माओवादी महाधिवेशन: पुरानाकै हालीमुहाली, विचारमा अलमल, संगठन भद्रगोल

लोकसंवाद टिप्पणी

माओवादी महाधिवेशन:  पुरानाकै हालीमुहाली, विचारमा अलमल, संगठन भद्रगोल

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस १९, २०७८

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन आठौँ दिनमा आइतबार सकिएको छ । सुरुमा राष्ट्रिय सम्मेलन गर्ने भनेको माओवादीले अन्तिम समयमा आएर महाधिवेशनमा रूपान्तरण गरेको थियो । एमाले र माओवादीबीच ३ जेठ २०७५ मा भएको एकता २३ फागुन २०७७ मा सर्वोच्च अदालतले भंग गरिदिएपछि माओवादी केन्द्रलाई फेरि अलग पार्टी चलाउनुपर्ने बाध्यता आइलागेको थियो । 

बन्दुकबाटै राज्यसत्ता हात पार्ने रणनीतिसहित जनयुद्धमा होमिएको माओवादीमा २०६३ सालमा शान्ति प्रक्रियामा प्रवेश गरेपछि तीव्र रूपमा राजनीतिक विचलन देखापर्‍यो भने सांगठनिक अराजकता र वैचारिक स्खलनले माओवादी निकै कमजोर बनेको थियो । पहिलो संविधानसभामा पहिलो राजनीतिक शक्ति बनेको माओवादी दोस्रो संविधानसभापछि तेस्रो राजनीतिक शक्तिका रूपमा रहेको छ । २०७४ सालको निर्वाचनमा एमालेसँग चुनावी गठबन्धन गरेको माओवादीले २०७५ सालमा एमालेसँग एकता गर्‍यो । 

एमालेसँग एकता गरेर भंग भए पनि एमालेलाई नै फुटाउन सफल भएको विश्लेषण माओवादीको छ । तर, एमाले विभाजित भए पनि माओवादीबाट रामबहादुर थापा ‘बादल’सहितका नेताहरू एमालेमा गए । माओवादीमा आएको विचलन र विभाजनका कारण कमजोर भएको माओवादी आन्दोलनलाई नयाँ ढंगले उचाइ दिन भन्दै गरेको आठौँ महाधिवेशन भने विचार र संगठन दुवैलाई पूर्णता दिन नसकी सकिएको छ । 

नेताहरू माओवादी पार्टी पुरानै संसदवादी पार्टी जस्तै भएको आरोप स्वीकार गर्र्दैनन् । माओवादीले यस पटक महाधिवेशनको हलबाट बाहिर निस्किँदा देशलाई नेतृत्व गर्ने वैचारिक शक्ति तयार गरेर निस्कने बताएको थियो । अध्यक्ष प्रचण्डले यस पटक पार्टीको दस्तावेजले नयाँ दिशा दिने मात्रै नभएर कम्युनिस्ट आन्दोलनमा हलचल नै ल्याउने आसयका अभिव्यक्ति दिएका थिए । पछिल्लो समयमा एमाले र कांग्रेसको महाधिवेशनमा विचार भन्दा पनि नेतृत्वको विषयमा बढी छलफल भएको थियो । त्यसैले माओवादीले आफूहरू विचारको बहसमा खुला रहेको देखाउन खोजेको थियो ।

माओवादीमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि लामो छलफल भयो भने नेताहरू राम कार्की, हरिबोल गजुरेल र लेखनाथ न्यौपानेले फरक मतसमेत राखेका थिए । तर, मुख्य रूपमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नै छलफल भयो र प्रचण्डले पूरक प्रतिवेदनका विषय आफ्नो मूल प्रतिवेदनमा समेट्ने बाचा गरे । यद्यपि, नेता लेखनाथ न्यौपानेले प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि राखेको फरक मतलाई भने सम्मान गर्ने मात्र भनिएको छ ।

धेरै पारिवारिक नाता सम्बन्धका नेताहरूले केन्द्रीय कमिटीमा स्थान बनाउँदा जनयुद्धकालीन समयदेखि सक्रिय भूमिका खेलिरहेका कयौँ नेताहरू छुटेका छन् । माओवादीले भनेजस्तै आगामी दिनमा विचार र राजनीतिक क्षेत्रमा अब्बल साबित गर्ने विचार र संगठन निर्माण भयो कि भएन भन्ने नतिजा थाहा पाउन भने अझै पर्खिनुपर्नेछ ।

प्रचण्डको प्रतिवेदन समाजवादी कार्यदिशा, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीको आगामी दिशाका बारेमा गोलमटोलपूर्ण छ । समाजवाद उन्मुख भनिए पनि त्यसबारे प्रष्ट रूपमा व्याख्या गरिएको छैन । विश्वमा कम्युनिस्ट पार्टीकै सत्ता भएका देशमा पनि समाजवादी कार्यक्रम लागू गर्न चुनौती भएको, कम्युनिस्ट पार्टीभित्रै वर्गहरू जन्मिँदा कम्युनिस्ट आन्दोलनले ठूलो मूल्य चुकाउनुका साथै सत्ता नै गुमाउनुपरेको पाइन्छ ।

नेपालमा संसदवादी पार्टीसँगै मिलेर समाजवादी यात्रा गर्न कति चुनौतीपूर्ण छ र त्यसलाई कसरी अघि बढाउने भन्नेबारेमा प्रचण्डको प्रतिवेदनमा प्रष्ट रूपमा व्याख्या गरिएको छैन । प्रचण्डको यही गोलमटोल प्रतिवेदनमा आफूलाई समाजवादका यात्री भन्न रुचाउने माओवादी कार्यकर्ताले ‘कसरी ?’ भन्ने प्रश्नसमेत नसोधीकन महाधिवेशन सकिएको छ । प्रचण्डले भनेजस्तै उनको दस्तावेजमा देशलाई नै नयाँ दिशा दिन सक्ने विषय समेटिएको पनि छैन । माओवादी कार्यकर्ताहरू विचारको बहस गर्दै पार्टीलाई नयाँ दिशामा लैजाने बाटो पत्ता लगाउने भन्दा पनि प्रचण्डका घरभेटी, नेताहरूको जीवनशैली, पार्टीका नेताहरूको आम्दानी जस्ता विषयमा प्रश्न गरे, जसले गर्दा माओवादीको महाधिवेशनमा विचारको बहस राम्रोसँग हुन सकेन । 

प्रचण्डको प्रतिवेदन नै मान्य भएको भन्दै हलबाट पारित भएको छ । यसको अर्थ अब माओवादी पार्टी फेरि प्रचण्डले चाहे जसरी चलाउने म्यान्डेड पाएका छन् । त्यस कारण यस पटक माओवादीमा विचारको बहस भन्दा पनि ‘प्रचण्डले ल्याएको दस्तावेज हो, पारित गर्नुपर्छ’ भन्ने मानसिकताले काम गरेको देखिन्छ । 

संगठनमा पनि उस्तै भद्रगोल

माओवादीको महाधिवेशनले २९९ मध्ये २३६ केन्द्रीय सदस्य घोषणा गरेको छ । यद्यपि, महाधिवेशनको हलबाट पदाधिकारी चयन हुन सकेन । माओवादीमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ । त्यसैले अब सोमबार निर्वाचित कमिटीको बैठक बसेर पदाधिकारी चयन गरिनेछ । माओवादी केन्द्रमा सांगठनिक क्षेत्रमा पनि पुरानै टीके प्रथाले निरन्तरता पाएको छ । महाविधेशनका लागि देशभरबाट आएका एक हजार ६३१ जना प्रतिनिधि प्रचण्डको प्रतिवेदन र त्यसमाथि टोली नेताले प्रस्तुत गरेको सुझाव सुनेर घर फर्किने भएका छन् ।

नेतृत्व चयनमा ताली पड्काउनेबाहेक उनीहरूको कुनै भूमिका भएन । महाधिवेशनको हलमा चयन नगरी प्रचण्डले पछि छनोट गर्ने भन्दै ६३ जनाको चयन गरेनन् भने पदाधिकारी पनि सहमति नजिक पुगेको भन्दै त्यसलाई सोमबार टुंगो लगाउने जबाफ दिएका छन् । महाधिवेशन सकिँदा पनि पार्टीका पदाधिकारीको टुंगो लागेको छैन । 

यस पटक पनि माओवादीमा केन्द्रीय कमिटी चयन गर्दा पुरानै नेताहरू हाबी भएका छन् । प्रचण्डको परिवारबाट मात्र माओवादी केन्द्रीय समितिमा ४ जना परेका छन् । प्रचण्डसहित उनका भाइ नारायण दाहाल, छोरी रेणु दाहाल र बुहारी बिना मगर केन्द्रीय सदस्य भएका छन् । 

शक्ति बस्नेत र सत्य पहाडी, देव गुरुङ र यशोदा सुवेदी, हितमान शाक्य र अमृता थापा, सूर्य सुवेदी र ज्ञानु बस्नेत, रामदीप आचार्य र कृष्णा शाह, वर्षमान पुन र ओनसरी घर्ती, लीलामणि पोखरेल र शशी श्रेष्ठ, दिलीप प्रजापती र प्रतिमा श्रेष्ठ, कृष्णध्वज खड्का र रेखा शर्मा, देवेन्द्र पौडेल र बलावती शर्मासहित धेरै श्रीमान्-श्रीमती नै केन्द्रीय समितिमा परेका छन् भने जनार्दन शर्मा र अनिल शर्मा दाजुभाइ नै केन्द्रीय समितिमा पुगेका छन् ।

यीबाहेक धेरै पारिवारिक नाता सम्बन्धका नेताहरूले केन्द्रीय कमिटीमा स्थान बनाउँदा जनयुद्धकालीन समयदेखि सक्रिय भूमिका खेलिरहेका कयौँ नेताहरू छुटेका छन् । माओवादीले भनेजस्तै आगामी दिनमा विचार र राजनीतिक क्षेत्रमा अब्बल साबित गर्ने विचार र संगठन निर्माण भयो कि भएन भन्ने नतिजा थाहा पाउन भने अझै पर्खिनुपर्नेछ ।