आम्स्टरडाम शहर, अनगिन्ती नहर, डुंगा चढ्ने रहर

आम्स्टरडाम शहर, अनगिन्ती नहर, डुंगा चढ्ने रहर

डा. सदानन्द कडेल  |  दृष्टिकोण  |  पुस २३, २०७८

नयाँ ठाउँमा यात्रा गर्ने भन्नेबित्तिकै फुरुङ्ग पर्छु म । खै किन हो कुन्नि ? सानैदेखि लागेको बानी हो यो । झन् विदेशको यात्रा भनेपछि त आकाशिन्छ मन अनि विचरण गर्न थाल्छ सेतो बादलको थुङ्गा माथिमाथि ।

ठ्याक्कै १५ महिनापछि फेरि दोस्रो पटक नेदरल्याण्ड्सको आम्स्टरडाम जाँदै छु । दोहोर्‍याएर जाँदा अलिक कौतूहल कम हुनु त स्वाभाविक नै हुन्छ तथापि यस पटकचाहिँ एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा आफूले प्रस्तुतीकरण दिनुपर्ने र आम्स्टरडामको क्यानलमा डुंगाबाट यात्रा गर्ने रहरले मन पुलकित छ । 

रातको १२.४५ बजे नयाँ दिल्लीबाट उडेको नेदरल्याण्ड्सको ध्वजाबाहक शाही डच एयरलाइन्स केएलएमको भीमकाय हवाईजहाज आफ्नो रफ्तारमा उडिरहेको छ । अधिकांश यात्रुहरू मस्त निद्रामा छन् । कोहीकोही त मज्जाले घुरिरहेका छन् । अक्सर यात्रा गर्दा झ्यालको सिटका लागि अनुरोध गर्ने बानी थियो मेरो । तर, यस पटक ‘रातको यात्रामा केही देखिँदैन’ भन्ने सोचेर त्यसतर्फ वास्तै गरेको थिइनँ । संयोगबस झ्यालकै सिट पर्न गएछ । बाहिर चिहाएर हेरेँ, अन्धकारसिवाय केही देखिएन ।  

घडी हेर्दा नयाँ दिल्लीबाट उडेको ७ घण्टा भइसकेको रहेछ । ‘अब एक घण्टामा त पक्कै ल्याण्ड गर्ला’ भन्ने ठानेर छिट्टै नै फ्रेस भई ह्याण्ड क्यारीवाला झोलाबाट डायरी झिकेर लेख्न थालेँ ।

हरेक पटक विदेश यात्रा गर्नुअघि कार्यालयमा आफ्नो जिम्मेवारीका केही काम सकेर मात्र जानुपर्ने हुँदा सदैव अतिव्यस्त हुनुपर्ने अवस्था सिर्जना हुन्थ्यो । यस पटक त्यस्तै नै भयो । बैंककस्थित एसिया क्षेत्रीय कार्यालयमा पठाउनुपर्ने त्रैमासिक रिपोर्ट तथा अन्य केही जरुरी काम भएकाले शनिबार र आइतबार बिदाको दिन पनि अफिसमै गएर व्यस्त भइयो । सोमबार बिहानै नयाँ दिल्ली उडेको भए पनि ट्रान्जिटमा लामो समय बस्नुपरेकाले अलिक दिक्क लागेको थियो ।   

यसरी बिगत २ दिनका कुरा सम्झिरहेका बेला ‘केही बेरपछि प्लेन अवतरण हुने’ सूचना पाउँदा निकै रमाइलो लाग्यो । झ्यालबाट बहिर हेर्दा आकाश रातोरातो देखियो । झिसमिसे हुन लागेको जस्तो भान भयो । ८ घण्टाको उडानपश्चात २०६० सालको असार ३० गते दोस्रो पटक आम्स्टरडामको सिफोल एयरपोर्टमा अवतरण गरियो । 

एयरपोर्टको आगमन कक्षमा बेल्ट नम्बर १७ आगाडि उभिएर आफ्नो ब्यागेज झिक्न लाग्दै थिएँ, नजिकै आफ्नै अफिसका पूर्वी अफ्रिकाका क्षेत्रीय सिकाइ सल्लाहकार वाइजम्यान देखापरे । हतारमा ब्यागेज उठाएर ट्रलीमा हाल्दै म उनीतिर हान्निएँ ।

‘ए, वाइजम्यान, तपाईंलाई भेट्दा खुसी लाग्यो’, मैले हात मिलाउन खोज्दै अंग्रेजीमा भनेँ । उनले अलिक अक्मकिँदै हात अघि बढाएर भने, ‘हलो, लर्निङ एडभाइजर फ्रम नेपाल, आई फर्गट योर नेम ।’ मेरो नाम बिर्से पनि नेपालको सिकाइ सल्लाहकार हो भन्नेचाहिँ याद रहेछ उनलाई । ३ वर्षअघि हाम्रो भेट इन्डोनेसियामा भएको थियो । एकै ठाउँमा जान लागेको साथी भेटिएपछि एकदम रमाइलो भयो । 

वाइजम्यानसँगै म सिफोल एयरपोर्टबाट बिहानको ६.१० बजे बाहिर निस्किएँ । सुरुमा त उनको शरीरमा स्वेटरमाथि ज्याकेट देखेर म छक्क परेको थिएँ किनकि आम्स्टरडाममा जाडो थिएन । पछि ज्याकेट फुकाल्दै दक्षिण अफ्रिकाको जोहनेसबर्गमा माइनस ३ डिग्री तापक्रम पुगेको कुरा उनले सुनाए ।  

हामी सटल बसमा चढ्यौँ । २ जना गफ गर्दै, घरिघरि झ्यालबाट शहरको दृश्यावलोकन गर्दै थियौँ । एकैछिनमा होटल नोभोटेल आम्स्टरडाम सिटीको कम्पाउण्डमा लगेर बसले झारिदियो । एक जनाको भाडा ८.५० युरो पर्ने रहेछ ।    

रिसेप्सनमा होटलकी एक कर्मचारीले पासपोर्ट हेर्दै सहभागीहरूको लिस्ट हेरेर चिनो लगाइन् । ‘चेक इन’ गरेर सातौँ तलाको कोठा नम्बर ७५७ को साँचो दिइन् । चिया, कफी बनाएर खाने सुविधाका अतिरिक्त मिनी बार, लकर, आइरन तथा पे च्यानल आदि सुविधा भएको कोठा भव्य रहेछ । कोठामा फ्री वाईफाईको सुविधा भने थिएन ।  

आधा दिन फुर्सद भएको हुनाले बेल्जियमको ब्रसेल्स पुगेर फर्किन भ्याइन्छ कि भनेर रिसेप्सनमा सोधपुछ गरेँ । उनीहरूलाई खासै थाहा रहेनछ । ‘राई स्टेसनमा गएर सोधेमा राम्रो हुने’ उनीहरूको सल्लाहलाई शिरोपर गरेर त्यतातिर गएँ । मलाई आफ्नै अफिस जाम्बियाका सिकाइ सल्लाहकार जोसेफले साथ दिए । राई स्टेसनमा सोधपुछ गर्दा एउटी केटीले भनिन्, ‘३ घण्टाभन्दा बढी लाग्छ, आजै फर्किन गाह्रो होला ।’

जोसेफले पनि आम्स्टरडाममै घुम्न छाडेर हतारमा ब्रसेल्स नजान सल्लाह दिए । गत वर्ष पेरिसबाट जान खोज्दा पनि मिलेको थिएन । यस पटक पनि त्यस्तै भयो । खै, अब बेल्जियम जाने दिन आउला जस्तो छैन । खिन्नताले चिमोटेको जस्तो लाग्यो आफैँलाई ।  

राई स्टेसनबाट भूमिगत मेट्रोको टिकट लिएर हामी सेन्ट्रल स्टेसनतिर लाग्यौँ । युरो ३.२० को टिकट लिएपछि एक घण्टाका लागि प्रयोग गर्न सकिने रहेछ । मेट्रो त धेरैजसो भूमिगत नै रहेछन् तर पेरिसको जस्तो ठूलो भूमिगत मेट्रो संजाल भने रहेनछ ।  

मेट्रो रेल शहरभित्र पसेपछि बाहिरको दृश्य देखिने कुरा भएन । अनि, मेरो मनमा नानाथरी कुरा खेल्न थाले । यस्तै मेट्रो रेल काठमाडौंमा संचालन गर्न सके त कलंकी, सातदोबाटो, कोटेश्वर, त्रिपुरेश्वर तथा चाबहिलको जाम हटाउन कत्ति सहज हुन्थ्यो होला ? म आम्स्टरडाममा होइन, काठमाडौंकै भूमिगत मेट्रोमा छु जस्तो कल्पना हुन थाल्यो ।

पारदर्शी सिसाबाट भित्र सहजै देखिन्थ्यो । कोही यौनकर्मीहरू सिसाभित्र कामुक भावाकृतिका साथ उभिएका थिए भने कोही ढोकामा स्टुल राखेर बसेका थिए । कोही ढोकाबाट स्वागत गरिरहेका थिए । उनीहरूले लगाएका ड्रेसको वर्णन गर्न अलिक शब्दको अभाव भएजस्तो लाग्यो किनकि ‘अर्धनग्न’ शब्दले मात्र त्यसलाई न्याय गर्न सक्दैन ।  

घर नजिकै कलंकी चक्रपथबाट भूमिगत मेट्रोमा पसेपछि फुत्त रत्नपार्कमा निस्किँदा क्या मज्जा हुन्थ्यो होला ! एयरपोर्टबाट मेट्रो चढेर बिनाजाम एकैचोटि कलंकी पुग्दा कस्तो बेजोड आनन्द आउँथ्यो होला ! यसरी सोचिरहेका बेला ‘बाग्मती र विष्णुमतीमा के गर्ने ? नदीभन्दा मुनि कसरी सुरुङ बनाउने होला ?’ भन्ने प्रश्नले मेरो मन-मथिङ्गल खल्बल्याइदियो । अर्को मनले सान्त्वना दिँदै भन्यो, ‘हैट, के सोचेको होला ? नदीमा मेट्रोलाई माथि निकालेर ओभरग्राउण्ड गर्दा भइहाल्यो नि !’ 

यतिकैमा जोसेफले भने, ‘सदान्, तिमी कता हरायौ ? हाम्रो स्टेसन आइपुग्यो ।’

मेट्रोको ५-६ स्टेसन पार गरेर हामी सेन्ट्रल स्टेसन नजिकै पुगिसकेछौँ । ‘धेरै मान्छे जता जान्छन्, त्यतै लाग्नू’ भन्ने सल्लाहलाई अनुसरण गरेर हामी अघि बढ्यौँ । आम्स्टरडामको मुटुमै रहेको सेन्ट्रल स्टेसन नेदरल्याण्ड्सको मुख्य अन्तर्राष्ट्रिय ‘रेल्वे हब’ रहेछ । एक दिनमा झन्डै २ लाख यात्रुहरूले यो स्टेसन प्रयोग गर्ने रहेछन् ।

सेन्ट्रल स्टेसन नजिकैको ड्याम स्क्वायर नै आम्स्टरडामको मुख्य चिनारी दिने ठाउँ रहेछ । ड्याम स्क्वायरकै पश्चिम भागमा डच शाही प्यालेस पनि रहेछ । जोसेफलाई मैले अघिल्लो साल त्यहाँ घुमेको अनुभव सुनाएँ । उनको भने युरोपमै यो पहिलो यात्रा रहेछ ।  

संविधानअनुसार नेदरल्याण्ड्सको राजधानी आम्स्टरडाम नै भए पनि सरकारी मुख्य कार्यालयहरू, महारानी तथा प्रधानमन्त्रीका कार्यालय हेगमा रहेछन् । आम्स्टरडाम सेन्ट्रल स्टेसनबाट रेलमा यात्रा गरेमा ५१ मिनेटमा हेग पुग्न सकिने रहेछ ।  

भोलिपल्ट बिहान हामी आम्स्टरडामकै भान बोसुइजेन स्ट्रिटमा रहेको प्लान इन्टरनेसनल नेदरल्याण्ड्स नेसनल अफिसतर्फ पैदल यात्रा गर्न लागेका थियौँ । होटल अगाडि एक जना ठिटो दौडेर आए । ‘एक वर्षपछि तिमीलाई भेट्न पाएकामा क्या खुसी लाग्यो’ भन्दै उनले मलाई गम्लङ्ग अँगालो हाले । उनी थिए, हाम्रै अफिस चीनका सिकाइ सल्लाहकार झांगजुन (टोनी) । उनी मेरा मिल्ने मित्र थिए । आम्स्टरडाममा मेरो एउटा विशेष साथी पनि भएको अनुभूतिले मलाई निकै सन्तुष्टि दियो ।  

टोनीसँग रमाइलो कुराकानी गर्दै हामी २० मिनेटमै गन्तव्यमा पुग्यौँ । शहरको सफाई, चलिरहेका गाडीहरू र पैदल यात्रीहरूको अनुशासन बिछट्टै राम्रो लाग्यो । सडक छेउछाउका चउर, फूलबारी, हरियाली र फुलिरहेका वृक्षहरू मोहनी लगाउने खालका थिए ।

शहरको १५ प्रतिशत भूभाग बगैँचाले ओगटेको रहेछ । ठाउँठाउँमा लक गर्न मिल्ने साइकल स्ट्याण्ड देखेपछि मलाई नेपाल भ्रमणका बेला सास्कियाले भनेको कुरा याद आयो । उनले विभिन्न शहरमा आफ्ना १४ वटा साइकल भएको कुरा बताएकी थिइन् । आम्स्टरडाम विश्वकै प्रमुख साइकलमैत्री शहरमध्येको एक रहेछ, जहाँ ९ लाखभन्दा बढी साइकल रहेछन् ।  

अफिसमा पुगेपछि एभ्लिन र सास्कियासँग भेट भयो । उनीहरूले धेरै खुसी हुँदै आफ्नो कोठा तथा पूरै अफिस घुमाउँदै अन्य साथीहरूसँग परिचय पनि गराए । केही वर्षअघिको बाँके भ्रमणको कुरो उठ्नेबित्तिकै पुर्पुरोमा हात राखेर एभ्लिनले भनिन्, ‘थ्याङ्क्स गड, बुद्ध एयर !’

त्यसपछि सास्कियाले पनि ‘त्यो अत्यन्तै डरलाग्दो हवाई यात्रा आफूले कहिल्यै नभुल्ने’ बताइन् ।

केही वर्षअघि दुवै जनाले नेपाल भ्रमण गर्ने क्रममा हामी सँगै बुद्ध एयरमा नेपालगंज गएका थियौँ । चैत महिना भएकाले हुरीका कारण नेपालगंज पुग्नुअघि प्लेन अलिक तल झरेको र बढी हल्लिएकाले उनीहरू डराएर डाको छाडेर रोएका थिए ।  उनीहरूले सानो प्लेनमा यात्रा गरेका रहेनछन् । पछि दुवैले नेपालको प्राकृतिक सुन्दरताको मुक्त कण्ठले प्रशंसा गरे । नेपालको कार्यक्रम पनि धेरै राम्रो भएको कुरा बताए ।  

नेदरल्याण्ड्स नेसनल अफिसको हलमा कार्यक्रम सुरु भयो । ग्लोबल सिकाइ सल्लाहकार डा. सत्य भर्गिज फ्रान्सिसद्वारा संचालित कार्यक्रममा सोही अफिसकै निर्देशकले सबैलाई स्वागत गरे । नेपाल, पाकिस्तान, चीन, भियतनाम, केन्या, जाम्बिया, टोगो, घाना, निजर, दक्षिण अफ्रिका, बुर्किना फासो, पेरु, इक्वेडर, बोलिभिया, होन्डुरस, बेलायत र नेदरल्याण्ड्सका ३० जना सहभागीहरू उपस्थित उक्त कार्यक्रममा नेपालको विद्यालय सुधार योजनासम्बन्धी मेरो प्रस्तुतीकरण सुरुमै  राखिएको थियो । सकिनेबित्तिकै राम्रो प्रस्तुति भएकामा बधाई दिँदै सेसनपछि थप जिज्ञासा मेटाउन केही सहभागीहरूले छुट्टै कुरा गर्नका लागि अनुरोध गरेकाले मलाई निकै हौसला मिलेको थियो ।  

‘कसरी समय निकालेर क्यानलमा (नहर) बोटिङ गर्न जाने होला ?’ भन्ने प्रश्नले आफूलाई अचेटिरहेका बेलामा अन्तिम सेसनमा डा. फ्रान्सिसले ‘आयोजकले नै इच्छुक सबै सहभागी साथीहरूलाई क्यानलमा बोटिङ गर्न लैजाने योजना भएकाले सेसन सकिनेबित्तिकै तयार रहन अनुरोध’ गरे । १५ महिना अघिदेखिको आम्स्टरडामको नहरमा डुंगा चढ्ने रहर पूरा हुन गइरहेकाले मयुरझैँ नाच्न थाल्यो मेरो मन ।  

एउटा गाडीले सबैलाई होटल नोभोटेल पुर्‍याइदियो । १५ मिनेटमै झोला कोठामा राखेर आउन गरिएको अनुरोधलाई सबैले पालना गरे । हामी क्यानलतिर हान्नियौँ । 

बोटिङ गर्न चाहनेहरू १६ जना मात्र थियौँ । नेदरल्याण्ड्स अफिसबाट सहजीकरणका लागि मारिका आएकी थिइन् । उनी निकै नै फरासिली र बोलक्कड रहिछन् । एउटा मोटर बोटमा हामी सबैलाई बस्न आग्रह गरिन् । एउटा कार्टुनबाट क्यान बियर निकालेर वितरण गर्दै मारिकाले भनिन्, ‘सबै जनालाई नेदरल्याण्ड्समै उत्पादित हेनेकेन बियरले स्वागत गर्न चाहन्छु । बियर र स्न्याक्ससँगै बोटिङको मज्जाको आनन्द लिनुहोस् है !’ 

उनले स्न्याक्स पनि बाँड्ने काम गरिन् । बियरको विकल्पमा मिनरल वाटर पनि निकालिन् । बियर र मिनरल वाटरको मूल्य उस्तैउस्तै पर्ने युरोपमा बियरचाहिँ ‘सफ्ट ड्रिंक्स’को रूपमा अफिसको बिलमै समावेश गर्न मिल्ने रहेछ ।  

क्यानलका २ किनारामा सडक तथा अग्लाअग्ला भवनहरू देखिन्छन् । सडकको पेटीमा पैदल यात्रीहरू हिँडिरहेका छन् । सडकभन्दा तल रहेको क्यानलमा डुंगामा यात्रा गर्दा मज्जा आइरहेको छ । बीचबीचमा सडकका पुलहरूमुनिबाट डुंगा छिर्दा ज्यादै नै आनन्द आउने रहेछ ।   

आम्स्टरडाम शहरमा १६५ वटा क्यानलहरू रहेछन् । ती क्यानलमाथि करिव एक हजार ५०० पुलहरू रहेछन् ।  समुद्र सतहबाट २ मिटर तल रहेको शहर रहेछ यो । सन् १२७० मा आम्स्टेल नदीमा ड्याम (बाँध) बाँधेर शहर निर्माण गरिएकाले नै यसको ‘आम्स्टरडाम’ नामकरण गरिएको रहेछ । विश्वमै सबैभन्दा बढी क्यानल भएको शहर भएकाले इटालीको भेनिसलाई ‘क्यानलको शहर’ वा ‘फ्लोटिङ सिटी’ भनिँदोरहेछ । त्यसैगरी आम्स्टरडामलाई क्यानल धेरै भएकै कारणले ‘भेनिस अफ द नर्थ’ भन्ने चलन पनि रहेछ ।  

क्यानलमा पानी सफा नै देखिएकाले ‘कसरी सरसफाई व्यवस्थापन गरिन्छ त ?’ भन्ने मेरो प्रश्नमा मारिकाले भनिन्, ‘हिउँदमा हप्तामा ४ पटक र वर्षा याममा २ पटक ड्यामबाट बढी पानी पठाएर सफाई (फ्लस) गरिन्छ । शहरको ढललाई पाइपबाट उत्तरी समुद्र (नर्थ सी)मा मिसाइन्छ ।’ हरेक दिन क्यानलको पानीको गुणस्तर मापन गरिने रहेछ ।      

सालाखाला ८.५ फिट गहिराइ भएका क्यानलहरूको छेउछाउमा हाउसबोटहरू (डुंगे घर) देखिए । शहरमा चर्को भाडा तिर्न नसक्नेहरू जिन्दगीभर हाउसबोटमै बस्ने पनि रहेछन् । कतिपय मानिसचाहिँ रमाइलोका लागि छोटो समय त्यहाँ बस्दा रहेछन् । मारिकाले उनको परिवार पनि धेरै वर्ष हाउसबोटमै बसेको खुलासा गरिन् । आम्स्टरडाममा झन्डै ३ हजार हाउसबोट रहेछन् ।  

डुंगाको यात्रामा अघि बढिरहँदा रेड लाइट डिस्ट्रिक्ट क्षेत्रमा सिसाको झ्यालभित्र रहेका अर्धनग्न अवस्थाका यौनकर्मी महिलाहरू देखिए । केही अफ्रिकी साथीहरूले उभिएर एक हातमा क्यान बियर उठाउँदै ती महिलाहरूलाई हात हल्लाउन थालेपछि केन्याकी मार्गरेटले उनीहरूलाई शान्त रहन आग्रह गरिन् । उनीहरूको शारीरिक भावभंगीले धेरैवटा क्यान बियर सिध्याएको छनक दिन्थ्यो ।  

डुंगाको सफर सकेर हामी शहरको बीच भागमा निस्कियौँ । त्यहाँ १० बजेतिर मात्र साँझ पर्ने रहेछ । सबै जना एउटा इन्डोनेसियाली रेस्टुरेन्ट आगाडि फुटपाथमा राखिएका कुर्सीमा बस्यौँ । डिनर खाएर बिल मगाइयो । सबैले मिलेर बिल तिर्‍यौँ । एकजनाको भागमा ३१ युरो पर्न गयो । निकै महँगो रहेछ । एउटा बसमा हामी राती १२ बजे होटल फर्कियौँ ।  

दोस्रो दिनको सेसन सकिएपछि पनि आयोजकद्वारा नै शहर भ्रमणको व्यवस्था गरिएको थियो । नेदरल्याण्ड्स नेसनल अफिसका निर्देशक पनि हामीसँगै थिए । शहरका थुप्रै टोल घुमेपछि वेस्टर्न चर्च नजिकै हाम्रो बस रोकियो । त्यहाँ एउटी ‘कुना’ नाम भएकी टुरिस्ट गाइड हाम्रो टिममा मिसिइन् र आफ्नो काम सुरु गरिन् ।

शहरको सबैभन्दा पुरानो भाग नै रेड लाइट डिस्ट्रिक्ट भएको ठाउँ रहेछ । त्यहाँबाट क्यानल खन्दै, सडक बनाउँदै, घर बनाउँदै शहरको विस्तार गरिएको रहेछ । धेरै वर्ष पहिले शहरमा बत्ती नभएका बेला यौनकर्मी महिलाहरूले आफूलाई चिनाउन रातो घेरा भएको बत्ती लिएर बस्ने गरेकाले ‘रेड लाइट’ शब्द चर्चामा आएको रहेछ ।   

कुनाले हामीलाई एउटा साँघुरो गल्लीमा लगिन् र भनिन्, ‘यो आम्स्टरडामको मुख्य रेड लाइट डिस्ट्रिक्ट हो ।’ गल्लीको दुवैपट्टि यौनालयहरू थिए । पारदर्शी सिसाबाट भित्र सहजै देखिन्थ्यो । कोही यौनकर्मीहरू सिसाभित्र कामुक भावाकृतिका साथ उभिएका थिए भने कोही ढोकामा स्टुल राखेर बसेका थिए । कोही ढोकाबाट स्वागत गरिरहेका थिए । उनीहरूले लगाएका ड्रेसको वर्णन गर्न अलिक शब्दको अभाव भएजस्तो लाग्यो किनकि ‘अर्धनग्न’ शब्दले मात्र त्यसलाई न्याय गर्न सक्दैन ।  

कुनाले हिँड्दै बताउँदै गइन्, ‘धेरै वर्ष अघिदेखि यौन व्यवसाय हुने गरेको भए तापनि नेदरल्याण्ड्स सरकारले कानुनी रूपमा खुला मान्यता दिएको चाहिँ सन् २००२ देखि हो । १८ वर्षमुनिकालाई यस पेसामा लाग्न बन्देज लगाइएको छ ।’ 

कुनासँग नजिकै डच निर्देशक, म, फडिमता, मार्गरेट, टोनी, नुबिया, जोसेफ आदि थियौँ । मैले निर्देशकलाई आफू यो दृश्यले निकै अचम्भित भएको कुरा बताएँ । उनले सम्झाउँदै भने, ‘रहस्यमय कुरालाई खुला बनाएपछि एचआईभी एड्स नियन्त्रण गर्न सहयोग पुग्छ भन्ने धारणा छ हाम्रो सरकारको । सोहीअनुसार यो घातक रोगको संक्रमण नेदरल्याण्ड्समा घट्दै गएको पनि छ ।’ 

कुनाले आम्स्टरडाम अन्तर्राष्ट्रिय यौन पर्यटनको गन्तव्य भएको कुरो सगौरव बताइन् । झन्डै ४४ वटा मुलुकका २५ हजार यौनकर्मीहरू सक्रिय रहेछन् त्यहाँ । उनले नगरपालिकाले नै सबै यौनकर्मीको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको र हरेक यौनकर्मीले कानुनअनुसार कर तिर्ने कुरा पनि बताइन् ।  

त्यसै बेला पश्चिम अफ्रिकाकी क्षेत्रीय सिकाइ सल्लाहकार फडिमता अलिन्चरले सोधिन्, ‘कुना, यहाँ पुरुष यौनकर्मीहरू छैनन् ?’ 

‘म त्यही कुरा भन्न लाग्दै थिएँ, जुन तपाईंले सोध्नुभयो’ भन्दै कुनाले फडिमताको प्रश्नलाई सम्बोधन गर्न थालिन् । सुरुमा पुरुष यौनकर्मीहरूले पनि काउन्टर राखेका तर पर्यटक महिलाहरू आएर ती पुरुषहरूलाई हेरेर मात्र फर्किने गरेकाले राम्रोसँग चल्न नसकेर बन्द भएको कुरो उनले बताइन् । तर, भित्री रूपमा अझै पनि महिला ग्राहकले सम्पर्कमार्फत सेवा लिने गरेको उनले प्रस्ट पारिन् ।  

संसारमा सबैभन्दा पहिले समलिंगी विवाहलाई कानुनी मान्यता दिने मुलुक पनि नेदरल्याण्ड्स नै भएको कुरा कुनाले जानकारी दिइन् । हरेक व्यक्तिले ५ ग्राम लागू पदार्थ (ड्रग्स) खान पाइने कानुनी प्रावधान पनि रहेछ । यहाँका कफी सपमा ड्रग्स सजिलै पाइने रहेछ । त्यसैले नै एभ्लिन र सास्कियाले मलाई ‘आम्स्टरडाममा कफी सपमा सतर्क रहनू’ भनेका रहेछन् ।  

कुनाले हाम्रो टोलीलाई सेक्स म्युजियम र सेक्स पसलतिर पनि लिएर गइन् । आम्स्टरडाम विचित्रको शहर रहेछ । डचहरू यौन व्यवसाय तथा यौनालयसम्बन्धी सरकारी कानुनले विकृति बढाउने नभई नियन्त्रण गर्न मद्दत गर्छ भनेर गर्व गर्ने रहेछन् । डच निर्देशकले पनि सोही कुरामा जोड दिएका थिए । ती सबै कुराहरूको प्रत्यक्ष जानकारी दिनका लागि नै हामीलाई ‘अफिसियल’ ढंगले नै रेड लाइट डिस्ट्रिक्ट क्षेत्रको अवलोकन भ्रमण गराइएको रहेछ ।

साँझमा नेदरल्याण्ड्स अफिसले नै रिसेप्सनको आयोजना गर्‍यो एउटा इटालियन रेस्टुरेन्टमा । हरेक टेबलमा क्यान्डल बालिएको थियो । कलाकारहरूले अंग्रेजी, डच र इटालियन भाषामा गीत गाइरहेका थिए । आतिथ्य साह्रै नै मिठो भए पनि खानाचाहिँ दिक्कलाग्दो थियो । ‘दाल-भात पावर, ट्वान्टी फोर आवर’ सम्झिँदै डिनर खाएर होटलमा फर्किएँ ।