लोकसंवाद संवाददाता | कारोबार | माघ ०२, २०७८
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले बढेको छ । नेप्से ६९ अंकले बढेर २ हजार ९२६.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.८१ अंकले बढेर ५४२.६३ मा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कुल २२९ वटा कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३९.४७, व्यापार ७९.६८, होटल तथा पर्यटन ५५.६५, विकास बैंक १४३.४२, जलविद्युत् ७५.२६, वित्त ५६.६२, निर्जीवन बीमा २६६.२२, उत्पादन ४०६.८२, अन्य ६६.२१, लघुवित्त ११०.४५, जीवन बीमा ३८९.५१, सामूहिक लगानी कोष ०.२५ र लगानी १.९१ अंकले उकालो लागेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, अपी पावर कम्पनी ३० करोड ४४ लाख ४५ हजार १५१, माथिल्लो तामाकोसी २९ करोड ७४ लाख ६ हजार ९२१, शिवम् सिमेन्ट २६ करोड ३३ लाख ७८ हजार ६२२ र नेपाल पूर्वाधार बैंक २५ करोड ४१ लाख ५१ हजार ९५७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक र मध्यभोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । किसान लघुवित्त ९.९४, हिमालयन डिस्टिलरी ८.९६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ८.७९ प्रतिशतले कमाए ।
यस्तै, ग्लोबल आईएमई बैंकको ऋणपत्र ३.५९, बोटलर्स नेपाल तराई २.९७, मनकामना स्मार्ट लघुवित्त २.५६, मैलुङ खोला जलविद्युत् कम्पनी २.३३ र न्यादी हाइड्रो पावरका लगानीकर्ताले २.२७ प्रतिशतले गुमाए । नेप्सेका अनुसार आजको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब ३४ अर्ब ६० करोड १४ लाख १९ हजार ५८७ रुपैयाँ बराबर पुगेको छ ।