घनेन्द्र ओझा | दृष्टिकोण | पुस २७, २०७८
नेपाली कांग्रेसले २००७ सालयता नेपाली राजनीतिका अनेक हावाहुरी खेपेको छ । लोकतान्त्रिक आन्दोलनका हरेक मोर्चामा अग्रपंक्तिमा रहेर संघर्ष गरेको छ ।
नेपाली कांग्रेस ७ दशक लामो इतिहास बोकेको पार्टी हो । नेपाली राजनीतिक इतिहासका हरेक घटना र दुर्घटनामा प्रत्यक्ष/परोक्ष जोडिएको छ कांग्रेस । लोकतन्त्र र जनाधिकारको रक्षाका लागि निरन्तर संघर्षरत कांग्रेसले स्थापनाकालदेखि नै जनजीविका, दिगो विकास र आर्थिक समृद्धिलाई लक्ष्य बनाएको बताउँदै आएको छ ।
‘प्रजातान्त्रिक समाजवाद’लाई मूल मन्त्र बनाएको दाबी गर्ने कांग्रेसले यसबीचमा पटक पटक सत्ताको साँचो सम्हालेको छ । देशको मूल नीति बनाउनेदेखि विकास, निर्माणका योजना बनाउनेसम्मको भूमिका र अधिकार कांग्रेसलाई धेरै पटक प्राप्त भएको छ । तर, आफूले पाएको उक्त अवसरलाई कांग्रेसले सदुपयोग गर्न सक्यो कि सकेन ? यो मूल प्रश्न हो ।
‘भैँसीलाई आफ्नै सिङ भारी’ भनेजस्तो कांग्रेसलाई पटक पटक जनताले दिएका अवसर भारी बन्दै गएका कांग्रेसको विगत र निकट विगतको समीक्षा गर्दा थाहा हुन्छ । २००१५ सालमा प्राप्त गरेको २ तिहाइ बहुमतको रिकार २ वर्ष नबित्दै किन राजा महेन्द्रका हातमा पुग्यो ? के त्यसमा महेन्द्रको शासकीय महत्त्वकाकांक्षा मात्र कारक थियो ? वा कांग्रेसभित्रको किचलो र सही ढंगको राज्य संचालनमा कांग्रेस चुक्नुको दुष्परिणाम पनि थियो महेन्द्रको उक्त कदम ? यो इतिहासमा फर्किएर हेर्दा मात्र थाहा हुन्छ तर कांग्रेसजन त्यता फर्किन चाहँदैनन् ।
२०३७ सालको जनमतसंग्रहमा कांग्रेसले हात बाँधेर बसेको परिणाम सूर्यबहादुर थापा जस्ता चतुर राजनीतिक खेलाडीले पंचायतका पक्षमा मतपत्रहरू ड्याम कि ड्याम खसाल्ने वातावरण बनाइदिएका होइनन् र ? अनि, त्यस बेलाका विभिन्न खेमामा बाँडिएका नेपाली कम्युनिस्टहरूको एकजुट साथ बीपी अर्थात् कांग्रेसले लिन नसक्नुको परिणाम पनि थिएन र जनमतसंग्रहको दुष्परिणाम ? यतातर्फ पनि कांग्रेसजन अलमलिन चाहँदैनन् ।
२०४६ सालमा वामपन्थी शक्तिहरूको साथ नभएको भए आन्दोलन सफल हुन्थ्यो कि हुँदैनथ्यो होला ? भलै, आन्दोलनको नेतृत्वमा कांग्रेस नै थियो अगाडि । यसर्थ आन्दोलनको नेतृत्वको जस कांग्रेसले पाउँछ, पाउनुपर्छ । र, त्यही आन्दोलनको परिणाम २०४७ सालको संविधान थियो, जसमा तत्कालीन वामपन्थी शक्तिहरू, विशेषगरी एमालेले ‘आलोचनात्मक समर्थन’ गर्दै त्यसको २ वर्षपछि पाँचौँ महाधिवेशनबाट ‘जनताको बहुदलीय जनवाद’मार्फत् २०४७ को संविधानप्रति पूर्ण भक्तिभाव देखायो ।
कांग्रेस यति गैरजिम्मेवार दल किन बनिरहेको हो ? कांग्रेस नेतृत्वले विगतका आफ्ना गल्ती र कमजोरीलाई केलाउने, समीक्षा गर्ने र बोध गर्ने, स्वीकार गर्ने अनि सच्याउन प्रतिबद्धता जनाउने कुनै नैतिकता किन देखाउँदैन ? आफ्ना नीति, आदर्श र मूल्य-मान्यताबाट कांग्रेस किन यसरी तल्लो स्तरमा झरेर च्युत भइरहेको छ ?
यी सन्दर्भ बढी नखोतलौँ, सन्दर्भ कांग्रेसले सच्च्याउनुपर्ने बाटोको हो ।
जहानियाँ राणा शासनको अन्त्यको उद्देश्यले संगठित भएको कांग्रेस स्थापनाको केही समयपछि नै व्यक्ति गुटको शिकार बन्यो । बीपी कोइराला र सुवर्णशम्शेरले २ अलग पार्टीलाई एक बनाएर जन्माएको नेपाली कांग्रेसमा २ धार सुरुमा र पछि अनेक धार बढ्दै गए । धार वा गुट अन्त्यको प्रयासमा कोही कहिल्यै लागेको देखिएन र हालसम्म पनि गुटगत राजनीति कांग्रेसको गतिलो पहिचान बनिरहेको छ ।
कांग्रेसको सौभाग्य भनौँ- विगतदेखि आजसम्म कांग्रेस नेपाली राजनीतिमा दुबो जस्तो बनिरहेको छ । दुबो, जुन कुनै समय मरेको जस्तो देखिए पनि उपयुक्त मौसम आएपछि आफैँ बौरिएर आउँछ र हरियाली बन्छ । कांग्रेस त्यही दुबोको रूपमा आजसम्म देखिएको छ । यसको कारण हुन सक्छ कि धेरै पुरानो र आमजनमा सुनिएको, परिचित भएको पार्टी कांग्रेस नै हो, जसलाई आमजनले पुनःपुनः विकल्पका रूपमा विश्वास गरिरहन्छन् । अनि, अर्को कुनै पार्टी वैकल्पिक शक्तिका रूपमा स्थापित हुन नसक्नुको फाइदा पनि कांग्रेसलाई नै भएको छ भन्दा पनि अन्यथा नहोला ।
धेरै पटक सत्तामा पुगेको कांग्रेस सरकारलाई उसको सिद्दान्त, आदर्श र मान्यताअनुसार मुलुक तथा जनताको हित गर्ने अवसर प्राप्त भइरह्यो । तर, त्यसको सदुपयोग गर्न सकेन कांग्रेसले । पार्टीभित्रका गुट, उपगुटको चरम द्वन्द्व अनि कुर्सीको तानातानले कांग्रेसले हरेक अवसरलाई खेर फालिरह्यो । यो क्रम आजपर्यन्त निरन्तर छ ।
गुटगत राजनीतिकै परिणाम थियो २०५१ सालको मध्यावधि निर्वाचन । कोइराला र देउवा गुटमा विभक्त कांग्रेस उक्त मध्यावधि निर्वाचनमा दोस्रो पार्टीमा खुम्चियो र एमालेका हातमा सत्ता सुम्पिन बाध्य भयो । कसैको पनि बहुमत नआएका कारण २०५६ सालसम्म हरेकजसो सरकार संयुक्त सरकार बने । सांसद किनबेच र सत्ता उलटफेरका जोडघटाउका कारण कुनै पनि सरकार स्थिर बन्न सकेनन् । यही बीचमा लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाहरूले समेत पुनः सत्तारोहणको अवसर पाए ।
तर, कांग्रेसलाई ती कुनै आफ्ना गल्ती कमजोरीमा पश्चात्ताप रहेन । चिरन्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशीहरू कांग्रेसकका प्रभावशाली नेता मानिन्थे । उनीहरूलाई भ्रष्ट र अनैतिक बनाउनमा पनि कांग्रेसकै हात छ, अझ तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले आँखा चिम्लिदिनुको परिणाम उनीहरूले जेलको छिँडीमा बास बस्नुपरेको थियो भने राजनीतिक इमान र भविष्य सिध्याएका थिए ।
त्यसयता पनि कांग्रेस धेरै पटक चुकेको छ । दोस्रो जनआन्दोलनमा कांग्रेसले अग्रणी भूमिका निभाएको तथ्य हो । तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले सशस्त्र विद्रोहरत नेकपा माओवादीलाई शान्तिपूर्ण संसदीय राजनीतिमा ल्याउन गरेको प्रयास सराहनीय अवश्य हो । तर, त्यसपछि मुलुकलाई जता लगियो, त्यो आजका मितिसम्म मात्र नभएर अझ धेरै वर्षसम्म मुलुकका निम्ति दुर्भाग्यका रूपमा रहने निश्चित छ ।
यहीबीचमा १० वर्षे हिंसात्मक द्वन्द्वको बीजारोपण हुनुमा कांग्रेसले सही सलामत ढंगले शासन संचालन नगर्नुको परिणाम भन्नेहरू पनि छन् । उक्त द्वन्द्वको प्रत्यक्ष, परोक्ष असर आजसम्म मात्र नभएर धेरै वर्ष रहिरहने देखिन्छ ।
दरबार हत्याकाण्डदेखि ज्ञानेन्द्र शाहको चरम शासकीय महत्त्वाकांक्षाका नकारात्मक असरहरू अद्यापि कायम छन् र तिनको निराकरण गर्नेतिर कसैको चासो देखिँदैन । यसको परिणति सुखद नहुने पनि निश्चित जस्तै छ ।
यी आदि सन्दर्भमा अब प्रश्न उठ्छ- मुलुकको शासन सत्ताको सबैभन्दा बढी समय उपभोग गरेको (नेतृत्व गरेर वा संयुक्त) कांग्रेस यति गैरजिम्मेवार दल किन बनिरहेको हो ? कांग्रेस नेतृत्वले विगतका आफ्ना गल्ती र कमजोरीलाई केलाउने, समीक्षा गर्ने र बोध गर्ने, स्वीकार गर्ने अनि सच्याउन प्रतिबद्धता जनाउने कुनै नैतिकता किन देखाउँदैन ? आफ्ना नीति, आदर्श र मूल्य-मान्यताबाट कांग्रेस किन यसरी तल्लो स्तरमा झरेर च्युत भइरहेको छ ? यी प्रश्न कांग्रेसको वर्तमान नेतृत्वका लागि फलामका चिउरा बन्न सक्छन् भने भावी नेतृत्वका लागि सतर्कताका डण्डा ।
क्रमशः