लोकसंवाद संवाददाता | समाचार | माघ १०, २०७८
सोमबारदेखि शहीद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका शहीदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदनाको चर्चासहित शहीद सप्ताह मनाउने गरिएको छ ।
२०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीद सप्ताह मनाउन थालिएको हो ।
प्रजातन्त्र र स्वतन्त्रताको माग राखेका शुक्रराज शास्त्रीलाई १० माघ १९९७ मा काठमाडौंको टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । शहीद शास्त्रीलाई मृत्युदण्ड दिइएको दिन १० माघदेखि १६ माघसम्म शहीद सप्ताह मनाउने गरिएको छ ।
१३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । १६ माघलाई शहीद दिवसको रूपमा मनाउने गरिएको छ ।