लोकसंवाद संवाददाता | समाचार | माघ १८, २०७८
जाजरकोट । जाजरकोटमा एमालेबाट निर्वाचित गाविस उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । जिल्लाको तत्कालीन ढिमे गाउँ विकास समितिका उपाध्यक्ष नरजित सिंहले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन ।
२०५४ सालमा एमालेबाट गाविस उपाध्यक्ष निर्वाचित सिंह आज एकीकृत समाजवादी जाजरकोटको पार्टी कार्यालयमा उपस्थित भई समाहित भएका हुन । कुशे गाउँपालिका वडा ६ घर भएका सिंह हाल एमाले कुशे गाउँ कमिटी सदस्यको जिम्मेवारी रहेको थिए ।
पछिल्लो समयमा एमाले पार्टी वामपन्थी विचारबाट विचलित भएकोले र व्यक्तिवादी प्रवृत्ति हाबी भएका कारण सो पार्टी परित्याग गरेको उनले बताए । नेपालमा बाम आन्दोलनको अबको नेतृत्व एकीकृत समाजवादी पार्टीले मात्र गर्न सक्ने भएकोले आफूले सो पार्टी रोजेको भन्दै ढिलो चाँडो सबै नेकपा एकीकृत समाजवादीमा समाहित हुने सिंहले बताए ।
जाजरकोटका पुराना कम्युनिस्ट नेता समेत रहेका सिंहसंगै कांग्रेस निकट युवा संगठन नेपाल तरुण दलका जिल्ला सदस्य जय बहादुर खड्का पनि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । कुशे गाउँपालिका ६ का खड्का पनि पार्टी कार्यालयमा पुगेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन ।
सिंह र खड्कालाई एकीकृत समाजवादी जाजरकोटका उपाध्यक्षद्वय कमान खड्का र तप्त बहादुर हमालले पार्टीमा स्वागत गरेको समाजवादी प्रेस संगठन जाजरकोटका अध्यक्ष पवन शर्माले जानकारी दिए ।
दुई दिन अघि कुशेका नीराजन शाही, दिपक वि.क, लोकेन्द्र वि.क र नलगाड नगरपालिका ५ का विशाल विक्रम चदारा एमाले तथा कांग्रेस परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।