गफानन्द | दृष्टिकोण | माघ १४, २०७८
मान्छेको ‘क्षमता’ आँकलन गर्न सकिने कुरा होइनरहेछ । हेर्दा नपत्याउँदो मान्छेभित्र कति भव्य क्षमता हुनेरहेछ ! उसो त, ‘क्षमता’ र ‘बाध्यता’ वा ‘विवशता’बीचको साइनो पनि नसोचेकै हुन्छ ।
केही मान्छे छन् यो बजारमा, जोसँग अद्भुत ‘क्षमता’ छ । यस्तो ‘क्षमता’ साँच्चै भन्दा उनीहरूमा मात्र छ । र, त्यही ‘क्षमता’को भरपूर उपयोग गरेर यो मान्छेहरूको भीडमा बाँचिरहेका छन् ती ।
यस्ता ‘क्षमतावान्’ महानुभावहरू राजनीतिक/सामाजिक/साहित्यिक/पत्रकारिता आदि सबैजसो क्षेत्रमा छन् । उनीहरूको ‘क्षमता’ले नै उनीहरू तीती क्षेत्रमा जरा गाडेर बसेका हुन्, यसमा २ मत नै छैन ।
राजनीतिक क्षेत्रमै हेरौँ न- आमजनले भुसुनो समान नठानेका मान्छेहरू नै पार्टी र सरकारका हर्ताकर्ता बनिरहेका छन् । दुनियाँले नगनेर के हुन्छ ? जसले गन्नुपर्ने हो, उसले गनेकै छ । जेजे पाउनुपर्ने हो, पाएकै छ । पछाडि सत्तो सराप गरेर के नापिन्छ ? अगाडि पर्दा धनुष्टंकार गरेकै छ ।
यो तिनमा रहेको त्यही ‘क्षमता’का कारण त संभव भएको हो ! नभए अरू पनि त त्यहाँ पुग्थे होला !
साहित्यमा हेर्दा पनि उस्तै देखिन्छ । कखरा ज्ञसम्म फरर भन्न नसक्नेहरू नेपाली साहित्य बजारमा चल्तीका लेखक, साहित्यकार बनेका छन् । साँच्चै भन्दा, यस्ता अलौकिक लेखक, साहित्यकारहरूलाई आफ्नो नामसमेत शुद्धसँग लेख्न भने आउँदैन ।
यिनीहरूको यस्तो क्षमता पनि मलाई अद्भुत नै लाग्छ ।
राजनीतिमा, जुन माथि भनिएझैँ ‘क्षमतावान्’ आसेपासे, सल्लाहकार र भरौटेहरूका कारण भएका छन् । तथापि, हाम्रा नेतृत्व यस तथ्यमा आँखा चिम्लिई नै रहन्छन् । कारण- तिनै क्षमतावान्हरूका भरमा त टिकेको छ उनीहरूको राजनीतिक भविष्य पनि ।
केही लेखक, साहित्यकार छन्, जो टोलेदेखि राष्ट्रियस्तरका सम्मान र पुरस्कारमा ठाडै हस्तक्षेप ठोक्छन् । उनीहरूलाई पुरस्कारका नाममा प्रमाणपत्र र सम्मानका नाममा दोसल्ला भए पुग्छ-पुरस्कार र सम्मानको स्तरसँग मतलब छैन । (स्तर त तिनकै पो के छ र ?)
उसो त, यस्ता अजीव लेखक, साहित्यकार नामक जीवका क्षमता आत्मप्रचारमा पनि प्रशस्तै देख्न सकिन्छ । ‘गुणस्तर जिरो, प्रचारमा हिरो’ शैलीमा यी जीवहरू सामाजिक संजालतिर पोस्ट्याइरहेका हुन्छन् । केही मिडिया र पत्रकारहरूलाई बेलामौकामा सोमरस सुँघाएर मिडियातिर पनि आफ्नो र कृतिको फोटो छापेर गुणगान गवाउन सक्ने पनि यिनको क्षमता नै हो ।
कति लेखक, साहित्यकार महात्म्य मात्र गाउनु ! यस्तो अद्भुत क्षमतावाला राजनीतितिर त झनै बढी देखिन्छन् । हेर्नुहोस् त- टोल विकास समितिको निर्वाचनमा आफ्नोबाहेक मत नपाउनेहरू पार्टीका केन्द्रसम्म ‘प्रभाव’ राख्छन् । उनीहरू नै शीर्ष नेतृत्वका प्रिय र विश्वासपात्र बनेका छन् । नेतृत्वलाई फनफनी घुमाउन नेतृत्वका श्रीमान् वा श्रीमतीले पनि नसक्लान् यसरी तर यी क्षमतावान्हरूले त्यसरी घुमाइदिन्छन् ।
यस्तो अद्भुत क्षमता भएका आसेपासेका कारण नै धेरै आशा गरिएका नेताहरू हरिबिजोक अवस्थामा पुगेका पनि छन् । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै सन्दर्भ हेरौँ न । सूर्य थापादेखि विष्णु रिमालसम्मका क्षमतावान् आसेपासेका कारण ओली पटक पटक आलोचित बनिरहे र आजसम्म आलोचित नै छन् । आलोचित मात्र बनेनन् ओली, करिब २ तिहाइको वाम सरकार र ठूलो बनेको एमालेलाई नै धूलिसात् बनाए ।
उसो त, विगतमा गिरिजाप्रसाद कोइरालाका क्षमतावान् आसेपासेले २०५१ सालको मध्यावधि निम्त्याउन बाध्य पारे र त्यसयताको देशको अवस्था आजसम्म अस्थिर र अन्योलपूर्ण बनिरहेकै छ ।
हालका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका क्षमतावान् आसेपासेको सल्लाहले १८ असोज २०५९ हुँदै १९ माघ २०६१ लाई निम्ता गरेको त हामीले भुलेकै छैनौँ ।
गणतन्त्रपछिको पहिलो संविधानसभा निर्वाचनबाट बढी सिट ल्याएर प्रधानमन्त्री बनेका तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का क्षमतावान् आसेपासेले उनको प्रधानमन्त्रीको जागिर केही समयमै चट् पारिदिए । तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवाल र पशुपतिका मूल पुजारीलाई बिच्काउने गलत सल्लाहको परिणाम उनी सत्ता स्वादमा राम्ररी डुबुल्की मार्न नपाई बिदावारी भए ।
यस्ता अनेक उदाहरण र घटना छन् राजनीतिमा, जुन माथि भनिएझैँ ‘क्षमतावान्’ आसेपासे, सल्लाहकार र भरौटेहरूका कारण भएका छन् । तथापि, हाम्रा नेतृत्व यस तथ्यमा आँखा चिम्लिई नै रहन्छन् । कारण- तिनै क्षमतावान्हरूका भरमा त टिकेको छ उनीहरूको राजनीतिक भविष्य पनि ।