आमाका बचनको सम्झना: ‘छोराले डोका र ढोकाका लागि सधैँ तयारी भएर बस्नुपर्छ’

फर्कलान् र ती दिनहरू

आमाका बचनको सम्झना: ‘छोराले डोका र ढोकाका लागि सधैँ तयारी भएर बस्नुपर्छ’

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  माघ १५, २०७८

जीवन एउटा गतिशील अवस्था हो । जीवनको सुरुवात, मध्य र अन्तिम अवस्थाका बारेमा भौतिकवादले जेजे अनुसन्धान गरे पनि, जेजे व्याख्या गरे पनि र प्रमाणका रूपमा जेजे प्रस्तुत गरे पनि यो मृत्युलोकमा, जसलाई हामी पृथ्वी भन्छौँ, जहाँ अहिले हामी आफ्नो बासस्थान मान्छौँ, मृत्यु अवश्यंभावी छ ।

जन्मका बारेमा कहिले कसरी कुन बेलामा हुन्छ भन्ने कुराको कुनै टुंगो नभए पनि मृत्यु अवश्यंभावी छ, मरिन्छ मरिन्छ । कसरी मरिन्छ, कहिले मरिन्छ भन्ने कुराको पनि खासै टुंगो छैन । मैले सम्झेदेखि नै कति आफन्तहरू, कति परिवारका सम्मानित व्यक्तिहरू, हजुरबाहरू, हजुरआमाहरू, बाआमा, फुपू-फुपाजुहरू, माहिला बा, माहिली आमा, कान्छाबा, दाजु, मायालु भाइ-बहिनीहरू, गुरुजनहरू, ठूला मामा, ठूली माइजू,  सानो मामा, आमापछिकी माहिली सानीमा, माहिला सानाबा आदि धेरै हामीबाट बिदा हुनुभयो ।

सुन्थेँ, मभन्दा पहिले नै ६ जना दिदीहरू, २ जना दाजुहरू हुनुहुन्थ्यो रे ठूली आमाबाट, जसको माइती बितिजोर खोलाको धारापानीमा थियो । अर्थात् धेरै मानिसहरू गएको म आफैँ पनि साक्षी भएको छु ।

जीवनको पहिलो गुरु त आमा नै हुनुहुन्थ्यो, जसले जीवन दियो, जसले तातेताते गरेर हिँड्न सिकायो, खान सिकायो, लगाउन सिकायो र नपढी हुँदैन भनेर पुरानो शिक्षाको पुरानो कर्मकाण्डी शिक्षाको सट्टा आधुनिक शिक्षाका लागि घरबाहिर पठाउने हिम्मत गर्नुभयो । हुनत बाको सल्लाह र आधार नभएको भए त्यो संभव थिएन तर आमालाई लागेको रहेछ, आधुनिक विश्वमा बिनाक्षमता बाँच्न कठिन छ । आमालाई लागेछ, जति दुःख पर्छ परोस् तर पढ्नू र आफ्ना खुट्टामा उभिएर सके अरूको सेवा गर्नू, नभए बाबुआमा, छोराछोरी, भाइबहिनीहरूको रक्षा गर्नू र उनीहरूको पथप्रदर्शक हुनू ।

‘छोरो भएपछि ढोका र डोकामा उत्तिकै तयारी भएर अगाडि बढ्नुपर्छ’ भन्ने धारणा थियो आमाको । ढोकाको अर्थ हो- सरकारी कार्यालयमा पनि नठगिनू, राजाको दरबारमा जाँदा पनि स्वाभिमानका साथ दन्त्यकथामा जस्तो निडर हुनू । डोकामा पनि तयारी भनेको घाँस काट्न, दाउरा काटेर र अरूका घरमा काम गरेर भए पनि आफूलाई पाल्न र जहान पाल्न सक्ने हुनुपर्छ । त्यसैले मेरी आमाको एउटै कल्पना थियो, मैले पढ्नै पर्छ, मैले आफ्ना भाइबहिनीहरूको अभिभावकत्व लिनै पर्छ, उनीहरूलाई पनि पढाउनै पर्छ र उनीहरू सबैलाई आफ्ना खुट्टामा टेकेर फलानाका सन्तानहरू इमान्दार छन्, कसैको कुभलो चिताउँदैनन् र आफ्नो रेखी गरेर खान्छन्, बस्छन् र न्यायका पक्षमा रहन्छन् भन्ने होस् ।

प्रत्येक बाबुआमाको यही नै आदर्श कल्पना हुन्छ, जुन कति पूरा हुन्छन्, कति पूरा हुँदैनन् वा हुन सक्दैनन् । मेरी आमाले एउटा कथा भन्नुहुन्थ्यो, एउटा छोरो थियो कुनै आमाको, जो धेरै पुलपुलिएको थियो । उसका बाबु सानैमा कतै गएका थिए । बाबुले छोराको रेखदेख गर्न भ्याएका थिएनन् । सायद बाबु फर्र्किएनन् र पनि आमाले एक्लै छोराको लालनपालन गरिन् ।

समाजमा त्यस बेला भनिन्थ्यो रे- ‘आमाले पालेको छोरो र बाबुले पालेका छोरी पुलपुलिन्छन्, भनेको मान्दैनन् ।’

अहिलेको जस्तो एकल परिवारको अवस्था त्यस बेला थिएन होला, जुन बेलाको कुरा मेरी आमाले भन्ने गर्नुहुन्थ्यो । आमा छोराले जे गरे पनि केही भन्दिनथिन् । छोरो यति मात्तिन थाल्यो कि आमाको नियन्त्रणभन्दा बाहिर जान थाल्यो रे ! एक दिन उसले एउटा सियो चोरेर ल्याएछ र आमालाई दिएछ । आमाले सोधिनन्, कहाँबाट ल्याएको ? भनेर । भोलिपल्ट हलोको फाली कतैबाट ल्याएछ, त्यसमा पनि आमाले कहाँबाट ल्याएको भनेर सोधिनन् बरु भनिन्, ‘स्याब्बास् बाबू, यस्तै गरेर सामान ल्याउनू है !’

त्यसपछि उसले थाल, कचौरा, लुगा चोरेर ल्याउन थाल्यो । आमाले खुसी भएर सबै सामानहरू जम्मा गरेर राख्न थालिन् तर छोरालाई एक बचन पनि सोधिनन्, ‘यत्तिका सामान कहाँबाट कसरी ल्याइस् ? तेरो कुनै कमाइ पनि छैन ।’

आमाले भन्नुभएको त्यही वाक्य सम्झिइरहन्छु- ‘छोरो डोकामा पनि र ढोकामा पनि तयार हुनुपर्छ ।’ जीवन सहजताका साथ चलाउन र जीवनको नौका खियाउन यो अर्थपूर्ण पनि त रहेछ ! त्यही भएर होला, आजसम्म जीवनको नौका खियाइरहिएको छ ।

यसै गर्दा गर्दा ऊ त चोरहरूको  संगतमा पुगेछ । एक दिन राजाको खजानामा चोरी गरेको फेला पारेर पक्राउ गरेछन् । अरू त भागेछन् तर त्यो आमाको पुलपुलिएको छोरोचाहिँ पक्राउमा परेर राजाको दण्डमा परेछ- फाँसीको दण्ड, किनभने राजाको ढुकुटीमा धेरै पहिलेदेखि नै चोरी हुँदै आएको रहेछ र उसले नै त्यो चोरेको कबुल गरेछ रे !

आमाचाहिँ राजाको दरबारमा बाहिर गएर रुँदी रहिछन् सधैँ, ‘मेरो छोरो त त्यस्तो छँदै छैन, त्यस्तो हुँदै होइन’ भन्दै । हुन पनि कुनै पनि आमालाई आफ्नो सन्तान बिग्रेको जस्तो लाग्दैन र विश्वास पनि हुँदैन ।

राजाले ‘अरू चोर पक्राउ परे दण्डमा कमी गर्नेछु नत्र फाँसीबाहेक अरू कमी हुनै सक्दैन’ भनेछन् । त्यो छोराले आमालाई अन्तिम पटक भेट्ने इच्छा गरेछ । आमालाई जेलको कालकोठरीमा लगेछन् । आमालाई नजिकै आउनका लागि उसले इसारा गरेछ ।

आमा जेलको डन्डी नजिकै आउँदा त कानमा केही भन्ने निहुँमा कान नै लुछेछ दाँतले । आमा रुँदै, कराउँदै रक्तमुच्छेल कान लिएर फर्किछन् । किन त्यसो गरेको ? भनेर सिपाहीले सोध्दा छोराले भनेछ, ‘मैले सियो लिएर आउँदा, फाली लिएर आउँदा वा थाल-बटुका लिएर आउँदा सोधखोज गरेको भए आज मलाई यो सजाय पक्कै हुँदैनथ्यो किनभने मैले नराम्रो काम हो भन्ने जानेपछि गर्ने थिइनँ । आज मैले फाँसीको सजाय पाउनुमा मेरी आमाको त्यो आँखा चिम्लाइ हो’ भनेछ ।

यसरी मेरी आमाले सधैँ भन्नुभयो, झूठ नबोल्नू, अरूका लागि खराब हुने काम कहिल्यै नगर्नू आदि । गुरुलाई देवता जस्तै मान्नू, बाआमालाई सधैँ मान्नू, ढोग्नू, सेवा गर्नू आदिआदि । यसैका लागि भनेका होलान्, ‘पहिलो गुरु आमा नै हो ।’

आमाको निःस्वार्थ भावको माया जुन हुन्छ, त्यसैले बाटो देखाउँछ । त्यसैले भन्छन् नि, ‘आमाको काख, अरूको लाख ।’ अरूको लाखभन्दा आमाको काख नै प्यारो हुन्छ । जन्म दिने आमा र जन्मेको देशलाई एउटै भनेर मानेकाले होला, भनिन्छ, ‘जन्म दिने आमा र जन्मेको देश स्वर्गभन्दा पनि महत्त्वपूर्ण मानिन्छन् ।’ स्वर्गको प्रतीक हो सुख, सयलको ठाउँ, जहाँ मृत्यु हुँदैन, वृद्धावस्था हुँदैन, भोक-प्यास हुँदैन र लोभ पनि हुँदैन ।

मैले औपचारिक रूपमा विद्यालयमा प्रवेश गरेको पनि ६१ वर्ष भएछ । १ पुस २०१७ मा । हाम्रो श्री कौशिका प्राथमिक विद्यालय ग्वाल्टार सिन्धुलीको स्थापना दिवसको रूपमा कोजाग्रत पूर्णिमाको दिनलाई मानिन्छ । त्यस्तो गते भन्ने छैन । त्यो असोजको कुनै पनि बेलामा पर्न सक्छ । हामीले थाहा पाएदेखि नै वार्षिकोत्सवमा खेलकुद, नाटक तथा भेला गरिन्थ्यो । नाटक त प्रसिद्ध नै थियो । कतिसम्म भने, ज्वाइँ, चेलाहरू पूर्णिमा छेक मात्रै आउँथे नाटक हेर्न पाइन्छ भनेर । विद्यालयको वार्षिकोत्सव मनाएको हेर्न पाइन्छ भनेर । सकेसम्म जिल्ला पंचायतको सभापति, प्रमुख जिल्ला अधिकारी, जसलाई बडाहाकिम पनि भन्थे, कहिलेकाहीँ अंचलाधीश पनि आउँथे । मेरा बाको अध्यक्षतामा उत्सव मनाइन्थ्यो । बा सकेसम्म भाषण गर्न चाहनुहुन्थेन ।

पहिले पहिले नवराज सुवेदी काका दसैँमा ग्वाल्टार आउनुहुन्थ्यो किनभने उहाँको मावली ग्वाल्टारमा थियो । उहाँको बाल्यकाल मावलीमा बितेको रहेछ । हजुरबा डिट्ठा गोपीकृष्ण बरालको आशीर्वाद, मामाहरू कुलप्रसाद बराल र गुणराज बरालको आशीर्वादका लागि पनि दसैँमा ग्वाल्टार नै आउनुहुन्थ्यो । उहाँका ठूला मामा भैरवप्रसाद बराल धेरै पहिलेदेखि नै मधेसमा बस्नुहुन्थ्यो तर रामहरि काका भने ग्वाल्टारमा नै हुनुहुन्थ्यो पछिसम्म ।

मेरा बाका लागि नवराज काकाले भाषण गरिदिनुपथ्र्यो । बालाई साह्रै मनपर्ने नवराज काका । एक प्रकारले ग्वाल्टारमा रोलमोडेल नै हुनुहुन्थ्यो काका हाम्रालागि । पछि काका राष्ट्रिय पैचायत सदस्य, मन्त्री, राष्ट्रिय पंचायतको अध्यक्षसमेत हुनुभयो । बाले सायद उहााँमा रहेको क्षमता चिन्नुहुँदो रहेछ जस्तो लाग्यो ।

पंचायतकालमा २ जना माननीयहरू पंचायत अवधिभर माननीय रहे, नवराज काका र रोल्पाका बालाराम घर्तीमगर ।

हाम्रो गाउँमा विद्यालयको अध्यक्षका नाताले पनि र संस्थापक भएका नाताले पनि सभापतिको आसनमा बस्नुभएको मेरा बाले भन्ने भनेको के हो भने, नवराज भाइले नै बोलेपछि मैले के पो भन्नुपर्‍यो र ! म त सभापति हुँ, सभा विसर्जन गरेको घोषणा गर्छु है !

अनि, मुक्त हाँसो हाँस्नुहुन्थ्यो र सभा विसर्जन हुन्थ्यो । गाउँमा बनाएको खीर, मासुको परिकार तथा केटाकेटीहरूलाई चिउरा, खीर बाँडिन्थ्यो । अतिथिहरूका लागि बाटाबाटामा स्वागतद्वार बनाएर स्वागत गरिन्थ्यो । बेलुका अतिथिहरूका लागि देखाउन र मनोरंजनका लागि नाटक गरिन्थ्यो । कमिक देखाइन्थ्यो । खुब हाँसिन्थ्यो ।

सुरुसुरुमा कमिकका लागि त्यो नाटकमा सदावहार हार्मोनियम बजाउने काम प्रधानाध्यापक धर्मराज बराल काकाबाट हुन्थ्यो । हामी छक्क पथ्र्यौं, जस्तोसुकै गीतका बोललाई पनि हार्मोनियमको स्वरमा हेड मास्टर साहेबले मिलाउनुहुन्थ्यो । अत्यन्त नरम स्वभावका गुरु धर्मराज काका, हेड मास्टर साहेब सधैँ कक्षा सुरु हुनुभन्दा पहिले लाइनमा मिलाएर हाजिर गर्नुहुन्थ्यो र हामीलाई शारीरिक शिक्षाको केही काम गराउनुहुन्थ्यो ।

उहाँले नर्मल तालिम लिएर जानुभएको थियो चेतभवनबाट सायद । शिक्षाको नयाँ आयामका बारेमा उहाँले सिकाउने भनेको चौतर्फी विकासका लागि अनेक प्रयास थियो । कक्षामा पढाउने, खेलकुद गराउने, विद्यालय सफा राख्नका लागि सधैँ कुचो लगाउनुपर्ने, प्रत्येक शुक्रबार विद्यालयका कोठाहरू लिप्नुपर्ने, जोसुकै होस्, जुन धनीको छोरा छोरी हुन्, तिनले रातमाटो र गाईको गोबरले आफ्नो कक्षा लिपेकै हुनुपर्ने थियो ।

त्यस्तो हाम्रो जीवनको पहिलो शिक्षाको बिहानीमा सिकाउने गुरु धर्मराज काकाको देहावसान भयो यही २ माघ २०७८ बिहानै भक्तपुरको बालकोट क्षेत्रमा, जुन अहिले सूर्यविनायक नगरपालिकामा पर्दोरहेछ । काकी, भाइहरू महेश, भोला, बद्री तथा बहिनी दुर्गामाथि दैवको बज्रपात भएको छ । हामी उहाँका विद्यार्थीहरू र नातेदारहरूले गर्ने प्रार्थना के हो भने, गुरुको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जलि तथा काकी, भाइहरू, बहिनी तथा अरू बराल परिवारमा सहन सक्ने क्षमता श्री पशुपतिनाथले दिऊन् । गुरुप्रति भावपूर्ण श्रद्धाञ्जलि ।

बीचमा गुरुलाई भेट्न भनेर उहाँकै निवासमा म र मेरी श्रीमती गएका थियौँ । गुरु त्यही दिन फोन पनि घरमै राखेर कतै साँझको डुलाइका लागि जानुभएको रहेछ । काकीले खोज्नु त भयो, घरका अरूले पनि नजिक त खोज्नुभयो, काका फेला पर्नुभएन । भाइ भोला पनि त्यो दिन बाहिर कतै गएको थियो । मेरो भेट हुन सकेन ।

धेरै वर्षदेखि काका रानीबास छाडेर भक्तपुरतिरै भोलासँग बस्नुभएको थियो । भाइहरू र बहिनी साह्रै मिलनसार र भलाद्मी छन् । काकाको आदर्शलाई शिरोपर गरेकै छन् । आज गुरुको कमी महसुस भएको छ ।

रामेछाप सालुका गुरु हुनुहुन्थ्यो टीकाहरि काफ्ले, उहाँको पनि केही वर्ष पहिले निधन भयो । गुरु हुनुहुन्थ्यो प्राध्यापक डा. राजेन्द्रकुमार रोंगोंग, उहाँको पनि ३ वर्ष पहिले निधन भयो । अर्थात् अब हामी नै गुरु भएर निवृत्त जीवन बिताउँदै छौँ भने हाम्रा गुरुहरूको कमी हुनु स्वाभाविकै होला तर मनले मान्दो रहेनछ । बा, आमा र गुरुहरू सधैँ हाम्रा जेहेनमा आइरहनुहुन्छ किनभने हामी उहाँँहरूकै निरन्तरता हौँ र उहाँहरूकै पथप्रदर्शनको मुख्य बाटोमा छौँ र जीवनपर्यन्त रहनेछौँ ।

धर्मु काकाको पनि एउटा सम्झनामा आइरहने विद्यार्थी म पनि थिएँ भन्ने कुरा थाहा पाउँदा खुसी लाग्थ्यो । नीलहरि दाइको त झन् धेरै मनपर्ने विद्यार्थी थिएँ रे भनेर उहाँका सुपुत्र वरिष्ठ पत्रकार कपिल काफ्लेले भन्ने गरेका छन् अहिले पनि । उहाँले त मेरो चिना लेख्नुभएको थियो ।

त्यस बेला पुसदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो, काठमाडौं उपत्यका र हिमाली क्षेत्रबाहेक । हिउँदमा बिदा हुने ठाउँमा १ फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो भने अरू बर्खामा बिदा हुने ठाउँमा पुसदेखि शैक्षिक सत्र सुरु हुन्थ्यो । त्यसैले मंसिर महिना वार्षिक परीक्षाको बेला हुन्थ्यो । पुसको सुरु गर्ने बेलामा जाँचपछि तत्कालै कक्षा सुरु हुन्थ्यो भने फागुनमा शैक्षिक सत्र सुरु हुने अनौपचारिक रूपमा विभिन्न गोठ, घर तथा आँगनहरूमा गएर पढेको त सायद ६५ वर्ष नै भयो ।

यसबीचमा धेरै गुरुहरू हुनुभयो । अनौपचारिक रूपमा घरैमा क, ख, ग पढाउने र विद्यालयको कक्षामा, जसले पथप्रदर्शन गर्नुभएको हो, उहाँहरूको सम्झना आइरहन्छ । २०२६ सालमा सिन्धुलीमाडीको कमला हाइस्कुलका हामी कक्षा १० मा पढेर एसएलसी दिनेहरूले आफ्ना जीवित गुरुहरूलाई सम्मान गर्ने भनेका थियौँ यही श्रीपञ्चमीमा । कोरोनाको तेस्रो लहरले हाम्रो इच्छा पूरा होला या नहोला, अझै दुविधा नै छ ।

कमला हाइस्कुलका हामी त्यस बेलाका विद्यार्थीहरूले अहिले पनि स्मरणमा आउने गुरुहरूमा स्वर्गीय प्रधानाध्यापक जगदीश्वर महतो, प्रातःस्मरणीय तथा आदरणीय गुरु उमानाथ शास्त्री, शास्त्री सर, ठाकुरनाथ शर्मा अधिकारी सर, जीवित गुरुहरू शंकरनाथ शर्मा अधिकारी, लक्ष्मीप्रसाद सुमन, सूर्यदेव साह, राजेश्वर रजक हुनुहुन्छ । हामी नै करिब ७ दशकका भइसकेका छौँ, हाम्रा गुरुहरूको उमेर यसै पनि धेरै हुने नै भयो तर अहिले पनि हामी भाग्यमानी रहेछौँ कि अझै हामीलाई बाटो देखाउने गुरुहरू हुनुहुन्छ ।

म पनि धेरै विद्यार्थीहरूको गुरु भएको छु । निम्नमाध्यमिक विद्यालय, परेवाडाँडा,सिन्धुली, भाग्योदय मावि, साँखु, काठमाडौं, लेबोरेटरी स्कुल, कीर्तिपुर, गुह्येश्वरी बालशिक्षा मावि, थापाथली, काठमाडौं शिक्षा क्याम्पस, काठमाडौं र केही समय शिक्षाशास्त्र संकायको विस्तारको रूपमा रहेको शिक्षा क्याम्पस, रामशाहपथमा अध्यापन गरेको छु । त्यहाँका कतिपय विद्यार्थीहरूको  सम्झना आउँछ र कतिपयको कतिपय घटना अहिले पनि ताजा नै छ सम्झनामा ।

आमाले भन्नुभएको त्यही वाक्य सम्झिइरहन्छु- ‘छोरो डोकामा पनि र ढोकामा पनि तयार हुनुपर्छ ।’ जीवन सहजताका साथ चलाउन र जीवनको नौका खियाउन यो अर्थपूर्ण पनि त रहेछ ! त्यही भएर होला, आजसम्म जीवनको नौका खियाइरहिएको छ ।

त्यस्तै एउटा अनुभव छ जीवनमा ढोका र डोकाको पनि । सायद ढोका भनेको दरबारलाई हो क्यारे ! अब त दरबार भनेको एकादेशको कथा भएको छ । दन्त्यकथामा ‘एकादेशमा एउटा राजा थिए, उनका यति भाइ छोरा थिए, यति छोरी थिए’ भनेजस्तै । अहिलेसम्म त राजा भएका व्यक्ति पनि छन् अझै, चाहे राजदरबारमा हुन् या रानीवनमा ।

क्रमशः