लोकसंवाद संवाददाता | समाचार | माघ २०, २०७८
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात-कोसी वा कोसी-किरात’ नामलाई अघि सार्ने भएको हो ।
‘किरात’ नाममाथि कुनै पनि हालतमा सहमति नभएको अवस्थामा भने समझदारी कायम गर्न ‘किरात-कोसी वा कोसी-किरात’ प्रदेश नामलाई अघि सार्ने माओवादीका प्रदेश सांसद धिरेन शर्मा ‘रमण’ले बताए ।
माओवादीले राज्य पुनर्संरचनाको क्रममा प्रस्ताव गरेको ४ गणराज्य लिम्बूवान, खम्बूवान, कोचिला र अवध हालको प्रदेश १ मा छन् ।
तर, यी ४ वटै नामलाई सम्बोधन हुने गरी माओवादीले ‘किरात प्रदेश’ प्रस्ताव गरेको जनाएको छ । प्रदेश संसदमा छलफल हुँदै आएका नामहरू भने सगरमाथा, लिम्बूवान, खम्बूवान र विराट पनि हुन् ।