बाबुहरि ज्ञवाली | जीवनदर्शन | बैशाख ३१, २०७६
मनुश्य एक चेतनशील प्राणी हो । प्राणी जगतमा ऊ मात्र यस्तो प्राणी हो जसले यस सृष्टिजगतको रहस्य जान्ने प्रवल इच्छा राखेको हुन्छ । किन, कसरी, को, ज्वालाले उसलाई सताइरहेको हुन्छ ।
केही अपूर्णतालाई जानेपछि पूर्णतालाई जान्ने ईच्छा बढ्दै जान्छ । मानिसलाई परमात्माले सोच्ने विचार गर्नसक्ने बुद्धि दिएको छ । यो उसको लागि सुख र दुःख दुबैको कारण बनेको छ । जबसम्म उसले आफ्नो ज्ञान पिपासाको तृप्ति पाउदैंन तबसम्म सर्वज्ञ बन्ने धुनमा भौतारिइरहन्छ ।
ईश्वर असीमित छ, हाम्रो बुद्धि सीमित छ, यस असीमितता र सीमितताको बीचमा जुन पर्दा छ त्यसलाई ज्ञान र बुद्धिको सहायता लिएर विज्ञानले पनि हटाउन सकेको छैन । किन कि, विज्ञानको गति पाँच भौतिक जगत र प्रकृतिको खेलदेखि बाहिर पुग्न सकेको छैन । जहाँ विज्ञान पुग्न पनि सकेको छैन मानिस त्यो भन्दा पनि पर त्यो दिव्य प्रदेशमा पुग्न चाहन्छ । यस बारेमा उपनिषद्ले भनेका छनः
‘यतो वाचो निषर्तन्ते अप्रान्त मनसा सह’
अर्थात
त्यस दिब्य प्रदेशमा पुगेर वाणी पनि नेति नेति, यो पनि हैन, त्यो पनि हैन भन्दै मनसँगै फर्किन्छन् ।
वास्तवमा परमात्मा तत्वलाई वैज्ञानिक तरिकाबाट जान्न प्रयत्न गर्नु उसको अपार शक्तिलाई तर्कद्धारा सीमावद्ध गर्न खोज्नु हो, उसको असीमिततालाई नाप्न खोज्नु हो । कुनै फलको आकार, रंग देखेर यो यस्तो छ भन्न सकिन्न । त्यसको आस्वादन लिएपछि मात्र वास्तविक गुण थाहा हुन्छ । त्यस्तै ईश्वरको साक्षात्कार बमह्य प्रकृयाबाट हुँदैन, आन्तरिक ज्ञान चक्षुबाट तथा आत्मशुद्धि, आत्मज्ञान र आत्मनिग्रहको प्रयोगबाट हुन्छ । परमात्मको प्राप्ति भनेको बुद्धिको विकासको फल होइन, यो त आत्माको उद्बोधनको परिणाम हो जुन आभ्यान्तर दृष्टिशक्तिको विकासबाट मात्र सम्भव छ ।
यी तीन प्रकारका मूल तत्वयुक्त प्रकृति अन्धकारमय थियो र जगत् सूक्ष्म रुपमा थियो । कारणरुप परमात्माले सृष्टिकार्यलाई आफूभित्र लुकाई राख्नु भएको थियो र जब परमात्माले सृष्टि गर्ने संकल्प गर्नुभयो । त्यसबेला कारणसँग एकीभूत भएको जगत तेजोमय परमात्माको संकल्प मय तपको महिमा उत्पन्न भयो । सत्व, रजस् र तमस् यी मूल तत्वहरुमा स्पन्दन हुँदा यी तत्वहरुलाई कार्य रुपमा परिणत हुन तयार हुन्छन् र तत्वहरुको स्थिति साम्यावस्थाबाट वैषम्य अवस्थामा पुग्छ ।
कतिपय मानिस ईश्वरीय सत्तामा विश्वास राख्दैनन् । उनीहरु यो संसार सदैव यसैगरी चल्दै आएको छ, चल्दै जान्छ हो भन्दछन् । कुनै पनि कार्यको उत्पति कारण विना सम्भव छैन । यस जगतको उपादान प्रकृति, प्रकतिमा जडता हुन्छ र जडतामा जबसम्म उत्प्रेरक हुदैन तबसम्म गति शून्यता हुन्छ ।यस्तो गति शून्यता र चेतनाको अभावको कारण यो न त स्वयं जगत्रुपमा परिवर्तित हुनसक्छ न यसबाट अरु कुनै वस्तुको निर्माण हुनसक्छ । अतः सृष्टिविधामा भएको यो अद्भूत ब्यवस्था एवं नियमिततालाई देखेर यसको कुनै नियामक शक्तिले काम गरिरहेको छ भन्ने कुरा स्वीकार गर्न करै लाग्छ । त्यहि नियात्मक शक्ति नै ईश्वर हो, परमात्मा हो ।
सृष्टि हुनुपूर्व सत्व, रजस् र तमस् यी तीन प्रकारका मूल तत्वयुक्त प्रकृति अन्धकारमय थियो र जगत् सूक्ष्म रुपमा थियो । कारणरुप परमात्माले सृष्टिकार्यलाई आफूभित्र लुकाई राख्नु भएको थियो र जब परमात्माले सृष्टि गर्ने संकल्प गर्नुभयो । त्यसबेला कारणसँग एकीभूत भएको जगत तेजोमय परमात्माको संकल्प मय तपको महिमा उत्पन्न भयो । सत्व, रजस् र तमस् यी मूल तत्वहरुमा स्पन्दन हुँदा यी तत्वहरुलाई कार्य रुपमा परिणत हुन तयार हुन्छन् र तत्वहरुको स्थिति साम्यावस्थाबाट वैषम्य अवस्थामा पुग्छ । यिनीहरुको यो पहिलो परिणामलाई दार्शनिकहरु महतत्व भन्दछन् । महतत्वबाट अहंकार, अहंकारबाट पञ्चतन्मात्रा (सूक्ष्मभूत) र इन्द्रिय (मन, ज्ञानेन्द्रिय र कर्मेन्द्रिय) हरु उत्पन्न हुन्छन् । पञ्चतन्मात्राबाट पृथ्वी आदि स्थूल भूतहरुको उत्पत्ति हुन्छ । पृथ्वीबाट औषधी वनस्पिति र अन्न उत्पान्न हुन्छन । अन्नबाट वीर्य र रजको उत्पति हुन्छ । तिनीहरुको सम्मिलनबाट मानव शरीरको निर्माण हुन्छ ।
पहिलो सृष्टि समागमरहित थियो । वायुको प्रेरणाबाट रज र वीर्यको मिलन भई केही समयसम्म यो अवस्था त्यसै रहिरह्यो । जब सबै अवयवहरुको ठीकठीक निर्माण भयो अनि यिनीहरुबाट एक विकसित प्राणीको जन्म भयो । प्रारम्भमा जुन मानिसहरुको उत्पन्न भए तिनीहरुको अवस्था एक दिनको भएता पनि तिनीहरु जवान हृष्टपुष्ट युवक युवतीको रुपमा थिए । तिनीहरुमा जेठो, कान्छो भन्ने थिएन, सबै समान थिए । आरम्भमा एक दुई मनुष्य मात्र उत्पन्न नभएर हजारौं हजार उ्रत्पन्न भएका थिए । यस कुरालाई वेदले पनि पुष्टि गरेका छन् । जीवहरुलाई कर्म अनुसार जुन जुन योनि जस्तो जस्तो शरीरको आवश्यकता पर्छ त्यस्तै त्यस्तै शरीरको रुपमा पैदा गर्ने माता म नै हुँ भनेर भगवान् श्री कृृष्णले गीतामा भन्नु भएको छ-
‘अहमेवा समेवाग्रै नान्यत् यत् सदसत् परम् ।
पश्चदाहं यदेतच्च योऽ बाशिष्यत सोऽ स्यहम् ।।’ मा.२।९।३२
अर्थात् सृष्टिभन्दा पहिले पनि म थिएँ, म बाहेक अरु केहि थिएन र सृष्टि उत्पत्ति पछि जे जस्तो यो संसार देखिन्छ, त्यो पनि म नै हुँ ।
जसले ईश्वरको यो सर्वव्यापकता र सर्व नियामकतालाई नजानेर विकासवादी सिद्धान्तको पछि लागि आसुरी एव मोहिनी प्रकृतिको आश्रय लिन पुग्छ र परमात्म तत्वको उपेक्षा गर्दै आफ्ना कुकर्महरु गर्न छोड्दैन । त्यस्ता मनुष्यको पतन अवश्यंभावि छ ।