीका ४१ वर्षीय कुम्म थापा नेपाल खाद्य संस्थान मुगुको शाखाबाहिर चामलको भारी कसकास गर्दै छन् । उनी यहाँसम्म चामल लिन पाँच दिन पैदल हिँडेर आएका हुन् । उनले चामल बोक्न खसीबोका पनि साथै ल्याएका छन् । ‘खसीबोकासँग यहाँ आइपुग्न पाँच दिन लाग्यो । घर फर्किँदा साता दिन लाग्छ । आउजाउमा १२ दिन,’ उनी भन्छन् । हुम्लाको सर्केगाड खाद्य डिपोमा चामल नभएकाले उनी मुगुसम्म आउनुपरेको हो । ‘सर्केगाडमा चामल छैन,’ उनी भन्छन्, ‘भएको पनि पाउरवाला ठूलाबडाले मात्रै लिन्छन्, हामी गरिबलाई सधैँ मुगुकै चामल खानुपर्छ ।’
योसहित गरेर मुगुमा चामल लिन २१ पटक आएको उनको भनाइ छ । मुगु धाउनु सजिलो छैन । ‘बिहान तीन–चार बजे नै खसीबोका हिँडाउनुपर्छ । बाटोमा खाने समय पाइँदैन । बास बस्न पनि समस्या हुन्छ,’ उनले कैरन सुनाए ।
उनापानीकै ४२ वर्षीया बासकली रावत १६ पटक चामल लिन मुगु आइपुगेकी छिन् । आउँदाजाँदा बाटोमा कैयौँपटक खुला आकाशमुनि, जंगलको बीचमा वास बस्नुपरेको बासकलीले सुनाइन् । आफ्नै जमिनको उत्पादनले वर्षमा ६ महिना मात्रै खान पुग्ने उनको भनाइ छ । ‘६ महिना चामल किनेरै खानुपर्छ,’ उनले आफ्नै लवजमा भनिन्, ‘चामलकै लागि दिन खानु नाइँ न रात सिनु नाइँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।