विभाजनको बाटोमा राप्रपा: 'विचार मिलेन भने पार्टीबाट म अलग हुन सक्छु'

विभाजनको बाटोमा राप्रपा: 'विचार मिलेन भने पार्टीबाट म अलग हुन सक्छु'

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस २३, २०७८

बहुदलीय प्रजातन्त्रको स्थापनासँगै २०४८ सालमा उदाएको पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी एकता र फुटको रोचक कहानी छ । यो पार्टी हरेक महाधिवेशनपछि या संसदीय निर्वाचन अघि या पछि पारेर विभाजित भइरहने गरेका छन्  ।

जब विभाजित भएर कुनै परिणाम हासिल हुँदैन, तब तत्कालै एक भइहाल्छ ।  २०७४ को निर्वाचनमा तीन टुक्रा भएर लडेको राप्रपाका विभिन्न समूहबीच एकता भयो । पटक पटक विभाजित हुँदै आएका राप्रपाका विभिन्न समूहबीचको एकताका क्रममा अध्यक्ष कमल थापाले त अब पार्टी विभाजित नगर्ने भन्दै हिन्दु धर्मशास्त्र गीता छोएर कसम खाए । गत महिना मात्र राप्रपाले एकताको महाधिवेशन गर्‍यो । 

एकता महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र विगतमा उनकै सहयोगी रहेका राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भयो । जसमा लिङ्देनले बाजी मारे । लिङ्देन अध्यक्ष भएपछि थापा शीतल निवासले हस्तक्षेप गरेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहसँग आक्रोशित भएर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । २०६३ मा देशमा लोकतान्त्रिक आन्दोलन सफल भएर गणतन्त्रतिर प्रवेश गर्दा थापा एक्लो रुपमा राजसंस्था र हिन्दु राष्ट्रको वकालत गरेका थिए ।

सोही कारण उनको राप्रपा नेपालले २०७० को संविधानसभा निर्वाचनमा २४ जित्न सफल भएको थियो । विगतमा राजसंस्थाका पक्षधर रहेका थापा आफू पराजित भएपछि भने राजसंस्थाको भूमिकामाथि प्रश्न उठाइरहेका छन् । 

उनले बिहीबार ट्विट गर्दै भनेका छन्, ‘राजसंस्थाको एजेन्डा बोक्दा प्रतिगामी सिनो बोकेर हिँड्यो भनेर मलाई सत्तोसराप गर्नेहरू अहिले मैले राजा राजनीतिभन्दा माथि रहनुपर्छ, पार्टीमा चलखेल गर्नुहुँदैन भन्दा मेरो खेदो खनिरहेका छन् । हाँसो लाग्छ । स्पष्ट होस्– विचार मिलेन भने पार्टीबाट म अलग हुन सक्छु र राप्रपा कदापि फुटाउने छैन ।’ 

थापाले राप्रपा फुटाउँदिन भनेर लेखेको स्ट्याटसमा नै फुटको गन्ध मिसिएको देखिन्छ । उनी लामो समयदेखि राप्रपाको अध्यक्ष र पार्टी राजनीतिको केन्द्रमा रहँदै आएका थिए । तर पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भएको हारले थापा रन्थनिएका छन् । उनी त्यसपछि पार्टीका गतिविधिमा पनि सक्रिय भएका छैनन् । बरु उनले पटक पटक फुटलाई मलजल गर्ने गरी बाहिर सन्देश प्रवाह गरिरहेका छन् ।

पार्टीको एजेन्डामा नै मतभेद आए पनि अब थापा नैतिक रुपमा अलग हुन्छन् या त्यही पार्टीमा बस्छन् भन्ने निश्चित छैन । यसले राप्रपामा सानोठूलो विभाजनलाई सघन बनाएको छ । आफू चुनावमा हारे लगत्तै उनले लिएको नीतिले उनकै जीवनमा बोकेको एजेन्डा समेत टुटेको छ ।

यसबाट एकताको महाधिवेशन लगत्तै राप्रपा फेरि विभाजनमा जान लागेको त हैन भन्ने प्रश्न उठाएको छ । पार्टीमा आफू भूमिकाबाट अलग्गिनुपर्ने अवस्था आएपछि उनको भविष्यका बारेमा धेरै कोणबाट व्याख्या गरिएको छ । कतिपय स्रोतले त उनी आफ्नै नेतृत्वमा नयाँ अभियान घोषणा गर्ने तयारीमा रहेको उल्लेख गरेका छन् । 

त्यस्तो भएमा उनले २७ पुस अर्थात् पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमै कुनै अभियान घोषणा गर्ने तयारी गरेको पनि बताइन्छ । महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि उनले ट्विट गर्दै निर्मल निवासप्रति आक्रोश व्यक्त गरेका थिए । उनले शीतल निवासले आफूलाई चुनाव हराएको बताइँदै आएका छन् । राजाले आफूलाई हराएको भन्दै आएका उनी अब राजालाई नबोक्ने बताउँदै आएका छन् ।

यसको अर्थ अब उनी गणतन्त्रको पक्षमा उभिन्छन् वा चुपचाप बस्छन् भन्ने निश्चित छैन । यद्यपि उनी राजनीतिमा चुपचाप बस्ने स्वभावका व्यक्ति भने हैनन् । त्यसकारण उनी यो आक्रोश शान्त भएपछि वा निर्मल निवासले हरियो बत्ती बालेमा त्यतै फर्किन वा नव गणतन्त्रवादी बन्न दुवैका लागि तयार हुने सम्भावना देखिन्छ । 

यद्यपि उनले लामो समयदेखि उठाउँदै आएको हिन्दु राज्यको एजेन्डा लिएर आफ्नै नेतृत्वमा अभियान सुरु गर्ने र पार्टीमा रूपान्तरण गर्ने कोसिस भने गर्न सक्छन् । यसैका लागि उनले २७ पुसको अवसर पारेर अभियान घोषणाको तयारी गरेको बताइन्छ । उनले आफू पार्टीमा विभाजन गर्न नचाहेको बताए पनि प्रकारान्तरले यो विभाजनको अर्को मोडल हो । जस्तो विगतमा संविधान बने लगत्तै तत्कालीन एकीकृत माओवादी विभाजित गर्न नचाहेको भन्दै अलग भएका बाबुराम भट्टराईले केही समयमा नै नयाँ शक्ति बनाउने भन्दै माओवादीबाट ठुलो पङ्क्तिसहित विभाजित गराएका थिए । थापाको पनि यस्तै रणनीति देखिएको छ । 

२०७६ सालमा पशुपति शमशेर र प्रकाशचन्द्र लोहनी नेतृत्वमा रहेका राप्रपाका समूहहरूबीचको एकताका क्रममा थापाले गीता छोएर अब कहिल्यै पनि बिभाजन नगर्ने प्रतिबद्धता जलाएका थिए । तर आफैँले खाएको कसम भुलेर थापा पार्टी विभाजनको अभियानतिर सोझिएको देखिन्छ । यद्यपि उनले सिधा राप्रपा विभाजित गर्नेभन्दा पनि अभियान सुरु गरेर बिस्तारै पार्टी दर्ता गर्ने र राप्रपामा रहेका आफू पक्षधर कार्यकर्तालाई आफूतिर तान्ने रणनीति लिने सम्भावना छ । 

हरेक महाधिवेशन र चुनावमा एकताको कुरा गरेर नथाक्ने राप्रपा फेरि एकता महाधिवेशन लगत्तै विभाजनतिर जाने खतरा देखिएको छ । राप्रपाले अहिले पनि राजसंस्थाको एजेन्डा उठाइरहेको छ भने थापा राजसंस्थाकै विरोधमा उभिएका कारण पनि थापा राप्रपामा कति समय रहन्छन् भन्ने समेत यकिन हुन कठिन छ । पार्टीको एजेन्डामा नै मतभेद आए पनि अब थापा नैतिक रुपमा अलग हुन्छन् या त्यही पार्टीमा बस्छन् भन्ने निश्चित छैन । यसले राप्रपामा सानोठूलो विभाजनलाई सघन बनाएको छ । आफू चुनावमा हारे लगत्तै उनले लिएको नीतिले उनकै जीवनमा बोकेको एजेन्डा समेत टुटेको छ । राप्रपामा पूर्व राजालाई समेत गाली गरेका कारण बस्न नसक्ने र अलग हुँदा लामो राजनीतिक विरासत गुम्ने खतरा पनि देखिएको छ ।