पृथ्वीनारायणसँग ‘समृद्ध नेपाल, सुखी नेपाली’ वा ‘एक्काइसौँ शताब्दीको जनवाद’को अपेक्षा !

पृथ्वीनारायणसँग ‘समृद्ध नेपाल, सुखी नेपाली’ वा ‘एक्काइसौँ शताब्दीको जनवाद’को अपेक्षा !

रूपक अलङ्कार  |  दृष्टिकोण  |  पुस २८, २०७८

२७ पुस आउँदा पृथ्वीनारायण शाहको र २९ असार आउँदा भानुभक्त आचार्यको विषयमा ताताताता बहसहरू चल्ने परंपरा बसिसक्यो हाम्रो देशमा । प्रायः जुनसुकै विषय आओस्, त्यसमा नबोले ‘म त बर्बाद भइहाल्छु नि !’ भन्ने मनोवृत्तिले यसमा बढी काम गरेको देखिन्छ । यस्ता विषयमा निन्दा वा प्रशंसा गर्न विषयको खासै जानकार भइरहनुपर्दैन । एउट धारको फेरो समातेर आफूलाई लागेको कुरा ओकल्न सके पुग्छ ।

यसरी बोल्नेहरूको लर्काे विशेषगरी समाजिक संजालमा बढी देखिन्छ । पत्रपत्रिकाले पनि पिठो बेच्नेहरूकै बोलीलाई स्थान दिएका पाइन्छ । यद्यपि, पृथ्वीनारायण शाहका बारेमा वा भानुभक्तका बारेमा बोल्नका लागि कति जान्नुपर्छ भन्ने कुराको निक्र्याेल गर्ने स्थितिमा म छैन । ऐतिहासिक पात्रका बारेमा कुरा चल्दा विभिन्न मतहरू अवश्य पनि सतहमा आउँछन् ।  जित्नेहरूले नै इतिहास लेख्ने वा लेखाउने हुनाले इतिहासका सबै तथ्य विश्वासको दायरामा नअटाउन पनि सक्छन् ।

प्रसंग पृथ्वीनारायण शाहको हो । उनलाई नेपालको एकीकरणकर्ताका रूपमा हामीले पढ्यौँ । नेपालको परंपरागत वा वर्णनात्मक इतिहासले शाहलाई एकीकरणकर्ताका रूपमा सम्मान गरेको छ । उनकै वंशका व्यक्तिहरू नेपालका राजा रहुन्जेल उनको नाममा पनि ‘श्री ५ बडामहाराजधिराज’ भन्ने विशेषण लगाउनुपथ्र्यो । यद्यपि, यो विशेषणको आनन्द स्वयं पृथ्वीनारायण शाहले भने लिन पाएनन् ।

मृत्युपछि मानिसका नाममा थपिने विशेषण भनेको केवल अतिशयोक्ति वा अतिप्रशंसा हो । व्यक्तिलाई सही रूपमा चिन्न नदिने प्रपञ्च हो । कामकाज कम हुँदै जाँदा राजाहरूका नाममा ‘वीरविक्रम’ आदि फुँदाहरू जोडिँदै गएका देखिन्छ ।

गणतन्त्र घोषणा भएताका पृथ्वीनारायण जस्ता ऐतिहासिक व्यक्तित्वका विरुद्धमा आगो नै लगाइयो । शालिक ढाल्ने, फोटो जलाउनेजस्ता विवेकहीन कार्यका लागि जनतालाई उक्साइयो । आफूले भुक्तमान गर्नुपरेको दुःखको एक मात्र कारण त पृथ्वीनारायण पो रहेछन् त भन्नेजस्तो ठानेर जनताले शाहका शालिकमाथि ढुंगा बर्साए । त्यस कार्यका नेतृत्व गर्नेहरू नै अहिले शाहका शालिकमा माला पहिर्‍याउने पद र प्रतिष्ठामा छन् ।

उनीहरू नै राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानका विषयमा प्रवचन दिन थालेका छन् । यस्तो देख्दा हिजो ढुंगा हान्नेहरू अहिले आफ्नै हातमा थुकिरहेका होलान् । आन्दोलन जिउँदो मानिसको कुप्रवृत्तिका विरुद्धमा हुनुपथ्र्यो, राज्य व्यवस्थाको खराब पद्धतिका विरुद्ध हुनुपथ्र्यो तर मरेका मानिसमाथि रिस पोख्न लगाइयो । गल्ती त्यहीँबाट सुरु भयो । पृथ्वीनारायणको शालिक ढालेर नयाँ नेपालको जग हाल्ने उक्साउने खास व्यक्तिहरू यति बेला गाढा मौनतामा छन् । जसले बोलिरहेका छन्, तिनको बोलीमा नयाँ राग छैन ।

पृथ्वीनारायण शाह विस्तारवादी थिए । विस्तारवादी नभएर सुखै थिएन उनलाई । त्यति बेलाको आवश्यकता भनेकै राज्य विस्तार हो । विस्तारा लगाएर सुत्नु होइन । जुन परंपरामा पृथ्वीनारायण राजा भए, त्यसको अपरिहार्यता नै युद्ध थियो । त्यति बेलाको आवश्यकता ‘समृद्ध नेपाल, सुखी नेपाली’ वा ‘एक्काइसौँ शताब्दीको नौलो जनवाद’ थिएन । नयाँ राजा भएपछिको पृथ्वीनारायणको पहिलो काम नै राज्य विस्तार हो ।

इतिहासको मूल्यांकन प्रत्येक युगमा हुन्छ र फरक युगमा फरक निष्कर्ष निस्किन्छ । कुनै बेलाका मूल्यांकनमा पृथ्वीनारायण शाक्तिशाली राजा मात्र हुन सक्लान् । कुनै बेलाको मूल्यांकनमा खुँखार आततायी हुन सक्लान् । कुनै बेलाको मूल्यांकनमा विस्तारवादी वा साम्राज्यवादी हुन सक्लान् । कुनै बेलाको मूल्यांकनमा एकीकरणकर्ता भने । कालान्तरमा उनमा राक्षस वा देवताको लेप लगाइन सक्ने संभावना पनि जिउँदै छ ।

कालान्तरमा इतिहास किंवदन्ती बन्न पुग्छ । इतिहासमा कल्पनाको रङ मिसाएपछि त्यो पुराणमा अवतरित हुन्छ । पुराणले अवतारको कुरा गर्छ । वर्तमान पुस्तालाई भगवानसित जोडिदिन्छ । जसरी भए पनि मानिसलाई चक्करमा पार्नु त हो !
 
हामी यतिखेर भानुभक्तलाई प्रगतिशील कवि होइनन्, पृथ्वीनारायण शाह लोककल्याणकारी राजा होइनन् भनेर रुवावासी गरिरहेका छौँ । प्रगतिशीलताको वर्तमान परिभाषा त विचरा भानुभक्तलाई थाहा पनि थिएन । उनी धार्मिक चेत भएका व्यक्ति थिए । उनी पढ्न, लेख्न जान्दथे । उनमा कवित्व शक्ति थियो फलस्वरूप उनी नेपाली भाषामा रामायण लेख्न सफल भए ।

उनमा सामाजिक चेतले कविताको रूप पाउँदा ‘बधू शिक्षा’ जस्ता कविता जन्मिए, कुरो यत्ति न हो । ‘अरू भाषालाई निमिट्यान्न पारेर देशैभरि खस भाषाकोे एकछत्र राज्य चलाइदिन्छु’ भनेर उनले रामायण लेखेका त होइनन् । त्यसो हुन्थ्यो भने आफ्नै पालामा छापेर अहिलेका कविहरू जस्तो देशका प्रत्येक शहरमा अन्तरक्रिया गर्दै हिँड्थे होलान् आचार्य पनि ।

प्रगतिशीलता त आज प्रगतिवादी दर्शनलाई बोकेर हिँड्नेहरूको चरित्रमा खोज्नुपर्ने हो । विचारले भाषणले त जो पनि प्रगतिशील भइहाल्छ । चरित्रले वा कामले छ कि छैन, त्यो आवश्यकताको विषय हो । माक्सवादी भनिएका आजका कामरेडहरूको चरित्रमा हेरौँ । उनीहरूको लवाइखवाइ र जीवनशैली वा विलासितामा हेरौँ, कतिको प्रगतिशीलता छ ? भानुभक्तलाई सरापेर पाउनु के छ ?

अहिले पुस महिना भएकाले पृथ्वीनारायणको मौसम हो । राज्य एकीकरण र भाषिक एकीकरणका सन्दर्भमा शाह र आचार्य एउटै ढिकीमा कुटिँदै आएका छन् । एउटा पक्ष यिनलाई एकीकरणकर्ता मात्र होइन कि एकीकरण गरेकाले यिनलाई अलौकिक दिव्य पुरुष नै मान्नुपर्छ भने जसरी मैदानमा उत्रिएको छ भने अर्काे पक्ष यिनले एकीकरण गरेका होइनन्, मिचेका हुन्, त्यसकारण यिनलाई विस्तारवादी र सामन्तवादी भन्नुपर्छ भनेर पाखुरा सुर्किरहेको छ । यति बेलाको रमाइलो नै यही हो । समन्ती राज्य व्यवस्थामा जन्मेर केही गर्न सक्ने मानिस सामन्तवादी नै हो । भानुभक्त सामन्तवादी बाहुन् थिए भने थिए, यसलाई हामी सच्याउन सक्दैनौँ ।

त्यसैगरी पृथ्वीनारायण शाह विस्तारवादी थिए । विस्तारवादी नभएर सुखै थिएन उनलाई । त्यति बेलाको आवश्यकता भनेकै राज्य विस्तार हो । विस्तारा लगाएर सुत्नु होइन । जुन परंपरामा पृथ्वीनारायण राजा भए, त्यसको अपरिहार्यता नै युद्ध थियो । त्यति बेलाको आवश्यकता ‘समृद्ध नेपाल, सुखी नेपाली’ वा ‘एक्काइसौँ शताब्दीको नौलो जनवाद’ थिएन । नयाँ राजा भएपछिको पृथ्वीनारायणको पहिलो काम नै राज्य विस्तार हो । अहिले पनि राज्य विस्तार नै हो । त्यति बेलाको राज्य विस्तार सीमा थियो भने अहिलेको राज्य विस्तार विकास होला । गर्ने त विस्तार नै हो नि !

पृथ्वीनारायणले जे गर्नुपर्ने थियो, त्यही गरे । तनहुँ या कान्तिपुरका राजाको चाहिँ राज्य विस्तार गर्ने योजना नभएर वा विस्तारवादी प्रवृत्ति नभएर उनीहरूले राज्य विस्तार नगरेका होइनन्, नसकेर नगरेका हुन् । राज्य विस्तार नै राजाको पुरुषार्थको कारण भएकाले उनले आफ्ना बाबुले सुरु गरेको गोर्खालाई शक्तिशाली बनाउने अभियानलाई निरन्तरता दिएका हुन् । राज्य जति ठूलो हुन्छ, राजा त्यति नै शक्तिशाली हुन्छ भन्ने कुरा पृथ्वीनारायण अवश्य पनि जान्दथे । उनले अझै खतरा विस्तारवादी बनेर भारत र चीनभन्दा पनि नेपाललाई ठूलो बनाइदिएका भए चुच्चे नक्सा हेरेर कोठाभित्र बसेर रुनु त पर्दैनथ्यो ।

कतिपय मानिसहरू तर्क गर्छन्- उनले आफ्नो विलासिताका लागि राज्य विस्तार गरेका हुन् । उनको शासनकाललाई हेर्दा कति विलास गरे भन्ने कुरा स्पष्ट भइहाल्छ । उनी युद्धलाई नै विलास मान्ने मानिसचाहिँ अवश्य पनि हुन् । आफ्नो काममा समर्पित भएर लाग्ने र त्यसमा सफलता हात नपारी चुप नलाग्ने उनको स्वभाव आजका शासकमा पनि हुँदो हो त देश समृद्ध किन नहुँदो हो ? उनले आफ्नो समयले सुम्पिएको काम गरेका हुन् । २००७ सालको क्रान्ति गर्न त २००७ साल आएकै थिएन । जनयुद्धका लागि मैदान तयार भएकै थिएन ।

युद्धका क्रममा निहत्था जनतामाथि पनि पृथ्वीनारायणले बर्बर आक्रमण गरे, त्यस कारण उनी लोककल्याणकारी शासक होइनन् भनेर पनि मान्छन् । यो कुरा सही पनि हो तर अहिले आएर हेर्दा मात्र । ‘युद्ध र प्रेममा जे पनि जायज हुन्छ’ भन्नेहरू अहिले पटक पटक प्रधानमन्त्री भइसके । पृथ्वीनारायणले निहत्थामथि ज्यादती गर्नु उपयुक्त हो भन्ने मेरो तर्क होइन । तत्कालीन युद्धको गति नै त्यस्तै थियो, उनले पनि त्यही गरे । त्यही भएर त पृथ्वीनारायण समयअनुसारका राजा थिए भनेको नि !

पृथ्वीनारायण शाह गुण-दोषले युक्त राजा थिए । उनले विभिन्न राज्यमाथि आक्रमण गरेर तिनलाई जितेर ठूलो राज्य बनाउन सुरु गरेको कुरा घामजतिकै छर्लंग छ । ‘उनले मात्र कहाँ गरे जनताले पनि त लडेका हुन् नि !’ भन्न थालियो भने झलनाथ खनालले ‘धरहरा मजदुर-ज्यामीहरूले बनाएका हुन्’ भनेर जग हँसाएको जस्तै हुन सक्छ । त्यस कारण नेपाल निर्माणको नेतृत्व पृथ्वीनारायण शाहले नै गरेका हुन् । हाम्रा लागि इतिहासको यो पाटो अविस्मरणीय छ ।