लोकसंवाद संवाददाता | विदेश | माघ ०६, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)मा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्काउन कामचलाउ महासचिव हेमराज शर्मा आफैँ लागेका छन् ।
गत शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)को ८१औँ बैठकका निर्णयभन्दा फरक बुँदाहरूलाई बैठकको माइन्युट ड्राफ्ट भन्दै शर्माले ईमेल पठाएपछि संघकै वरिष्ठ पदाधिकारीहरूले आपत्ति जनाएका छन् ।
बैठकले गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि र विवाद समाधान गरेर महाधिवेशन र निर्वाचनसमेत गर्ने जिम्मेवारी विस्तारित संरक्षक परिषद्लाई दिएको छ । आर्थिक र सांगठनिक गरी २ प्रतिवेदन महाधिवेशनमा पठाउन पारित गरेको थियो । तर, बैठकमा एनसीसी जापानबारे कुनै निर्णय नै भएको थिएन । निर्णय नै नभएको कुरालाई कामचलाउ महासचिव शर्माले निर्णय नम्बर ५.४ मा थपेर पठाएका छन् ।
प्रवक्ता डीबी क्षेत्रीको नामबाट आएको ईमेलमा उक्त विषय उल्लेख छैन । बैठकले विस्तारित संरक्षक परिषद्लाई दिएको टीओआरलाई पनि उनले आफुखुसी व्याख्या गर्ने प्रयास गरिरहेका छन् ।
एनआरएनएको गत अक्टोबर २०२१ मा हुनुपर्ने १०औँ महाधिवेशन तथा निर्वाचन प्रतिनिधि (डेलिगेट्स) चयनसम्बन्धी विवादका कारण पटक पटक मिति तोक्दा पनि हुन नसकेपछि आईसीसीको ८१औँ बैठकले सो सम्पन्न गर्ने जिम्मा संघका प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा गठित विस्तारित संरक्षक परिषद्लाई दिने निर्णय गरेको थियो ।
‘जापानको विवादका बारेमा आईसीसीमा केही साथीहरूले विषय उठाउनुभएको हो तर कुनै निर्णय भएको अवस्था होइन । निर्णय नै नभएको विषयलाई निर्णय भयो भनेर मस्यौदामा लेख्नु सरासर गलत र बद्नियतपूर्ण छ’, बैठकका सहभागी गुणराज पौडेलले भने । उनले दशौँ महाधिवेशन र चुनाव सम्पन्न गर्न जिम्मेवारीपूर्ण व्यवहार गर्न सबैलाई आग्रह पनि गरे ।