एजेन्सी | विदेश | माघ १७, २०७८
अमेरिकाले उत्तर काेरियाका आणविक र मिसाइल कार्यक्रमबारे बिनाशर्त प्रत्यक्ष वार्तामा सहभागी हुन प्योङयाङलाई आह्वान गरेको छ । उत्तर कोरियाले मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाले सो आह्वान गरेको हो । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले संचारकर्मीलाई भने, ‘केही गम्भीर छलफल सुरु गर्न पूर्ण रूपमा उचित हो भन्ने हामी विश्वास गर्छौं ।’
अमेरिकाले अमेरिकी राष्ट्रपति जोन बाइडेन नेतृत्वमा उत्तर कोरियासँग वार्ता गर्न चाहेको छ । तर, उत्तर कोरियाले यसलाई अस्वीकार गर्दै आएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग ३ पटक भेट गरेका थिए । तर, आफ्नो देशमाथि लाग्दै आएको प्रतिबन्ध हटाउने किमको चाहना वार्तामार्फत पूरा हुन सकेको थिएन ।
उत्तर कोरियाले सन् २०१७ पछिकै ठूलो मिसाइल प्रहार गरेपछि एक अमेरिकी अधिकारीले त्यसबारे गम्भीर चासो देखाएका हुन् । ‘निश्चय नै हामीले उत्तरको पछिल्लो परीक्षणप्रति चासो देखाएका छौँ', ती अमेरिकी अधिकारीले भने ।
उत्तरको परीक्षण ‘बढ्दो अस्थिरताको’ ढाँचाको अंश भएको र त्यसले राष्ट्रसंघको सुरक्षा परिषद्को संकल्प प्रस्ताव र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको उनको भनाइ छ ।
यसैबीच आइतबारको परीक्षण पुनः लामो दूरीको हतियार परीक्षणको तयारी हुन सक्ने अमेरिकाले अनुमान गरेको छ ।