थारु वस्तीः माघी माघी पर्वकाे राैनक नयाँ वर्ष स्वागत

थारु वस्तीः माघी माघी पर्वकाे राैनक नयाँ वर्ष स्वागत

लोकसंवाद संवाददाता  |  समाज  |  पुस ३०, २०७८

कैलाली ।  पश्चिम नेपालकाे तराईका थारु बस्तीमा माघी पर्वकाे राैनक छ ।  १ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा  जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएकाे छ । माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ ।

घरबाहिर रहेका सदस्यहरु पनि माघी मनाउन आइसकेका छन् । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४४ सुरु हुँदैछ । 

कैलालीकाे धनगढी उपमहानगरपालिका-३ का श्यामु चौधरीका अनुसार नयाँ वर्षमा ‘जीता’ (बंगुर)को मासु खाने प्रचलन छ ।  ‘नयाँ वर्षलाई  स्वागत गर्न गाउँ वस्ती आसपास नदीमा सरसफाई पनि गरिएकाे छ,’ चौधरीले भने, ‘ठाउँठाउँमा मेला लाग्छ । तर, याे वर्ष काेभिड संक्रमणका कारण मेलाकाे राैनक छैन ।

खानपिन संस्कृति

माघीमा बंगुरकाे , माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकार खाने गरिन्छ ।  यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको कैलारी गाउँपालिका-५ का चन्द्र बहादुर चौधरीले बताए । 

थारु अगुवा माघव चौधरीका अनुसार ‘जीता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । याे आज राति हुन्छ ।  यो नाच दाङबाट कैलाली बसाइँ सरेका थारु समुदायले भित्र्याएका हुन् । अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्छन्  ।

भल्मन्सा, गुरुवा चयन गरिँदै

थारु समुदायमा भल्मन्सा (गाउँका मुखिया), गुरुवा(धामीझाक्री) र  चिरागी (कटवाल) पनि चयन गरिन्छ । गाउँमा सडक ममर्तदेखि सार्वजनिक कार्यक्रम, खाेप कार्यक्रम लगायतकाे जानकारी चिरागीमार्फत दिइन्छ । सामाजिक काममा भल्मन्साकाे राेहबरमा निर्णय हुन्छ । ससाना विवाद पनि यही टिमले समाधान गर्छ । 

माघीकाे दोस्राे दिन २ माघमा गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ ।

मोहन जोशी/न्युज कारखाना