१८ माघसम्म सेवा संकुचन गर्ने सर्वाेच्च फुलकोर्टको निर्णय

१८ माघसम्म सेवा संकुचन गर्ने सर्वाेच्च फुलकोर्टको निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ०४, २०७८

सर्वाेच्च अदालत फुलकोर्टले १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको फुलकोर्टको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सेवा संकुचन गर्ने निर्णय गरेको हो । 

न्यायाधीश, मुख्य रजिस्ट्रारसहित ३१ जनालाई कोरोना संक्रमण देखिएपछि सोमबार बसेको बैठकले सेवा संकुचन गर्ने निर्णय गरेको सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । 

सेवा संकुचनबारे सर्वाेच्चले जारी विज्ञप्ति 

कोरोना भाइरस (कोभिड- १९) को नयाँ भेरिएन्ट ओमिक्रोनलगायतका विभिन्न भेरिएन्टका कारण विषम् र असहज परिस्थिति उत्पन्न भएको, न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत हालसम्म ३१ जनामा संक्रमण देखिएको सन्दर्भमा अदालतको कार्य प्रकृतिअनुसार अदालतमा हुने उपस्थिति र भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति, कानुन व्यवसायी एवं अदालतमा आउने अन्य सरोकारवालाहरूको स्वास्थ्य, सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सुनुवाइका कार्यहरू व्यवस्थित ढंगले सीमित संख्यामा संचालन गर्न उपयुक्त देखिएकाले आगामी २ हप्ता (मिति २०७८/१०/०५ देखि मिति २०७८/१०/१८ गतेसम्म) सर्वोच्च अदालतमा देहायबमोजिमका विषयमा सुनुवाइ गर्ने भनी मिति २०७८/१०/०४ को पूर्ण बैठकबाट देहायबमोजिमको निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

(१) सेवा प्रवाह सम्बन्धमाः

क) बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको नियमित रूपमा सुनुवाइ गर्ने ।

ख) मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारवाही नियमित रूपमा संचाचालन गर्ने ।

ग) मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७(६) र १५५ बमोजिमका थुनुवा रहेका व्यक्तिहरूको निवेदन तथा प्रतिवेदन उपर सुनुवाइ गर्ने ।

घ) थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने ।

ङ) हेर्दाहेर्दै र नि.सु.मा रहेका मुद्दाको सुनुवाइ गर्ने ।

च) नेपाल सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने ।

(२) मुद्दा : निवेदन दर्ता गर्ने, पेसी र अन्य तारेख दिनेलगायतका कामकारबाही जनस्वास्थ्यका निर्धारित मापदण्डअनुसार सामाजिक दूरी कायम गर्ने, भीडभाड हुन नदिनेलगायतका कुराहरूको पूर्ण परिपालना हुने गरी संचालन गर्न सर्वोच्च अदालत प्रशासनले आवश्यक व्यवस्था मिलाउने ।

(३) अदालतहरूमा अनावश्यक भीडभाड हुन नदिन अत्यावश्यक र न्यून संख्याको जनशक्तिबाट आलोपालो मिलाई अदालतको काम कारबाही गर्ने र टेलिवर्क वा अन्य तरिकाबाट निवास वा स्टेसनमा रही अदालतको कार्यसम्पादन गर्न मुख्य रजिस्ट्रारले आवश्यक व्यवस्था मिलाउने ।

उच्चअदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरूको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा संक्रमित भएको अवस्थासमेतको मूल्यांकनको आधारमा उपयुक्त देखिएको कामकारबाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरूले मिलाउने र यस अदालतमा जानकारी पठाउन निर्देशित गर्ने ।

बाबुराम दाहाल
प्रवक्ता
मिति : २०७८/१०/०४