लोकसंवाद संवाददाता | समाचार | माघ २०, २०७८
परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीबार बिहान कालो झण्डा देखाएका हुन् ।
गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटलअघि कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित ३ जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
परराष्ट्रमन्त्री डा. खड्का त्रियुगा नगरपालिका- ८ स्थित अम्बेरसिंह जनता माध्यमिक विद्यालय राजावासको बालबालिकाहरूलाई न्यानो कपडा र त्रियुगा नगरपालिका- ९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउने क्रममा कालो झण्डा देखाएको हो ।