लोकसंवाद संवाददाता | समाचार | पुस २२, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रत्यक्ष भेटघाट बन्द गरेका छन् ।
बिहीबार नोटिस जारी गर्दै प्रचण्डको स्वकीय सचिवालयले अब पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्ने जानकारी दिएको छ । प्रचण्डको स्वकीय सचिवालयमा एक जनालाई कोरोना संक्रमण देखिएकाले ३ दिनदेखि प्रत्यक्ष भेटघाट र संवाद बन्द रहेको पनि जानकारी गराइएको छ ।
‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै विगत ३ दिनयतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदै छौँ । यस कारण पर्न गएको अप्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ । हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौँ । कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्नेछौँ । केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरूलाई समेत कोभिड संक्रमण पुष्टि भएकाले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौँ’, प्रचण्डको स्वकीय सचिवालयले जारी गरेको नोटिसमा उल्लेख छ ।