चौदण्डीगढी नगरपालिकाः किसानलाई च्यापकटर वितरण

चौदण्डीगढी नगरपालिकाः किसानलाई च्यापकटर वितरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुस २५, २०७८

उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिकाले किसानहरूलाई च्यापकटर वितरण गरेको छ । वडा नम्बर ९ र १० का किसानहरूलाई २५ थान च्यापकटर वितरण गरिएको हो । समृद्धि आयोजनाको सहयोग तथा स्थानीय किसानको साझेदारी एवं जनउत्थान पशु तथा कृषि सहकारी संस्थाको सहजीकरणमा च्यापकटर वितरण गरिएको हो ।

वडा- ९ का अध्यक्ष प्रकाश राउत र वडा- १० का वडाध्यक्ष रामकुमार खड्काको उपस्थितिमा नगरको वडा नम्बर ९ हँडियास्थित मलिस् एरियामा नगर प्रमुख खगेन्द्र राईले किसानहरूलाई च्यापकटर हस्तान्तरण गरे । समृद्धि आयोजनाले ८ लाख ३७ हजार ५ सय मूल्य बराबरको २५ थान च्यापकटर स्थानीय किसानको साझेदारी एवं जनउत्थान पशु तथा कृषि सहकारी संस्थाको सहजीकरणमा स्थानीय किसानलाई वितरण गरेको वडाध्यक्ष राउतले बताए  । जनउत्थान पशु तथा कृषि सहकारी संस्थाले हँडियामा दूध संकलन गरेर दही, पनिर, घिउ, चोकर ब्रानलगायतका सामाग्री बिक्री बितरण गर्ने गरेको छ ।

नगर प्रमुख खगेन्द्र राईले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले च्यापकटर वितरण गरेको बताए । कृषिमा आधुनिकीकरण र किसानको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको उनको भनाइ छ । नगर प्रमुख राईले च्यापकटर मेसिनको सदुपयोग गर्नु भनेको कृषकको जीवनस्तर उकासिनु भएको र कृषकको जीवनस्तर उकासिनु भनेको राष्ट्रकै विकास हुनु रहेको बताए ।