एजेन्सी | विदेश | माघ ११, २०७८
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ८ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ । युक्रेनले रुसमाथि हमला गर्न सक्ने आशंकाबीच अमेरिकाले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको हो । रुसले युक्रेनको सीमा नजिकै विगत एक महिनादेखि एक लाख सेना परिचालन गरेको छ ।
युक्रेनलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपेका साझेदार देशहरूसँग भिडियो कलमार्फत छलफल गरेका थिए । भिडियो कलमा रुसविरुद्ध सामूहिक रणनीति अपनाउने विषयमा छलफल भएको थियो ।
पेन्टागनका प्रवक्ता जोन कर्बीले रुसी सेना उपस्थित रहेको क्षेत्रमा तनाव सिर्जना भएमा आफ्ना सेना त्यस क्षेत्रमा पठाइने बताएका छन् । रुसले युक्रेनमा हमला गरेमा अमेरिकी सेनाले जुनसुकै बेला प्रतिकार लिने अमेरिकी रणनीति रहेको विज्ञहरूले बताएका छन् ।
यसअघि रुसले अतिक्रमण गरेर युक्रेनी भूमि क्रिमिया आफ्नो क्षेत्रमा विलय गराउन सफल भएको थियो । रुसी अतिक्रमणको अन्तर्राष्ट्रिय समुदायले विरोध गर्दै आएको छ ।