चितवन: थपिए २ महिनामा २७ हजार बढी मतदाता, निर्वाचन घोषणापछि अद्यावधिक !

चितवन: थपिए २ महिनामा २७ हजार बढी मतदाता, निर्वाचन घोषणापछि अद्यावधिक !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २०, २०७८

चितवन ।  चितवनमा मङ्सिरयता २७ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनकाअनुसार १ मङ्सिर २०७८ देखि मंगलबारसम्म २७ हजार २०१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । 

उनीहरू १६ वर्ष उमेर माथिका मतदाता हुन् । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ताको काम रोकिन्छ । त्यसपछि निर्वाचन कार्यालयले १८ वर्ष नाघेका मतदाताको नामावली अद्यावधिक गर्ने काम सुरु गर्ने छ ।

केपी ओलीको सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा गरेपछि निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको थियो ।

५ पुस २०७७ सम्म जिल्लामा तीन लाख ६८ हजार ३८२ योग्य मतदाता थिए । त्यसपछि राजनीतिक उतारचढावका कारण २०७८ असारसम्म मतदाता नामावली संकलनको काम सुरु हुन सकेन । 

असारपछि मतदाता नामावली संकलन सुरु भएको हो । असार र मङ्सिरकोबीचमा मतदाता नामावली संकलनको काम खासै भएन । निर्वाचन कार्यालयले १७ मङ्सिर देखि १८ पुससम्म मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरेको हो ।

विशेष कार्यक्रमअन्तर्गत निर्वाचन कार्यालयले भरतपुरबाहेक छ वटा पालिकाको केन्द्रमा पुगेर मतदाता नामावली संकलनको काम गरेको जिल्ला निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताए । विशेष कार्यक्रमबाट एक महिनामा १२ हजार ५२० जनाको मतदाता नामावली संकलन गरिएको हो ।

‘भरतपुरवासीले निर्वाचन कार्यालय र प्रशासन कार्यालयमै आएर मतदाता नामावलीमा नाम दर्ता गरे । बाँकी छ वटा पालिकाको केन्द्रमा हाम्रो टोली पुगेर त्यहाँ १५ दिन बसेर नामावली संकलनको काम गरेको हो’, उनले भने ।

त्यसअघि मङ्सिर १ गतेदेखि १७ गतेसम्म जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयमा गरी ६६१ जनाको मात्रै मतदाता नामावली संकलन गरिएको थियो ।

योग्य मतदाता चार लाख पुग्ने अनुमान

१७ मङ्सिर देखि १८ माघसम्मको समयमा जिल्ला निर्वाचन कार्यालय, प्रशासन कार्यालय र इलाका प्रशासन माडीमार्फत १४ हजार २० जनाको मतदाता नामावली संकलन गरिएको उनले बताए ।

यससँगै जिल्लामा मतदाताको संख्या चार लाख पाँच हजार ७६२ पुगेको छ । त्यसलाई अद्यावधिक गर्दा १८ वर्ष नाघेका योग्य मतदाता करिब चार लाख हुने कार्की बताउँछन् ।

‘विशेष कार्यक्रम पछि जति पनि मतदाता थपिएका छन्, ती अद्यावधिक नभएका मतदाता संख्या हो । दोहोरो परेका र मृत्यु भइसकेका मतदाताको नाम हटाएर अद्यावधिक गरेपछि योग्य मतदाताको संख्या आउँछ । हाम्रो अनुमानमा चार लाख जति योग्य मतदाता होलान्’, उनले भने ।

११ सय आए, ३५० मतदाता गए

मतदाता नामावली संकलन विशेष कार्यक्रमका क्रममा चितवनमा बसाइसरी आउने मतदाताको संख्या पनि उल्लेख्य रहेको छ । निर्वाचन कार्यालयका अनुसार विभिन्न जिल्लाबाट ११ सय मतदाता बसाइसरी चितवन आएका छन् ।

चितवनबाट अन्यत्र बसाइँसरि जाने मतदाताको संख्या ३५० जनाको हाराहारीमा रहेको उनले बताए ।

जिल्लाभित्रै एक पालिकाबाट अर्को पालिकामा र पालिका भित्रै पनि एक वडाबाट अर्को वडामा बसाइसर्ने मतदाताको विवरण पनि निर्वाचन कार्यालयले राखेको छ । जिल्ला भित्रै एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्ने मतदाताको संख्या करिब नौ सय रहेको उनी बताउँछन् ।

त्यसै गरी अन्यत्र जिल्लाका नागरिकले पनि चितवनबाट मतदाता नामावली दर्ता गराएका छन् । विभिन्न जिल्लाका एक हजार ४४३ जनाले चितवनबाट फोटोसहितको मतदाता नामावली दर्ता गराएका उनले बताए । 

‘निर्वाचन आयोगले यस वर्ष अन्य जिल्लाका मतदाताले पनि यहाँबाट मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था गरेअनुसार हामीले १४ सय ४३ जनाको दर्ता ग¥यौँ । यहाँ दर्ता गरे पनि उहाँहरूको मतदाता परिचय पत्र भने सम्बन्धित जिल्लामा पुग्छ’, उनले भने ।

यस्तो व्यवस्था अनुसार हुम्लाका २० भन्दा बढी मतदाताले चितवनबाट मतदाता नामावली दर्ता गराएका उनले जानकारी दिए ।

कुलप्रसाद काफ्ले/न्युज कारखाना