लोकसंवाद संवाददाता | समाचार | माघ १९, २०७८
काठमाडौंको धोबीखोला कोरिडोरको अतिक्रमित सडकपेटी खाली गराउन शहरी विकासमन्त्री रामकुमारी झाँक्री आफैँ सडकमा आएकी छन् ।
बुधबार अनामनगरबाट मन्त्री झाँक्रीको नेतृत्वमा अतिक्रमित सडकपेटी खाली गरिएको हो । मन्त्री झाँक्रीसँगै महानगरीय प्रहरी, कामपा नगर प्रहरी, मन्त्रालयका कर्मचारीलगायत सम्बन्धित कार्यालयका कर्मचारीहरूको टोलीले सडकपेटी अतिक्रमण भएको क्षेत्र खाली गराएको हो ।
सडकपेटीमा थुपारिएको निर्माण सामग्री नियन्त्रणमा लिई गुह्येश्वरीमा रहेको खाली जग्गामा लगेर राखिने र सम्बन्धित व्यक्ति लिन आएपछि एक पटकलाई फिर्ता दिने मन्त्रालयका अधिकारीले बताएका छन् ।
सडकपेटी खाली गराउन १५ दिनअघि मौखिक सूचना दिए पनि अटेर गरेपछि फिल्डमा आएर खाली गराउनुपरेको मन्त्रालयले बताएको छ ।
धोबीखोला कोरिडोरअन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडकपेटी छिट्टै अतिक्रमणमुक्त हुने मन्त्री झाँक्रीले बताइन् । अब यो अभियान सबै अतिक्रमित सडकपेटीहरूमा पनि संचालन गर्ने मन्त्रालयको योजना छ ।