अनुरोध शर्मा | दृष्टिकोण | पुस २२, २०७८
‘कम्युनिस्ट’ शब्दप्रति पंक्तिकारको बिछट्टै मोह छ । विश्व कम्युनिस्ट इतिहासलाई बोक्रे अध्ययन गरेका आधारमा कम्युनिस्ट भनेको अतिसर्वसाधारण अर्थात् मजदुर, गरिब, श्रमिक, किसानहरूका देवता हुन् भन्ने लागिरहन्छ । विभिन्न धर्मका ग्रन्थ, मान्यता र मूल्यहरूमा जसरी नै कम्युनिस्टहरूका घोषणापत्र अर्थात् मूल ग्रन्थहरूमा यिनै शब्दहरूको ‘खेल’ अनेक ढंगले गरिएको हुन्छ- ‘सर्वहारा, किसान, श्रमिक, मजदुर वर्गको अधिनायकत्व’ भनेर ।
यही कारण पनि हो सायद- पंक्तिकार ‘कम्युनिस्ट’ शब्दसँग अत्यन्त मोह राख्छ । विश्वमा सबैभन्दा धेरै यिनै वर्गका मानिस छन्, जो बिहान-बेलुकाको गाँस जोड्न २४ घन्टामा १८ घन्टा कम्तीमा शारीरिक श्रम गर्न बाध्य छन्-चाहे मजदुरीका नाममा होस् वा खेती/किसानीका नाममा । कतिपयले त २४सै घन्टा श्रम गरे पनि मुस्किलले जीवन धान्न सकेका छन् ।
यस्ता निरीह वर्गको उत्थान गर्ने, यिनै वर्गको सत्ता स्थापित गर्ने मान् लक्ष्य भएको कम्युनिस्टप्रति मोह नहुनेलाई त ‘फन्टुसलाल’ भनिदिए हुन्छ भन्ने लाग्छ ।
हुन पनि हो- हिजोको जार शाहीको दबदबा रहेको सोभियत संघमा भएको अक्टुबर क्रान्तिपछिको आजको रुसको आर्थिक र सामरिक अवस्था हेर्दा, चीनमा माओत्सेतुङले उठाएको कम्युनिस्ट क्रान्तिको रातो डण्डाले ५० वर्षको अवधिमा चीनले गरेको समग्र क्षेत्रको प्रगति देख्दा पंक्तिकार जस्ता मानिसहरूले कम्युनिस्ट शब्दमा विकास, समृद्धि, स्थिरता र सुशासन देख्नु अन्यथा पनि होइन होला ।
‘वाकुन्जेल खाऊ, मुखमा भने पट्टी लगाऊ’को नीतिले चलेको हुन्छ भनिन्छ कम्युनिस्ट शासन व्यवस्था । एक दलीय तानाशाहीका रूपमा चल्ने कम्युनिस्ट शासन व्यवस्थामा सत्ताधारीको विरोध वा आलोचना अस्वीकार्य हुन्छ । सत्ताधारी भन्नाले कम्युनिस्ट पार्टीको प्रमुख । कम्युनिस्ट पार्टीको प्रमुखले जे नीति बनायो, त्यो लागू हुन्छ, त्यसको खिलाफमा कसैले चुँ गरेमा सोझै सफाया !
यही भएर पनि पंक्तिकारलाई कम्युनिस्ट मनपर्छ ।
हो नि त- देशको विकास गर्नु छ भने अनेकथरिका वादविवाद र आलोचनामा अल्झिइरहने होइन, फटाफट योजना बनाउने, काम गर्ने । विरोध र आलोचना भनेका काम गर्नमा अवरोध मात्र हुन् । अवरोधहरूलाई सजिलै पन्छाउने अचुक उपाय भनेको विरोधी वा आलोचकको सफाया मात्र हो ।
‘देश विकास’ र ‘जनहित’का सवालमा कसैले आलोचना वा विरोध गरेमा सोझै शूलीमा तुन्द्रुङ्ग पारिदिन्छन्, काका हुन् कि मामा, भान्जा हुन् कि भतिजा, भिनाजु हुन् कि ज्वाइँ साहेब ! ती मान्छे त औधी मनपर्छ अझ । गर्ने नै त्यही हो, नभए कसरी सर्वहारा, श्रमिक, किसान र मजदुरको अधिनायकत्व स्थापना हुन सक्छ ?
उत्तर कोरियातिर छन् एक जना महसूर । ‘देश विकास’ र ‘जनहित’का सवालमा कसैले आलोचना वा विरोध गरेमा सोझै शूलीमा तुन्द्रुङ्ग पारिदिन्छन्, काका हुन् कि मामा, भान्जा हुन् कि भतिजा, भिनाजु हुन् कि ज्वाइँ साहेब ! ती मान्छे त औधी मनपर्छ अझ । गर्ने नै त्यही हो, नभए कसरी सर्वहारा, श्रमिक, किसान र मजदुरको अधिनायकत्व स्थापना हुन सक्छ ?
तर, यी विश्व परिवेशका सन्दर्भ सम्झिइरहँदा आफ्नै देशका ‘कम्युनिस्ट’ देखेर भने उदास हुन्छ पंक्तिकार । दर्जनौँ छन् अगाडि ‘कम्युनिस्ट’ जोडिएका पार्टीहरू नेपालमा । अमिवा भन्ने जीवले आफ्नो अंग टुक्र्याउँदै अनेक आफू जस्तै जीव बनाए जसरी नै पुष्पलालहरूले जन्माएको नेपाल कम्युनिस्ट पार्टीले अगाडि-पछाडि अनेक फुर्का जोडेर दर्जनौँ कम्युनिस्ट पार्टी जन्माएको छ हामीकहाँ । यी कम्युनिस्ट पार्टीहरू सबै एक हुने हो भने देशकै ठूलो पार्टी बन्न सक्छ कम्युनिस्ट पार्टी । तर, कुनै गुणस्तरको यस्तो सुपर ग्लु बनेको छैन, जसले यी टुक्रे-खुद्रे कम्युनिस्ट नामधारी पार्टीलाई जोडेर एक बनाओस् ।
यो सन्दर्भलाई थाँती राखौँ ।
प्रसंग मोडौँ २ वटा ठूला कम्युनिस्ट पार्टीका बारे ।
भर्खरै देशका २ वटा ठूला नाममा ‘कम्युनिस्ट’ शब्द जोडिएका पार्टीहरूले महाधिवेशन सम्पन्न गरे । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व आएका छन् । एमालेको सम्पूर्ण नेतृत्व सार्वजनिक भइसकेको छ भने माओवादी केन्द्रका अध्यक्ष साविककै पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेका छन् । अन्य पदाधिकारी छनोट/चयन जारी छ ।
यी महाधिवेशनमा पूर्वअनुमानित दृश्य नै बढी देखियो । एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्रतिवादमा केही जनहरू नउफ्रिएका होइनन् । भीम रावल, घनश्याम भुसाल प्रवृत्तिहरू केही बित्ता उचालिएका अवश्य हुन् । ‘केपी ओलीको अहं धुलिसात् पार्न’ भीम रावल चुनाव भिडेकै हुन् । भुसाल पनि चुनाव भिडेकै हुन् । तर, दुवै जनालाई केपी ओलीको आशीर्वाद प्राप्तहरूले किनारा लगाइदिए । ‘केपी बा, आई लभ यु’ जमात एमालेमा निकै ठूलो छ र त्यसले ‘केपी बा’का अन्धभक्तबाहेककालाई ढिम्किन पनि दिँदैन ।
हो, यही चाहेको हो पंक्तिकारले पनि- आफूलाई कम्युनिस्ट भन्नेले खास कम्युनिस्ट चरित्र त देखाउनुपर्यो नि ! कम्युनिस्ट चरित्र नै यही हो कि जो पार्टी सत्तामा छ, त्यसको खिलाफमा कोही उभिन पाउँदैन, उभिइहाले उहिले भए ‘खरानी’ हुन्थ्यो, अहिले मानवअधिकारको डरले ‘रिङ आउट’सम्म हुन्छ, जसरी एमालेमा रावल र भुसाललगायतका भए ।
उता, नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा पनि उस्तै दृश्य देखिएको छ । झण्डै साढे ३ दशक पार्टी सत्ता कब्जा गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुन चौथो दशकका लागि पार्टी अध्यक्ष चयन भएका छन् । माओवादीभित्र पनि वैकल्पिक नेतृत्वको बहस चलेको हो, पदाधिकारीमा २ कार्यकाल मात्रको चर्चा पनि भएकै हो, जसरी एमालेमा ७० वर्षे उमेर हदको व्यापक चर्चा थियो । अन्ततः केपी ओली ७० टेक्न केही दिन बाँकी रहेको तर्कका आधारमा पुनः ‘ओलीजीकी जय’मा पुग्यो एमाले । माओवादीभित्रका उल्लिखित बहस र चर्चा पनि ‘प्रचण्डपथ जिन्दावाद’मा पुगेर टुंगियो ।
माओवादीभित्रका ‘रावल’ र ‘भुसाल’हरू अर्थात् राम कार्की, देव गुरुङ, हरिबोल गजुरेल र लेखनाथ न्यौपानेहरू ‘फरक मत’का पोका बोकेर केही छिन रमाए महाधिवेशन हलमा । मंचमा गएर हात हल्लाउने अवसरका रूपमा उनीहरूको फरक मत काम लाग्यो र तत्कालै महाधिवेशनले उनीहरूका फरक मतलाई ‘फ्रक’ लगाइदियो ।
पार्टीभित्र सुधार, सांगठनिक संरचनामा परिमार्जन, नेतृत्व चयन प्रक्रियामा लोकतान्त्रीकरण संसदीय लोकतान्त्रिक भासमा जाकिइसकेका कम्युनिस्ट नामधारी पार्टीहरूका लागि सामान्य र स्वाभाविक हुनुपर्ने हो । तर, आफूलाई कम्युनिस्टको धङधङीबाट मुक्त गर्न पनि नसक्ने, सत्तामा चढ्ने भर्याङका लागि ‘लोकतन्त्र’को मुखुण्डो पनि लगाइरहनुपर्ने दुखद् बाध्यता हाम्रा कम्युनिस्टहरूमा छँदै छ ।
तर, उनीहरूमा लोकतान्त्रिक आचरण र सोच अनि व्यवहार भने शून्यकै अवस्थामा छ । त्यसो त ठूलै लोकतन्त्रको पहरेदार दाबी गर्ने नेपाली कांग्रेसमा पनि लोकतन्त्रको हविगत स्थापनाकालदेखि आजपर्यन्त देखिइरहिएकै छ ।
कुरो अन्तै मोडिने डर छ । भन्न खोजेको कुरा भने यो हो कि हाम्रा २ वटा ठूला कम्युनिस्ट पार्टीका महाधिवेशन भए । दुवै पार्टीका महाधिवेशनले कम्युनिस्ट पार्टी भनेको व्यक्तिकेन्द्री तानाशाही पार्टी हो र नेतृत्वले जे चाह्यो, कम्युनिस्ट पार्टीमा त्यही हुन्छ भन्ने सिद्ध गरिदिएका छन् । नेतृत्वका खिलाफमा जो बोल्यो, बढ्यो, त्यो धुलिसात् भयो, यसमा २ मत छैन ।
एमालेमा रावल, भुसाल र माओवादी केन्द्रमा कार्की, गुरुङ, गजुरेल, न्यौपाने कामरेडहरूले ओली र प्रचण्डका सामु अन्ततः चिसै पानीले नुहाउनुभयो । यो पुसको जाडोमा कति विधि ठण्डी लागिरहेको होला, कठै !