ज्ञानमित्र | दृष्टिकोण | माघ ०६, २०७८
यस पटक किन हो नेपालका केही विज्ञहरू ओमिक्रोन भेरिएन्टलाई कम घातक भन्ने मनोदशामा हुनुहुन्छ । सायद उहाँहरूको रवैया अथवा आफ्नै कुनै बाध्यतावश नेपाल सरकार ढुलमुल अवस्थामा रहेको छ । सरकारको बाध्यता अर्को सातातिर हुने राष्ट्रियसभाको निर्वाचन पनि हुन सक्छ । सरकारले कडा प्रतिबन्ध लगाएको खण्डमा राष्ट्रियसभा निर्वाचन हेतु हुने आवागमनलाई कसरी यथोचित भन्न मिल्छ ? जहाँसम्म अनुमान छ, यसपछि नेपाल सरकार लाइनमा आउँछ ।
म व्यक्तिगत विरोध वा आलोचना गर्ने प्रवृत्तिको मानिस होइन, तसर्थ ओमिक्रोनबारे नरम धारणा राख्दै ओमिक्रोनलाई नरम भाइरसको संज्ञा दिनुहुने विज्ञहरूप्रति कुनै प्रतिक्रिया व्यक्त नगर्दै केही तथ्य राख्न गइरहेको छु ।
कोरोना भ्याक्सिनका पूर्ण डोजका अतिरिक्त बुस्टर डोज लगाएका अधिकांश देशको संक्रमण दर, संक्रमितको अस्पताल भर्ना हुने दर र त्यहाँको विगत २ महिनाको मृत्यु तथ्यांक हेरौँ ।
सर्वाधिक शक्तिशाली देश अमेरिकाबाटै प्रारम्भ गरौँ । अमेरिकामा विगत एक महिनादेखिको मृत्यु तथ्यांक १८ जनवरीमा एक हजार ७२०, १७ जनवरीमा ७३०, १६ जनवरीमा ७१६, १५ जनवरीमा एक हजार ३२९, १४ जनवरीमा २ हजार ४६६, १३ जनवरीमा २ हजार ३८८, १२ जनवरीमा २ हजार ५४१, ११ जनवरीमा २ हजार ४५५, १० जनवरीमा एक हजार २२७, ९ जनवरीमा ७९४, ८ जनवरीमा एक हजार २३०, ७ जनवरीमा २ हजार १०९, ६ जनवरीमा २ हजार ४७४, ५ जनवरीमा एक हजार ९३१, ४ जनवरीमा २ हजार १२, ३ जनवरीमा ९७२, २ जनवरीमा ५९१, १ जनवरीमा ६४६ जनाको निधन भएको तथ्यांक अमेरिकी स्वास्थ्य मन्त्रालयको वेबसाइटमा गएर पुष्टि गर्न सकिन्छ ।
सन् २०२२ को १ जनवरीदेखि १८ जनवरीसम्म १९ दिनमा अमेरिकामा कोरोना संक्रमणका कारण २८ हजार ३३१ जनाको मृत्यु भएको छ । प्रतिदिनको औसत एक हजार ५७४ व्यक्ति हुन आउँछ । अमेरिका जस्तो देशमा, सबै कुराको सुविधा उपलब्ध भएको ठाउँमा, तेस्रो बुस्टर डोजको भ्याक्सिन वितरण भइसकेको ठाउँमा प्रतिदिन संक्रमणका कारण एक हजार ५७४ जना संक्रमितको मृत्यु हुँदा के कोरोना भेरिएन्टलाई नरम अथवा घातक नभएको भन्न मिल्छ ?
युरोपेली देश जर्मनी, फ्रान्स, स्पेन, इटाली, स्पेन, यूके, अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, नेदरल्याण्ड्स, युक्रेन, दक्षिण अफ्रिका, क्यानाडा, भियतनाम, पोर्चुगल, ग्रिस, हँगेरीलगायत देशको मृत्यु तथ्यांक हेरौँ अनि कसरी यस पटकको भेरिएन्टलाई नरम (माइल्ड वा कम घातक) भएको भन्न मिल्छ ?
नयाँ भेरिएन्ट आएयता विश्वमा दैनिक सरदर ७ हजार ५०० देखि ८ हजार मानिसको मृत्यु भइरहेको छ । प्रत्येक २ सातामा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्यामा एक लाखले वृद्धि भइरहेको छ । के यस्तो अवस्थामा कोरोना भेरिएन्टलाई पहिलाभन्दा कम घातक भएको भन्नु उपयुक्त हो ? प्रश्न सार्वजनिक गर्दै छु । सम्बन्धित विज्ञज्यू अथवा निकायबाट जबाफको अपेक्षा छ ।
कसैलाई डाटामै रमाउने रहर छ भने महोदयहरू याद गर्नुहोस्, सन् २०१९ मा कोरोना प्रकोप सुरु हुँदा एक वर्षमा संसारभर २५ लाख व्यक्तिको निधन भएको थियो । पछिका अल्फा, बिटा, गामा, डेल्टा आदि भेरिएन्टको विश्व्यापी लहरताका २३६ दिनमा (अर्थात् १ अक्टोबर २०२१ तदनुसार १५ असोज २०७८) २५ लाखको थप वृद्धि भएर मृतक संख्या ५० लाख पुग्यो । १ अक्टोबर २०२१ यता १८ जनवरी २०२२ सम्म झण्डै ७८-८० दिनको अन्तरालमा विश्वभर थप ५ लाख ७५ हजारको वृद्धि भएर कुल मृतक संख्या ५५ लाख ७५ हजार नाघेको छ ।
घातक मानिएका डेल्टालगायतका भेरिएन्टका कारण विश्वभर २३६ दिनमा २५ लाखको मृत्यु हुनु भनेको दिनको औसत १० हजार ५९३ हुन आउँछ । महोदयहरू ! तपाईंहरूले अलिक नरम, अलिक माइल्ड भनेको भेरिएन्टका कारण ८० दिनमा ५ लाख ७५ हजारभन्दा बढीको मृत्यु हुनु भनेको दैनिक औसत ७ हजार १८७ हुन आउँछ ।
बुस्टर डोज लगाएका नेपालीहरू कोरोना संक्रमित भएको जानकारी पनि आइसकेको छ । सरकारले त भन्दैन, अब मिडियाको दायित्व हो खोज खबर गरोस्- समाचारमा आएको २४ लाख थान भ्याक्सिन हराएको असली कारण कतै ठूलाबडा र पहुँच हुनेले बुस्टर डोजका रूपमा खपत गरेका त होइनन ?
विश्वको आधाभन्दा बढी जनसंख्यालाई भ्याक्सिन वितरण भइसकेको र अहिले कोरोना कहर जारी भएका देशमा थप बुस्टर डोज पनि वितरण भइसकेको अवस्थामा दैनिक ७-८ हजार जनाको मृत्यु भइरहेको अवस्थामा भाइरसको नयाँ भेरिएन्ट कम घातक होइन बरु पहिलाका भन्दा बढी घातक भएको मान्नुपर्ने होइन ? ३-३ डोज भ्याक्सिन लिँदा पनि न संक्रमण रोकिएको छ, न त मृत्यु दर नै । भ्याक्सिनले गर्ने के हो अथवा भ्याक्सिनले के 'रोल प्ले' गरेको छ ? अमेरिकालगायतका देशले जबाफ दिनुपर्ने हो । चौथो डोज लगाइरहेको इजरायलले पनि जबाफ दिंदा हुन्छ ।
नेपालभन्दा सानो जम्मा ९० लाख जनसंख्या भएको इजरायलले ६० लाख २० हजार २७७ जनालाई भ्याक्सिनको पूर्ण डोज, ४३ लाख ९७ हजार १०० जनालाई तेस्रो बुस्टर डोज र ५ लाख ३७ हजार ४१९ जनालाई भ्याक्सिनको चौथो डोज दिइसकेको छ । १८ जनवरीका दिनसम्म १७ लाख ९२ हजार १३७ संक्रमित देखिएको इजरायलमा अहिले यो लेख तयार गर्दासम्म २ लाख ५३ हजार १०३ जना सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ४४६ जनाको अवस्था गम्भीर छ । यस साता यहाँ २ लाख ३ हजार ३१ जना संक्रमित थपिएका छन् । यसभन्दा अघिल्लो साता यो संख्या एक लाख ६८ हजार ४१ रहेको थियो । एक सातामा संक्रमण २१ प्रतिशतले वृद्धि भएको छ । यस साता ४४ जनाको मृत्यु भएको छ । यसभन्दा अघिल्लो साता मृतक संख्या १२ रहेको थियो ।
नेपालमा घोषित रूपमा बुस्टर डोज भ्याक्सिनको प्रारम्भ केही दिनअघि भए पनि धेरै नेपालीले बुस्टर डोज लगाइसकेका छन् । बुस्टर डोज लगाएका नेपालीहरू कोरोना संक्रमित भएको जानकारी पनि आइसकेको छ । सरकारले त भन्दैन, अब मिडियाको दायित्व हो खोज खबर गरोस्- समाचारमा आएको २४ लाख थान भ्याक्सिन हराएको असली कारण कतै ठूलाबडा र पहुँच हुनेले बुस्टर डोजका रूपमा खपत गरेका त होइनन ?
सरकारले बन्द रहेका स्कुल १६ माघदेखि २० माघसम्म खोल्न लगाएर भ्याक्सिन वितरण गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । खोइ, सरकारलाई यस्तो सल्लाह कसले दिन्छ ? अहिले कोरोना संक्रमण 'पिक' उन्मुख भएको बेलामा स्कुल खोलाएर भ्याक्सिन दिने सल्लाह कुन मूर्ख वर्गबाट आएको हो ? भ्याक्सिन लगाएको २०-२२ दिनपछि एन्टिबडी बनेर यसले सुरक्षा दिन्छ तर भ्याक्सिन लिने क्रममै संक्रमित भइयो भने भ्याक्सिनले भाङ न धतुरो, केही पनि गर्दैन । बुस्टर डोजका हकमा पनि यही प्रक्रिया हुन्छ । बुस्टर डोज दिइने स्थलमा लागेको जमघटले भ्याक्सिनले दिने सुरक्षा त बाद बाँकीको कुरा, बुस्टर भ्याक्सिन लिने क्रममै संक्रमित हुने बढी संभावना छ ।
सायद हाम्रा विज्ञहरूले यही नै बुझेका छैनन् कि मास्कले कसरी सुरक्षा दिन्छ ? मास्कको उपयोगिता कुनै एक जना व्यक्तिसँग २ मिटरको दूरी कायम गरेर ५-७ मिनेट कुरा गर्नलाई मात्र हो । तपाईं हुलमुलमा मास्क लगाएर जानुहुन्छ भने मास्कले दिने सुरक्षाको कुनै ग्यारेन्टी हुँदैन । मास्क र २ मिटरको दूरी अर्थात् 'सोसल डिस्टेन्स'को पूर्ण पालना भएमा मात्र मास्कको उपयोगिता छ । मास्क नलगाई २ मिटरको दूरी कायम गर्नु अथवा मास्क लगाएर जमघटमा जानुको कुनै तात्त्विक अर्थ छैन ।
अहिलेलाई घरमै बस्नुजतिको सुरक्षित 'अप्सन' अरू केही हुन सक्दैन । आशा छ, सरकारले स्कुल खोलाएर भ्याक्सिन वितरण गर्नेबारे पुनर्विचार गर्ला । तर, कतै कसैको 'प्लानिङ' २४ लाख हराइएका भ्याक्सिनको हिसाबकिताब मिलान गर्नु नै रहेको छ भने किन कसैको परामर्श मान्ने ? जति चाँडो हुन सक्छ यता उति गरेर हिसाब मिलान गर्नुपर्ने नै हुन्छ ।
५ माघका दिन नेपालमा १८ हजार ७८ पीसीआर परीक्षण हुँदा ९ हजार ५०२ जना संक्रमित भेटिएका छन् । यो भनेको कोरोना सकारात्मकता दर ५० प्रतिशतभन्दा माथि हुनु हो । प्रत्येक २ जनामा एक जना संक्रमित देखिनु हो । यसैगरी ५ हजार ३३१ एन्टिजेन परीक्षणमा एक हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणमा कोरोना सकारात्मकता दर झण्डै ३५ प्रतिशत रहेको छ ।
५ माघमा १६९ जना आईसीयू र २८ जना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ । काठमाडौंका सरकारी अस्पतालका जनरल बेडमा २३५ र एचडीयू बेडमा अन्य ३२६ जना संक्रमित भर्ना रहेको स्वास्थ्य मन्त्रालयको बुलेटिनले भनेको छ । बिस्तारै अस्पताल संक्रमितले ओगटिँदै गइरहेका छन् । कतिपय जिल्लामा 'रेड अलर्ट' घोषणा भइसकेको छ । स्वास्थ्यकर्मी नै संक्रमित भएर जनशक्तिकै अभाव हुने स्थिति आउने संभावनालाई इन्कार गर्न सकिँदैन ।
भ्याक्सिन दिने नाममा होस् कि राष्ट्रियसभा निर्वाचनका कारणले होस् अथवा अन्य कुनै कारण, सरकारले बुझोस् कि कोरोन संक्रमण प्रसार हुन सक्ने कुनै पनि काम कारवाही, कुनै पनि कारण अब क्षम्य हुन सक्दैनन् । पहिलो प्राथमिकता संक्रमणको प्रसार रोक्न, संक्रमणको चेन ब्रेक गर्नमा केन्द्रित हुनुपर्छ ।
सर्वसाधारण नेपालीले ओमिक्रोन भेरिएन्टलाई सामान्य (साधारण/माइल्ड/कम घातक) बुझ्ने गल्ती नगरून् । यस्तो सूचना दिनेहरूले पनि यो काम रोक्नुपर्यो । सबैले आफू सुरक्षित रहेर अरूलाई सुरक्षित हुने वातावरण निर्माणमा सहायता गर्नुपर्ने परम् आवश्यकता भएको छ । भेरिएन्ट घातक छैन भनेर कसैलाई मनोमानी गर्ने छुट छैन ।
विज्ञजनहरूले यो पनि थाहा पाइराखे राम्रो हुनेछ, १७ जनवरीका दिन भारतमा एकै दिनमा ८० हजार २८७ जना संक्रमित अस्पताल भर्ना हुन पुगेका छन् ।